कृषिमा जम्दै निजामती सेवाका युवा दम्पत्ती

अमृता बुढाथोकी (दाड)
सुर्खेत, ५ जेठ ।
सरकारी जागिर खाएपछि सबथोक पुगेसरी केहि नगरी बस्नेहरुलाई कर्णाली प्रदेशका एक दम्पती प्रेरणको स्रोत हुनुहुन्छ । जागिर गर्दा पनि परिवारहको सहयोग र साथ मिलेमा अन्य आय अर्जनसँगै गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ पञ्चपुरी नगरपालिकाको अधिकृत छैठौँ प्रशासन शाखामा कार्यरत युवा चुडामणि कँडेल ।

कर्णाली भन्ने बित्तिकै सबैका मानसपटलमा अलिक बेग्लै चित्र आउँछ । त्यहि कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरदेखि पश्चिम भेग लगभग ४५ किलोमिटरको दूरीमा पर्छ पञ्चपुरी नगरपालीका । सोही पञ्चपुरी नगरपालिकाको वडा नं. २ पलैटेमा स्थायी घर भइ पञ्चपुरी नगरपालिकाको प्रशासन अधिकृत ३२ वर्षे युवाको नाम हो चुडामणि कँडेल । हेर्दा हिस्सी परेको, हँसिलो अनुहार, मिलनसार, फरासिलो स्वभाव भएका अधिकृत कँडेलको निजामती प्रवेशको यात्रा २०६८ पौषदेखि सुरु हुन्छ । सयुक्त परिवारमा रहनुभएका कँडेलको निजामती जागिरे वीरेन्द्रनगरकी सिर्जना आचार्यसँग २०७३ सालमा मागि विवाह सम्पन्न भयो । उहाँकी धर्मपत्नी आचार्य २०६९ माघदेखि निजामती जागिरको यात्रामा जोडिनु भएको हो ।

दुबै जना निजामती जागिरे भए पनि घरमा बुबाआमा कृषिमा संम्लग्न हुनुन्थो । देशमा संघीयता लागू भएसँगै उहाँहरु समायोजनमा रोजेरै आफ्नै घर नजिकको पञ्चपुरी नगरपालिकामा काम गर्न थाल्नुभयो । सानैदेखिको इच्छा शक्ति अनि युवाले चाहे गर्न सक्छन् भन्ने सोचलाई स्थापित गर्न अधिकृत कँडेलले आफ्नै घरमा भारद्वाज कृषि तथा पशुपालन फार्म अन्तर्गत कुखुरापालन व्यवसायलाई अगाडी बढाउनुभएको छ । निजामती जागिरे धर्मपत्नीबाट आर्थिक व्यवस्थापनको कार्य सम्पन्न भएपछी उहाँलाई अन्य व्यवस्थापनको काम गर्न सजिलो भएको बताउनुहुन्छ ।

निजामती जागिरे हुँदाहँदै लोकल कुखुरापालन गर्ने विचार आउनुको मुख्य कारण के हो ? भन्ने हाम्रो जिज्ञासामा उहाँले भन्नुभयो, “घरमा बुबाआमासँगै म शाहाकारी भएता पनि एक समय थियो घरमा पाहुना आउँदा म लोकल कुखुरा खोज्न गाउँभरी डुले तर काहिँ भेटिन, सोचे गाउँमा लोकल कुखुराको माग बढ्दो छ । तर कुखुरा पाइदैन, त्यसपछि मैले बुझे यहाँ लोकल कुखुराको मार्केट राम्रो छ । बुबाआमा र श्रीमतीलगायत घरपरिवारसँग सल्लाह गरे अनि विभिन्न जातका लोकल कुखुरापालनबाट व्यवसाय सुरु गर्छु भन्ने सोचेँ र सुरु पनि गरेँ ।“ लोकल कुखुरापालनको लागि सुरुमा संरचना निर्माण गर्न ८÷१० लाख खर्च भएको उहाँले बताउँनुभयो ।


अहिले कुखुराको जातिमा कडकनाथ, साखिमी, दुम्सी, लेकाली लोकल, अमेरिकन र सिल्भर जातिका गरी कडकनाथ १५० वटा र अन्य जातका २५० वटा कुखुरा हालेर लोकल कुखुरापालन सुरु गर्नु भएका कँडेलका कुखुरा फार्ममा माउले १५० चल्ला कोरली सकेको अवस्था छ भने सुरुमा पाल्पा जिल्लाबाट कुखुरा ल्याएर पाल्न सुरु गर्नु भएका कँडेलले अब उप्रान्त आफ्नै फार्मबाट कुखुराका चल्लाहरु उत्पादन भइरहेको बताउनुभयो । लोकल कुखुरा पाल्न सुरु गरेको ६ महिना पछि बेच्नका लागी कुखुरा तयार हुन्छन् भने दक्षिण भारतीय जात कडकनाथ (कालो प्रजातिको) कुखुरालाई उहाँ घरबाटै जिउँदो कुखुरा रु १०००(एक हजार )प्रति के.जी.को दरले र जिउँदो लोकल कुखुरा प्रति के.जी. रु ७०० (सात सय )का दरले बेचिरहनु भएको छ । विशेष गरी उच्चतम रक्तचाप भएका मानिसका लागि र बिरामीहरुका लागी यी प्रजातिका कुखुराको मासु लाभदायक मानिन्छ । मासुमा प्रोटिनको मात्रा राम्रो र बोसोको मात्रा न्युनतम हुन्छ ।

दम्पत्ती नै निजामती जागिरे भए पनि अफिस समय बाहेक बिहान–बेलुका कुखुराको कृषि फर्ममा समय बिताउने गर्नु भएका उहाँहरुले एकजना स्थानिय व्यक्ति शिव वयकलाई सहयोगी राखेर गाउँ मै रोजगारी सृजना गर्नु भएको छ । बुबाआमाले घरमा भैसी पनि पाल्नु भएको छ भने कुखुराको हेरचाहमा बुबाआमाले पनि सघाउदै आउनु भएको छ । कुखुराको लागि घाँसको जोहो गर्न आफ्नै जग्गामा ६, ७ रोपनीमा विभिन्न प्रजातिको घाँस रोप्नु भएको छ । आफ्नै जग्गामा धैरै प्रजातिको घाँस रोपेर मेसिनबाट धुल्याएर अनि कुखुराको चरणक्षेत्रमा मकै रोपेर, क्याल्सियम, सिद्रा माछाको धुलो, मकै र धानमा मिसाएर कुखुराको लागी आहारविहारको व्यवस्थापन गर्दै आउनु भएको छ । अब छिट्टै यो लकडाउन खुलेपछि घाँस र मकै एकै पटक धुल्याउने मेसिन किन्ने योजना रहेको कँडेलले हामी सँगको भेटमा भन्नु भयो ।

प्रदेश नम्बर पाँचको दाङ जिल्लासम्म लोकल कुखुराको उत्पादन रहेपनि त्यस भन्दा पश्चिममा उत्पादन प्रयाप्त नरहेकोले अहिलेसम्म बजारमा प्रयाप्त लोकल कुखुराको मागलाई धान्न नसकिएको अवस्था रहेकोले यसको आफ्नै छुट्टै बजार छ । घरबाटै कुखुराको बिक्रि बितरण भइरहेको कँडेल बताउनु हुन्छ । “उत्पादन कम माग बढी भएकोले बिक्रि बितरणमा समस्या छैन ।’’ उहाँ भन्नुहुन्छ, “निजामती जागीर बाट अर्को सन्तुष्टि मिल्छ भने कृषि व्यवसाय बाट छुट्टै खुसि र सन्तुष्टि मिल्दोरहेछ ।’’ लोकल कुखुरापालनलाई अझै अगाडि बढाउने योजना बनाउनु भएका कँडेलले अब भविष्यमा चल्ला उत्पादन आफैले घरमै आफ्नै फर्मबाट गर्ने साथै फेन्सि कुखुरा र चरा प्रजातिका टर्कि, लौकाट र बट्टाइको पालनलाई पनि सँगसगै लैजाने योजना रहेको बताउनुहुन्छ ।

अधिकृत कँडेलले अहिले विभिन्न प्रजातिका लोकल कुखुरापालनबाट सबै खर्च काटेर मासिक २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ । निजामती जागिरे यूवा दम्पति कँडेलको जाँगर र उत्साह सम्पुर्ण यूवा वर्गका लागि प्रेरणा र उर्जा हो । राष्ट्रका लागि सहयोगी र गौरवको कार्य हो । सरकारी जागिर खाएपछि सबथोक पुगेसरी केहि नगरी बस्नेहरुलाई कँडेल दम्पती एक प्रेरणाको स्रोत हुनुन्छ । (स्रोत : फरक सन्देश अनलाइनबाट साभार)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार