ताजा खबर
  

कोरोना संक्रमित युवालाई ३८ घण्टापछि आइसुलेसनमा

अमर सुनार
दैलेख, ६ जेठ ।
दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका एक सात्तालाका ३५ वर्षीय कोरोना संक्रमित युवालाई कोरोना पोजेटिभ देखिएको ३८ घण्टापछि मात्रै आइसोलेसनमा राख्नका लागि दैलेख जिल्ला अस्पतालतर्फ लगिएको छ ।  सोमबार विहान तीन बजे ती युवामा कोरोना संक्रमण भएको प्रदेश अस्पताल कालागाउँमा पीसिआर जाँचमार्फत पत्ता लागेको थियो । कोरोना पोजेटिभ देखिएसँगै प्रदेश अस्पताल सुर्खेतले नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालको ल्यावमा पुनः परिक्षणकालागि उनको नोजनल स्वाव पठाएको थियो ।

वडाअध्यक्ष पर्वसिंह विकका अनुसार वितेका ३८ घण्टामा संक्रमित व्यक्ति को हुन भन्ने बारेमा कसैलाई पनि जानकारी दिइएको थिएन । ‘अहिले साढे पाँच बजे मात्रै उनलाई आइसोलेसन वार्डमा राख्ने भन्दै जिल्लाबाट आएको टोलीले दैलेख सदरमुकामतर्फ लगेको छ ।’ उनले भने, ‘वितेको ३८ घण्टासम्म क्वारेन्टाईनमा बसेका ३९ जना नै साथमा रहेका थिए ।’ कर्णालीमा पहिलो पटक कोरोना संक्रमित देखिएपनि उद्धारमा सरकारले तदारुकता नदेखाएको स्थानीय प्रेम थापाले बताए । ‘अन्य जिल्लामा भएको भए सायद हेलिकप्टरबाट भएपनि उनको उद्धार भइसकेको हुनेथियो ।’ उनले भने, ‘दैलेख भएकाले ढिलाई भएको होला । उनीलाई अहिले कोरोना पत्ता लागेपनि उनीसँगै बसेका अन्य व्यक्तिलाई पनि कोरोना संक्रमण भएको हुनसक्छ, कोरोनाले गाउँमा नै त्रासमय बनेको छ ।’

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएका आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई जिल्ला सदरमुकामको आइसुलेसन वार्डमा राखिएको छ । राम्रो उपचार गर्न सकियोस् भन्ने ध्येयले ती युवकलाई सदरमुकाममा ल्याइएको दैलेख अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले जानकारी दिनुभयो । आठबीस नगरपालिका–१ सात्तलास्थित लक्ष्मी मावि क्वारेण्टीनमा शनिवार सबै ३९ जनाको नोजल स्वाव संकलन गरिएका मध्ये एक जना मात्रै कोरोना पुष्टि भएको जानकारी पाएपनि स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीको नेतृत्वमा गएको टोलीले मंगलवार एम्बुलेन्समा ल्याइएको हो ।

सोमवार दिउँसोदेखि नै लक्ष्मी मावि क्वारेण्टीनमा ३५ वर्षीय एक जनामा कोरोना पोजेटिभ देखिए खवर फैलिए पनि ३५ वर्ष उमेरका ५ जना भएको कारण को हो भन्ने एकीन नभएको अवस्थामा सदरमुकामबाट दिउँसो त्यहाँ पुगेको टोलीले एम्बुलेन्समा बसालेपछि पहिचान भएको थियो । त्यसअघि क्वारेण्टीनमा भएकाहरुले चिन्न सकेको थिएनन्, आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह बिश्वकर्माले सुनाउनुभयो ।


कञ्चनपुरको गड्डाचौकी हुँदै एउटै गाडीमा आएका ५३ जना मध्ये ४ जना बर्दिया झरेका, आठ जना दैलेखको ठाँटीकाँध, एक जना दुल्लू र एक जना चामुण्डाबिन्द्रासैनी नगरपालिकाका व्यक्तिहरु सोझै घरमै पुगेकामा यी युवकमा कोरोना पुष्टि भएपछि ती सबैलाई खोजी गरी आआफ्ना पालिकाका क्वारेण्टीनमा ल्याइएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

लकडाउन भए लगतै चैत दोश्रो साता सरस्वती मावि तर्ताङ्गमा नारायण नगरपालिकाको खर्चमा निर्माण गरिएको आइसुलेसन वार्ड भनिएको २० वेडको अस्थायी अस्पतालमा पेट्रोलियन पदार्थ उत्खननका लागि आएको चाइनिस टोलीले छोडेको फलामे खाटमा पातलो फममा सुतीको कपडा एउटा सिरानी र रेडक्रसले दिएको कम्बल राखिएको छ ।

संक्रमित युवालाई उपचारको सहजताका लागि सरस्वती मावि तर्ताङ्गमा रहेको आइसुलेसन कक्ष राख्ने विषयमा जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको निर्णयपछि आजै मात्र हतारहतार कोलेरिनले भूईं सफा गर्ने, विद्युत जोड्ने र खानेपानीको प्रवन्ध गरिएको छ । ती युवाको उपचारका लागि एक जना डक्टर, दुई जना नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत त्यही बस्नेछन् ।

सदरमुकाममा राम्रो उपचार गर्न सकियोस् भन्ने ध्येयले यहाँ ल्याउन लागिएको उहाँले बताउनुभयो । यसैबीच कोरोना भाइरस (कोभिड १९) संक्रमित युवकको उचित उपचार व्यवस्था गर्न प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले आग्रह गर्नुभएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै कर्णालीमै पहिलो कोरोना संक्रमित दैलेखमा देखिए पनि संक्रमण बढ्न नदिन स्थानीय सरकार, स्वास्थ्यकर्मी, सरोकारवाला सबैको तत्परता बढाउन र धैर्यतासंगै सुरक्षित रहन स्थानीयलाई साँसद बिशुन्केले अनुरोध गर्नुभएको छ ।



ताजा समाचार