कोरोना कहरमा रोजगारी र उत्पादनमा सहकारीको साथ

हरिहरनाथ योगी (सञ्चालक), राष्ट्रिय सहकारी बैंक काठमाडौं
(अध्यक्ष) जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–४, सुर्खेत

दैलेखको गमौडीमा जन्मिएका हरिहरनाथ योगी सहकारी अभियान्ता हुन् । सुर्खेतमा सहकारीलाई स्थापित गर्नमा उनको योगदान छ । योगीले एसएलसी दिए लगत्तै अस्थायी नियुक्ती लिएर निजामति जागिरबाट जागिरे यात्रा शुरु गरे । त्यही समयमा युनाइटेड मिसन टु नेपालमासमेत काम गरेका योगी पछि शिक्षक सेवाका विभिन्न तहहरुमा अध्यापन गराइसकेका छन् । २०७३ सालमा स्वेच्छिक अवकाश लिएका योगी शिक्षण पेशामा रहँदा पनि हरेक व्यक्तिलाई स्वावलम्बि, सुशासित बनाई समग्रमा समुदायको आर्थिक सामाजिक साँस्कृतिक रुपान्तरण गर्नमा सहयोग पु¥याउने सपनालाई साकार पार्ने लक्ष्यलाई पछ्याइरहेका थिए । अवकाशपछिको यात्रा भने उनले पूर्णरुपमा सहकारी अभियानमा योगदान गरेका छन् । आजको जम्काभेटमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् कर्णाली प्रदेशका संयोजक तथा जनहितकारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीसँग गरिएको कुराकानीका सम्पादित अंश :

बाल्यकाल :
जन्मभूमि दैलेख भए पनि कर्मभूमि सुर्खेत बनाएका योगीले शिक्षा र व्यवस्थापन (बाणिज्य शास्त्र) संकायबाट स्नातक र अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनितीमा स्नातकोत्तर गरेका छन् । वीरेन्द्रनगरस्थित भैरव माध्यमिक विद्यालयबाट कक्षा १ देखि एसएलसीसम्म अध्ययनगरेका योगीले वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट आइकम र विकम पूरा गरे । नेपालगञ्जस्थित कलेज अफ एजुकेशनमा विएड र मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

शिक्षण सेवामा प्रवेश :
एसएलसी पछिको क्याम्पस प्रवेशसँगै सुर्खेतस्थित जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको रुपमा अस्थायी नियुक्ति पाएका योगीले झण्डै पाँच वर्ष काम गरे । त्यसपछि दुईबर्ष अन्तर्राष्ट्रिय गैर सरकारी संस्था युनाइटेड मिसन टू नेपालमा पनि काम गरे । त्यहीक्रममा स्थायी शिक्षकको लागि शिक्षक सेवा आयोगका परिक्षा दिइसकेका थिए । तीन वर्षपछि आएको नतिजामा उनले प्राथमिक तहमा स्थायी शिक्षकमा नाम निकाले । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गढी लेखगाउँ सुर्खेतमा पहिलो नियुक्ती पाए पनि जिल्ला शिक्षा कार्यालयमा नै काजमा एकबर्ष काम गरे । त्यसपछि योगीले वीरेन्द्रनगरस्थित पदमपुरमा रहेको प्राविमा पढाए । वीरेन्द्रनगरका अन्य विद्यालयहरुमा पनि अध्यापन गरेका योगीले माथिल्लो तहका लागि आयोगको परिक्षा दिए । २०५२ सालमा निम्न माध्यमिक तहमा स्थायी भइ २०५७ देखि मावि तहको दरवन्दीमा नाम निकाले । तर त्योभन्दा अघि वीरेन्द्रनगर १ ढाडेखालीमा रहेको त्रिपुरेश्वर उच्च माध्यमिक विद्यालयमा अध्यापन गराइरअ‍ेका थिए । २५ वर्ष अध्यापनसँगै सहायक प्रधानाध्यापककोसमेत जिम्मेवारी सम्हालेका योगीले २०७३ बैशाखदेखि स्वेच्छिक अवकाश लिए ।

सहकारी आन्दोलनमा सामेल :
पढ्ने क्रममा नै सामाजिक सेवामा लाग्ने योगीको रुची थियो । सामाजिक रुपान्तरणको शोच र परिणाम देखिने नयाँ काम गर्नुपर्छ भन्ने मान्यता उनमा थियो । अध्ययनसँग मिल्ने कार्य क्षेत्र र समाजका केही व्यक्तिहरुले भोग्नु परेको वित्तिय संकटको अनुभुति लगायतका कारणले उनी सहकारी क्षेत्रमा प्रवेश गरेको बताउँछन् । सहकारी आन्दोलन विश्वव्यापी आन्दोलन हो । लामो अनुभव र अभ्यासबाट स्थापित मुल्यमान्यता र सिद्धान्तबाट निर्देशित निम्न तथा मध्यम वर्गिय समुदायको आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणको शसक्त माध्यम हो । ‘एकका लागी सबै र सबैका लागी एक’ यसको मुल अन्तरवस्तु पनि हो । यो पुँजीवादी र समाजबादी अर्थ व्यवस्थामा देखापर्ने कमजोरीहरुको विकल्पमा प्रतिपादित नया अर्थ व्यवस्था भएको योगी बताउँछन् । यसको प्रारम्भ सन् १८४४ डिसेम्बर २१ मा बेलायतको मेनचेष्टरका रोचडेल परिवारबाट सामुहिकतामा आधारित उपभोक्ता भण्डारको स्थापनाबाट भएको हो ।

सहकारीमै लाग्नुको उदेश्य :
हरेक व्यक्तिलाई स्वाबलम्वि, सुशासित बनाइ समग्रमा समुदायको आर्थिक सामाजिक साँस्कृतिक रुपान्तरण गर्नमा सहयोग पु¥याउने प्रमुख माध्यम नै सहकारी हो । निम्न तथा मध्यम वर्गिय परिवारको स्वायत्त व्यावसायिक संगठनको रुपमा गाउँ वस्तीसम्म फैलिएको बलियो सञ्जाल पनि सहकारी हो । सानो–सानो अंशमा छरिएर निस्कृय रुपमा रहेको पुँजी परिचालित हुन्छ । खेर गइरहेको प्राकृतिक स्रोत साधन र जनशक्तिलाई स्थानिय स्तरमा नै सदुपयोग पनि सहकारीबाटै गर्न सकिन्छ । सहकारी राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण तेस्रो खम्बा हो । उत्पादन प्रशोधन र बजारिकरणमा सहकारीमार्फत ब्यापक रोजगारी सृर्जना गर्न सकिने माध्यम पनि सहकारी हो । यस व्यवसायबाट उत्पादक र उपभोक्ता स्वंयम सदस्य नै हुने भएकाले बिचौलियाको अन्त्य गर्न सकिन्छ । यस व्यवसायबाट उत्पादकले उचित मुल्य पाउने र उपभोक्ता सदस्यले कम मुल्यमा गुणस्तरिय सेवा तथा वस्तुहरु प्राप्त गर्न सक्छन् । यही कारणले म सहकारीमा लागेँ ।


शहर र गाउँसम्मै सहकारी :
सहकारीहरु गाउँशहर सबै ठाउँमा सञ्चालित छन् । तर शहरी क्षेत्रमा जनसंख्या बढी हुने र वित्तिय गतिविधी पनि बढी हुने भएकाले शहरमा अलि बढी संख्यामा सहकारी संस्थाहरु हुनु स्वभाविक हो । ग्रामीण क्षेत्रमा तरल पुँजीको अभाव छ । जुन व्यवसाय सृर्जनाका लागि अति महत्वपुर्ण छ । सहकारीमार्फत नै शहरमा भएको पुँजीलाई गाउँ वस्तीसम्म पु¥याउने काम पनि भइरहेको छ । गाउँ वस्तीका शहकारीहरुले पनि उत्पादन, प्रशोधन र बजारीकरणमा धेरै राम्रा उदारणिय काम गरिरहेका छन् ।

सहकारी बैंक र जिम्मेवारी :
राष्ट्रिय सहकारी बैंक नेपालभरका लगभग १३ हजार सहकारी संस्थाहरु सदस्य भएको एउटा मात्र बैंक हो । यसका सदस्यहरुको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यस बैंकले सहकारी संस्थाहरुसँग मात्र कारोवार गर्दछ । सहकारी संस्थामार्फत शहर गाउँ वस्तीमा व्यापक मात्रामा रोजगारी सृर्जना गर्न सकिन्छ । निस्कृय रुपमा छरिएर रहेको प्राकृतिक स्रोत साधन, पँुजी र जनशक्तिलाई उत्पादनशील बनाई गाउँ वस्तीमा रोजगारी सिर्जना सहकारीमार्फत नै सम्भव छ । अब सबै सहकारीहरुले पँुजी वस्तु र सेवाको उत्पादन प्रशोधन र बजारीकरणमा केन्द्रित गर्न सहकारी अभियानभित्र ब्यापक बहस क्षलफल भइरहेको छ ।

सहकारीका माध्यामबाट पनि बेरोजगारीको अन्त्यमा उल्लेखनीय योगदान हुनुपर्छ भन्ने अभियानमा एकमत छ । यसकालागी प्रदेश तहका संघहरु मात्र नभई जिल्लादेखि राष्ट्रिय तहका संघहरु र राष्ट्रिय सहकारी बैंक समेतले सहकारी संस्थाहरुलाई त्यसतर्फ अगाडी बढन सहयोग र उत्प्रेरणा प्रदान गरिरहेका छन् । विशेषगरी कृषि उत्पादन र अन्य क्षेत्रको उत्पादन वृद्धि, प्रशोधन र बजारीकरणमा काम गर्न राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य संस्थाहरुलाई प्रयाप्त पुँजी र सम्भव हुने प्रविधी तथा क्षमता विकासका थुप्रै कार्यक्रमहरु उपलब्ध गराईरहेको छ ।

कोरोना कहरमा सहकारीको भूमिका :
कोरोनाका कारण धेरै व्यवसायहरु धरासायी हुने देखिन्छ । यसबाट देशभित्र भइरहेका रोजगारहरु पनि वेरोजगार हुने र देश बाहिरबाटसमेत लाखौंको संख्यामा युवाहरु आउने हँुदा वेरोजगारीको अवस्था भयावह हुने देखिन्छ । यस्तो अवस्थामा छोटो समयमा धेरै रोजगारी दिन सकिने र उत्पादनको परिमाणात्मक वृद्धि पनि गर्न सकिने क्षेत्रलाई नै सबैले प्राथमिकतामा राख्नुपर्ने हुन्छ । नेपालको हकमा कृषि क्षेत्र नै महत्वपुर्ण क्षेत्र हो । कोभिड १९ का कारण खाद्य अभाव भएर भोकमरी बढ्ने सम्भावना पनि छ । त्यसैले कृषि उत्पादन प्रंशोधन र बजारीकरणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसपछि स्वास्थ्य क्षेत्रलाई दोस्रोमा राखि सरकार, सहकारी र निजी क्षेत्रले आफ्नो पुँजी तथा कार्यक्रमलाई केन्द्रित गरेमा खाद्य र रोजगारी दुवै समस्याको हल गर्न सकिन्छ । सहकारी अभियान पनि अब त्यसतर्फ केन्द्रीत हुनु पर्दछ ।

अन्त्यमा…
बाँकी समय पनि सामाजिक सेवामा विताउने योजना छ । नेपालको वर्तमान अवस्थामा सहकारी क्षेत्रबाट राष्ट्रिय अपेक्षा पुरा गर्न धेरै सहयोग हुन सक्दछ । सहकारी ऐनले सहकारीका माध्यामबाट सबै क्षेत्रमा काम गर्न सकिने व्यबस्था भएपनि वर्तमान कतिपय नीति नियमहरुले सबै क्षेत्रमा काम गर्न बाधा पु¥याएको छ । अब बन्ने नीति नियमहरु सहकारीमैत्री बनाउनु पर्छ । (२०७७ जेठ २ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा साताको जम्काभेट स्तम्भमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार