परीक्षण कक्षका लागि बबईमा जग्गा भेटिएन, छिन्चुमा विवाद

सुर्खेत, ७ जेठ ।
पछिल्लो समय भारतबाट कर्णालीबासीहरु भित्रिन थालेका छन् । लकडाउनकै बिचमा भारतमा मजदुरीका लागि गएकाहरु सिमा नाकासम्म आएपछि प्रदेश सरकारले उद्दार सुरु गरेको छ । यद्यपी उनीहरुसँगै कोरोना पनि भित्रिने खतरा उत्तिकै छ । यसका लागि प्रदेश सरकारले उद्दारसँगै उनीहरुमा कोरोनाको पनि परीक्षण गरिने जनाएको छ ।

कर्णाली प्रदेशमा भित्रने सुर्खेतको बबई, कुइने र सल्यानको कपुरकोट मुख्य नाका हुन् । यीमध्ये धेरै नागरिक कर्णाली आउने मुख्य नाका भने बबई हो । यसअघि उद्दार गरिएकाहरु भन्दा अब भारतबाट आउने नागरिकबाट कोरोना भाइरसको संक्रमण फैलिने त्रास कर्णालीमा छ । हालसम्म बबईबाट भित्रनेहरुको स्वास्थ्यकर्मीको टोलीले ज्वरो मात्र मापन गरेर पठाउने गरेका छन् । तर अब भने कर्णाली सरकारले बबई नाका भएर भित्रने नागरिकको अनिवार्य रुपमा आरडीटी परीक्षण गरेर सम्बन्धित पालिकाहरुमा पठाउने योजना बनाएका छ ।

यसका लागि प्रदेश सरकारले नाकामा परीक्षण कक्ष बनाउने तयारी पनि थालेको छ । यसकैका लागि बिहीबार सामाजिक विकास मन्त्री दल रावल, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी सहित सुरक्षाकर्मीको टोली बबईमा आवश्यक जग्गाको खोजीमा पुगेको थियो । विभिन्न संघसंस्थाले उपलव्ध गराएका तथा नेपालगञ्ज र सुर्खेतबाट थप टेन्ट र आवश्यक स्वास्थ्य सामग्री लिएर पुगेको मन्त्रीसहितको टोलीले परीक्षण कक्षका लागि खाली जग्गा भेटाउन सकेन । उपयुक्त जग्गा नभेटिएपछि सामग्रीहरु नेपाली सेनाको जिम्मा लगाएर टोली फिर्ता भएको छ ।

कर्णाली भित्रनेहरुको स्वाव संकलन तथा परीक्षण नाकामा नै गरेर सम्बन्धित पालिकाहरुमा पठाउने योजना सरकारको छ । तर निकुञ्ज क्षेत्रभित्र पर्ने बबईमा एकसय टेन्ट निर्माणका लागि खाली जग्गा नभेटिएपछि अब भने भेरीगंगा नगरपालिकाको छिन्चुस्थित मदानेचौर र स्कुलमा परीक्षण कक्ष स्थापना गर्ने योजनामा सरकार छ । सरकारले बबईमा डाक्टरसहितको टोली खटाएर तत्काल आरडीटी र सम्भव भएसम्म पीसीआर परीक्षण गर्ने तयारी गरिरहेको थियो । बाँकेमा भारतबाट आएका नागरिकको क्वारेन्टाइनमा मृत्यु भएपछि कर्णाली भित्रने नागरिकहरुको बबईमा परीक्षण गरेर मात्रै पालिकाले बनाएको क्वारेन्टाइन पठाउने गृहकार्य गरेको थियो ।

‘परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई मात्र सम्बन्धित पालिकाको क्वारेन्टाइन पठाइनेछ’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘यदी परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आए तत्काल प्रदेश अस्पताल वा प्रदेश पाँच लैजानेगरी नाकामा नै परीक्षण गर्ने योजना सरकारको हो ।’ भारतबाट कर्णाली आउनेको संख्या बढ्दै गएकाले बबईमा परीक्षण कक्ष बनाउने योजना रहे पनि जग्गा नभेटिएको मन्त्री रावलको भनाइ छ । बबईमा जग्गा नभेटिएपछि आफूहरुले वैकल्पिक रुपमा छिन्चुमा रहेको शारदा मावि र खाली जग्गामा व्यवस्थापन गर्न जुटेको मन्त्री रावलको भनाइ छ ।

नगरपालिकाको विरोध
कर्णाली सरकारले छिन्चुमा कोरोना परीक्षण कक्ष बनाउने तयारी थालेसँगै भेरीगंगा नगरपालिकाले विरोध जनाएको छ । छिन्चु बजारको बिच केन्द्रमा रहेको स्कुल र मदानेचौर जंगलमा बनाउन लागिएको कक्षप्रति नगरपालिकाले विरोध जनाएको हो । नगरपालिकाका उपप्रमुख रेणु आचार्यले बिच बजारमा भारतबाट आएकाहरुलाई राखेर कोरोना परीक्षण गर्न स्वाव संकलन गर्नु राम्रो पक्ष नभएको बताइन् ।
‘बबईस्थित नदीको किनारामा चौर खनेर भए पनि कोरोना कक्ष बनाऔं’ आचार्यले भनिन्, ‘आफूखुसी स्थानीय तहसँग समन्वय नगरेर बिच केन्द्रमा बाहिरबाट आएकाहरुलाई राख्नु न्याय संगत हैन् ।’

कोरोना भाइरससँग जुध्न सबैको साझा प्रयास हुन जरुरी रहेको आचायको भनाइ छ । ‘प्रदेशले पालिकाहरुसँग समन्वय नगरेर एक्लै अघि बढ्दा कोरोनासँग जुध्न जटिल हुन्छ’ आचार्यले थपिन्, ‘यस्तो विषम परिस्थितिमा तीन वटै सरकार एकवद्ध भएर अघि बढ्दा कोरोना विरुद्धको लडाइमा सार्थकता पाइन्छ ।’ उनले बिच बजारमा परीक्षण कक्ष बनाउन नदिइने जनाइन् ।

‘क्वारेन्टाइन हैन, परीक्षण कक्ष हो’
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आफूहरुले क्वारेन्टाइन नभइ परीक्षण कक्ष व्यवस्थापन गर्न लागेको जानकारी दिए । बाहिरबाट आउनेहरुको तत्काल त्यहीँ परीक्षण गर्नेगरी सहायता वा परीक्षण कक्ष बनाउन लागेको मन्त्री भण्डारीले बताए ।  ‘रिपोर्ट आउन केही समय लाग्ने भएकाले बस्न असहज नहोस् भन्ने उद्देश्यले उनीहरुको सहज व्यवस्थापनका लागि सहायता कक्ष बनाउन लागेका हौं’ मन्त्री भण्डारीले भने, ‘एक्कासी धेरै संख्यामा आउँदा उहाँहरुलाई बस्न र खानाको समस्या हुने भएकाले कम्तीमा एकसय टेन्ट राखेर कोरोना परीक्षणपछि मात्रै घर पठाउने तयारी सरकारको हो ।’

तत्काल थोरै संख्यामा आए छिन्चुस्थित स्कुलको भवनमा राखेर परीक्षण गरिने मन्त्री भण्डारीको भनाइ छ । ‘बबईमा जग्गा नभेटिएपछि छिन्चु्मा राख्नेगरी खाली जग्गा र विद्यालयको भवन हेरेर फर्किएका छौं’ भण्डारीले भने, ‘एक दुइदिन टेन्ट व्यवस्थापन गर्न लाग्नेछ, त्योभन्दा अघि स्कुलमा राखेर कोरोना भए नभए बारे परीक्षणको काम शुरु गरिनेछ ।’

तपाईको प्रतिक्रिया