मजदुर रसुवाबाट हिँडेर बबई पुगे, कर्णाली प्रवेश पाएनन्

शुरबहादुर सिंह (रासस)
सुर्खेत, ५ जेठ ।
‘रसुवाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौं । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौं,’ डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्क बहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवाको आमाछेदुङ्मोमा पुगेको थियो ।

भूकम्पपीडितको घर बनाउने काम गर्न गएका उनीहरूको ज्यालादारी काम दुई साता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहीन भएको हर्कबहादुरले बताए । ‘लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन’, उनले भने ‘त्यसपछि हिँड्न बाध्य भयौं। नौ दिनपछि आज आफ्नै प्रदेशको ढोकामा आएका छौं ।’

अर्का मजदुर कर्णबहादुर बुढामगरले ९ दिनसम्म चिउरा र चाउचाउ खाएरमात्र पैदलयात्रा गरेको बताए । बुढामगरले भने, ‘बाटोमा कतै पनि खाना पाइएन। चिउरा र चाउचाउ पनि धौधौ पाइयो ।’ यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेको उनको भनाइ छ । उनले सरकारले घर पु¥याए पछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताए ।

यता डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख–सुर्खेतको सीमा पु¥याएपछि मात्र आफूहरूले बुझ्ने जानकारी दिए । ‘हामीलाई बबई नाकाबाट आफैंले ल्याउने अनुमति छैन’, अध्यक्ष मल्लले भने, ‘यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।’

दालभात कस्तो हुन्छ भन्ने भइसक्यो
पोखराबाट हिँडेर सात दिनपछि कर्णाली प्रदेशको बबई सीमानाकामा पुगेका मुगु खत्याड गाउँपालिका निवासी पञ्चबहादुर रावतले पैदल अवधिभर खाना नपाएको गुनासो गरे । मजदुरीका लागि पोखरा गएका उनले नेपाल सरकारले गरेको लकडाउनले काम गर्ने ठाउँ नै बन्द भएपछि कमाउने आधार सकिएको बताए ।

‘कमाएको पैसा यो बीचमै सकियो । त्यसपछि त्यहाँबाट हिँडे’, रावतले भने । दाङ पुगेपछि भने रसुवाबाट फर्केका डुङ्गेश्वर गाउँपालिका दैलेखका साथीहरूसँग भेट हुँदा यात्रा अलि सहज भएको उनले बताए । ‘यो सात दिनको १४ छाक चाउचाउ र चिउरा खाएरै पैदल हिँडिएको छ । दालभात कस्तो हुन्छ भन्ने भइसक्यो। बाटोमा खानबस्न कसैले नदिँदा यात्रा झनै कष्टकर बन्यो’, उनले भने । कर्णाली प्रदेश बबई पुग्दा पनि मुगु पुग्ने यात्राको टुङ्गो नलाग्दा उनलाई अहिले घर नपुगिएला कि भन्ने पिरलो छ ।

गाउँकै स्थानीय क्वारेन्टाइनमा बस्ने भन्दै रावतले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा भएर मात्र मुगु पुगिने भएकोले घरसम्म पु¥याइदिन सरकारलाई आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बबई पुग्ने सबै कर्णालीवासीलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको समन्वयमा जिल्ला पठाइने बताए ।

तपाईको प्रतिक्रिया