जाजरकाेटमा युवती संकास्पद मृत्युको प्रहरीले जाहेरी लिएन

जाजरकोट, १ जेठ ।
जाजरकोटको बारेकोटमा एक महिलाको संकास्पद मृत्यु भएको सम्बन्धमा प्रहरीले किटानी जाहेरी लिन मानेको छैन । बारेकोट ६ ताँसी निवासी २२ बर्षिया जेनिसा नेपालीको गत २७ बैशाखमा मृत्यु भएको थियो । कुशे ६ नारे माईती घर भएकी नेपालीको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास विक.सँग विवाह भएको थियो । कुनै विरामीसमेत नभएकी जेनिसाको एक्कासी मृत्युको खवरले माइती पक्ष त्यो स्वभाविक मृत्यु नभई हत्या भएको भन्दै किटानी जाहेरीका लागी बुधवार जिल्ला प्रशासन कार्यालय जाजरकोट पुगेको थियो । तर जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले उजुरी दर्ता नगरेको पिडित पक्षले बताएका छन् ।

पेट दुखेर मृत्यु भयो भनिएकी जेनिसाको शरीरमा निलडाम भएको, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दाग भएको हुँदा हत्या गरिएको भन्दै घरपरिवारको नाममा किटानी जाहेरी गर्न खोज्दा प्रहरीले लिन नमानेको मृतकका दाजु प्रविण नेपालीले बताए । उनले भने ‘विहिवार दिउसो सम्म मुद्धा दर्ता भएको छैन । प्रहरीले यो वा त्यो बहानामा घटनालाई ढाकछोप गर्न खोजीरहेको छ । यस्तो दुखद घटनामा पनि चलखेल हुन थालेको छ । हामी न्याय माग्न काहाँ जाने ?’ मृतकका पति, सासु, ससुरा, नन्दसहित पाँच जनाको नाममा किटानी जाहेरी दिएका छौं ।

यस अघि पनि बहिनी घरेलु हिंसाको शिकार भएकी थिईन । आखिर पापीहरुले ज्यानै लिएर छोडे दाजु प्रविणले भने ‘हत्या हुनु भन्दा दुई दिन अघि मात्र मेरो बहिनी सँग फोन भएको थियो । दाई मलाई बच्चा जन्माउन नसक्ने भनेर गाली मात्र गर्छन । तपाईहरु आएर सम्झाई दिनु पर्यो भनेर उनले चिन्ता एवं डर युक्त अनुनय गरेकी थिईन ।’ यस अघि दुई बच्चा खेर गएका थिए ।

यस पटक पनि बहिनी गर्भवति थिईन । उनको पेटमा पाँच महिनाको गर्भ थियो । पेट दुख्ने वित्तिकै एक्कासी कोही मर्छ । अघिल्लो दिन सम्म केही नभएकी बहिनी कसरी ज्यान गयो । किन विरामी भएको भए माईतीलाई खवर गरिएन । मारेपछि पेट दुखेर मरि भनेर खवर गर्ने उनले भने ‘मुचुल्का गर्न गएका ईलाका प्रहरी कार्यालयका प्रहरीकोे ब्यवहार समेत संकास्पद छ । प्रहरीले जाहेरी लिन मानेन र थप संकास्पद ब्यवहार भए राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोग समेत गुहार्छु । बहिनीलाई न्याय दिलाएरै छोड्छु ।’

जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकोले यस विषयमा सवै कुरा बताउन नमिल्ने बताए । पुलिसले जाहेरी लिएन भन्ने छ यस सम्बन्धमा के हो डिएस्पी साव भनेर प्रवाह प्रतिनिधीले प्रश्न गर्दा उनले ‘कसले भन्यो प्रहरीले जाहेरी लिएन भनेर । अनुसन्धान भैरहेको छ तपाईलाई के चासो । किन चाहियो ?’ कड्किएर डिएसपीले भने । डिएस्पी श्रेष्ठले जाहेरी दर्ता नभएको भनेर बाहिर बोल्दै नहिड्न पिडित पक्षलाई धम्क्याउने समेत गरेका छन् । प्रहरीले किटानी जाहेरी लिन नमान्नुमा पिडकलाई जोगाउन राजनैतिक दवाव आएको हुन सक्ने पिडित पक्षको आशंका छ ।

तपाईको प्रतिक्रिया