कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुलाई हजुरआमाकाे हेरचाहमा

काठमाडौँ, ४ जेठ ।
कोरोना भाइरसको संक्रमणका कारण गत बिहीबार बेलुकी मृत्यु भएकी महिलाको १२ दिने शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तजनले बताएका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएका शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी चिकित्सकहरुले आफूहरुलाई दिएको आफन्तले बताएका हुन् ।

शिशुको अवस्था सामान्य रहेको जानकारी अस्पतालका स्वास्थ्यकर्मीले दिएको आफन्त राजकुमार लामिछानेले बताए । उनले शिशुलाई अहिले हजुरआमाले ‘ल्याक्टोजिन’ खुवाइरहेको बताए । धुलिखेल अस्पतालमा मृतककी आमा, सानिआमा र उनका बुबाले शिशुको हेरचार गरिरहेको उनले बताए ।


१२ दिने शिशुसहित उनीहरु सबै अस्पतालको आइसोलेसनमा एउटै कोठामा छन् । चारैजनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ भने परीक्षणको रिपोर्ट आउने क्रममा छ । कोरोना परीक्षण रिपोर्ट प्राप्त भएपछि शिशुको थप स्वास्थ्य साबधानी कसरी अपनाउने भन्ने टुंगो लगाइने चिकित्सकहरुको तयारी छ ।

सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन् । गत वैशाख २४ गते ती महिलाले काठमाडौँको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार