काठमाडौँ, ३ जेठ ।
धुलिखेल अस्पतालमा बिहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको पुष्टि भएको छ । आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो । धुलिखेल अस्पतालका एक चिकित्सकले श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पतालमा भर्ना भएकी ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
शिक्षण अस्पतालमा सिजरिङबाट डेलिभरी भएपछि उनको डिस्चार्ज भएको थियो । बाह्रबिसे राम्चेस्थित घरमा उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो । उनलाई बाह्रबिसेस्थित स्वास्थ्य केन्द्रमा आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । यद्यपि श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई धुलिखेल अस्पताल भर्ना गरिएको हो। धुलिखेल अस्पतालमा उपचारमा क्रममा बिहीबार बेलुकी उनको निधन भएको हो । उनको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा पनि संक्रमण पुष्टि भएको धुलिखेल अस्पताल स्रोतले जानकारी दियो ।
अहिले धुलिखेल अस्पतालका उनको उपचारमा संलग्न सबैको स्वाब परीक्षण गर्नुका साथै उनीहरुलाई आइसोलेसनमा राखिएको छ । त्यस्तै उनको डेलिभरी भएको टिचिङ अस्पतालमा पनि उनको शल्यक्रिया र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको टोलीलाई स्वाब परीक्षण गरिएको हो । ती महिलाको थप कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ ।
‘उहाँको बिहीबार साँझ निधन भएको हो, उहाँको कोरोना परीक्षणको रिपोर्ट मन्त्रालय पुगेको छ,’ धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले देशसञ्चारलाई बताए । बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा प्रमुख होमनाथ लामिछानेका अनुसार ती महिलाको आठ दिनअघि शिक्षण अस्पतालमा डेलिभरी भएको हो ।
युग संवाददाता । । ३ जेष्ठ २०७७, शनिबार १५:५८