अलपत्र प्रदेशीको प्रधानमन्त्रीलाई चिठ्ठी : उद्धारमा राेइकराइ गरेका छौं‌‌, के हामी नेपाली होइनौं ?

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीज्यू
सबैभन्दा पहिला त दाहिने हात मुठ्ठी बटार्दै आकाश तिर माथी उठाउँदै रातो सलाम भन्न चाहन्छु ।
प्रधानमन्त्रीज्यू सेतो कागजमा कालो मसिले केही हृदय बिदारक शब्दहरु लेखेर हजुर समक्ष पुरयाउने ठुलो चाहना, ईच्छा धोको आज मात्र होईन हिजोदेखि आजसम्म कायम नै रहेको थियो । मन हृदय अनि मुटु भित्रबाट तपाईंप्रति समर्पण गर्ने धन्यवाद र स्याबासीका शब्दहरु मन भित्रबाट भकभक उम्लिदै बाहिर नआएका होईनन । तर सायद समय परिस्थिति र माहोलले साईत नजुराएर होला ती शब्दहरु यथास्थिति मै मन भित्र रोकिन बाध्य भएका छन् । प्रधानमन्त्रीज्यू सबैभन्दा पहिला त तपाईंको विदेशदेखि स्वदेशसम्मको राजनीतिक यात्राको संघर्षरत जिवनी र त्यसैमा तपाईंले हाँसिल गर्नुभएको राजनीतिक जितको त मैले प्रशंसा नै गर्न सक्दैन । चुनावमा भोटको लागि हजारौं खोक्रा भाषण अनि झुठो आश्वासन दिनेहरुले आज भारतमा भोकभोकै मर्नेहरुलाई देख्न सकेन । दुनियाँ नै ठुलो संकट अनि विश्व महामारीको रूपमा फैलिएको कोरेना भाईरसको चपेटामा परेको छ । कोरेना रोकथामको लागि संसारका सबै देशहरुले २ देखि ३ महिनासम्म लकडाउन गरेर सबै काम कार्यहरु ठप्प पारेका छन् । देश बन्दाबन्दी गर्दा गर्दै पनि कोरेना भाईरस नियन्त्रण हुन सकिरहेको छैन ।

प्रधानमन्त्रीज्यू तपाईंको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नेपाल प्राप्तिका लागि १४ बर्ष जेलजिवन विताउनुभएको, केही महिना, बर्ष विदेशमा गर्नुभएको राजनीतिक यात्रा पनि निकै कठिन र उत्तिकै संघर्ष बिदारक अनि चुनौतीपूर्ण थियो । प्रवासको बसाई एकातिर रोजगारी अर्कोतिर संगठनमा दिनुपर्ने योगदान अनि नेपालीमाथी प्रवासमा आईपर्ने विभिन्न खाले समस्याहरुको समाधान गर्दै हिड्नु भएको त्यो तपाईंको संघर्ष र मेहनतको अझै पनि प्रवासमा आजसम्म चर्चा, परिचर्चा कायमै रहेको छ । भारतले गरेको लकडाउनबाट लाखौ नेपालीहरु प्रभावित बनेका छन् । २ महिनासम्म काम बन्द हँुदा महिना भरिको तलबमा खान लाउन ब्यबस्था गर्ने नेपालीहरु ठुलो संकट र दुखमा देखिन्छन् । काम बन्द छ, तलब छैन एकातिर हरेक खानेकुराको भाव बढेको छ अर्को तिर कोठा मालिकले भाडा माग्छन् अनि कसरी र कहाँबाट मिलाउने भन्दै गुनासो पोख्ने नेपालीहरु भारतका गल्ली, गल्लिमा भेटाउन सकिने अवस्था उत्पन्न भएको छ । खान र बस्न समस्या भएकै कारण भारतको गुजरातमा एक जना ब्यक्तिले ९ मई २०२० का दिन आत्माहत्या गरेको खबर पनि सनसनी पुर्ण रूपमा फैलिएको छ भने धनगढी निवासी एक जना ब्यक्तिले दिल्लिमा राखिएको क्वारेन्टाईन मै ७ मई २०२० का दिन ज्यान गुमाउनु परेको थियो । अलपत्र तथा खान समस्या भएका हजारौं नेपालीहरुलाई भारतमा रहेका समाजसेवी गैरराजनीतिक संस्था तथा विभिन्न पार्टी निकट संघ, संगठनहरुले सक्दो सहयोग गरीरहनु भएको छ भने नेपाल सरकार तथा चुनावमा भोटको लागि घर घरमा विभिन्न लोभ लालच देखाउने स्टेजमा ठुलाठुला भाषण ठोक्ने झुठो आश्वासन दिने मन्त्री नेताहरुले भने कुनै प्रकारको सहयोग गरेको देखिदैन ।

प्रधानमन्त्रीज्यू तपाईंले प्रवासमा हँुदा पनि नेपालीहरुमाथी आई परेका समस्याहरु सुल्झाउदै प्रवासीहरुलाई लगाएको गुन युगौयुगसम्म जिवित नै रहने छ । प्रवासको संघर्षरत बसाई अनि कर्म र कार्यलाई बिट मार्दै अब स्वदेश मै जनता अनि नेपाली माटोको लागि केही गर्छु भन्दै स्वदेश हानिनु भएको त्यो अवसरमा त हजुर लाई दिन सक्ने हामी संग कुनै शब्द नै बचेका छैनन् । तपाईं जुन सोच, नारा, बिचार, नीति, सिद्धान्त लिएर प्रवासलाई बाईबाई र स्वदेशलाई हाईहाई गर्दै हिड्नु भएको थियो आखिर सफलता पनि त्यस्तै प्राप्त गर्नुभएको क्षण जिवितै छ । प्रधानमन्त्रीज्यू जब तपाईंले जनताको मन जित्दै प्रवासमा रहेका श्रमिक नेपालीको आफ्नो र परिवारको मतदानबाटै आज उच्च स्थानमा पुग्नुभएको छ । हामी प्रवासमा भएका लाखौ लाख नेपाली युवाहरुले पनि प्रवासीको जित भएको अनुभव गरेका छौं किनकि तपाईं प्रतिको आशा भरोसा अनि ईमान्दारिता कायमै थियो । तपाईका भाषणमा प्रवासमा हुने दुख पीडा मैले बुझेको छु म पनि भारतका धेरै शहर घुमेको छु अब तपाईंहरुले प्रवासमा दुख पीडा खेप्नु पर्दैन त्यति मात्र होईन भारत जाने प्रवृत्ति तथा परम्पराको अन्त्य गर्ने छु भन्दा हल नै तालिले गुन्जायमन बनेका उदाहरण छन् । त्यो खुशिको कुरो सुन्दा हामी प्रवासिलाई त झन खुशिको सिमा नै थिएन ।

प्रधानमन्त्रीज्यू हजुरबाट पलाएका ती आशा अनि भरोसाका ठुला ठुला सम्भावनाहरु अझै मरेका छैनन् तर हजुरले प्रधानमन्त्रीको कार्यकाल सम्हाल्नु भएको २ बर्ष भन्दाबढी नै भैसकेको छ तर हजुरले उदघोषक गर्नु भएका ती वचन अनि भाषणका मिठामिठा शब्दहरु मै सिमित देखिन्छन् । भाषण त भयो तर काम कार्य भने जस्तो र हामिले सोचे जस्तो देखिएन । म तपाईंका ती वचन लाई बिकास अनि समृद्धि तिर जोड्न चाहन्छु किनकि बिकास अनि समृद्धि एकै पटक कोल्टे फेर्ने त पक्कै पनि होईन । भारतमा पलायन हुने अधिकांस नेपाली, कर्णाली र सुदुर पश्चिमेलिहरुका लागि तपाईंले उद्घोष अनि हामीलाई दिनु भएका आशा र बचनहरु कहिलेसम्म पूरा हुने छन् । हामीलाई खुल्दुली नै लागेको छ । भाषण मात्र दिने काम कार्य नगर्ने प्रवृत्तिले नै नेपाल आज यो अवस्थामा छ । स्वदेशमा केही पनि रोजगारीको अवसर नपाउँदा हिजो भन्दा आज भारत पलायन हुने नेपालीको संख्या झन बढ्दो अवस्था छ । तसर्थ प्रधानमन्त्रीज्यु तपाईंले दिएका भाषण मात्र होईनन जहाँसम्म देश अनि राष्ट्र बनाउने नारा बोकेका नेताहरुले दिएका सबै भाषण यथार्थमा लागू भै दिउन र नेपालीहरु बिदेश पलायन हुने परम्परामा कमि आओस् ।

भारतमा रहेका लाखौ नेपालीहरु हार गुहार मागी रहेका छन् दिनप्रतिदिन थुप्रै संचार मार्फत सूचना गरिरहेका रेडियो तथा न्युजहरुबाट पनि अपिल गरिरहेका तर सरकार निन्द्रामा सुतिरहेको देखिन्छ । काग कराउदै छ पिना सुक्दै छ कुकुर भुक्दै छ हात्ती लम्किदै छ भन्ने उखान यतिखेर बिदेशमा भएका नेपालीहरुका लागि प्रष्ट भएको देखिन्छ । हामिहरु उद्वारको लागि दिनप्रतिदिन रोईकराई रहेका छांै तर उताबाट भने कुनै सुनुवाई नै छैन । हिजो राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सासद, नगर/गाउँका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य, टाेले नेता  लाई त्यो स्थानसम्म पुरयाउने भनेका नै हामी थियौ तर आज त्यत्रो गुन लाउने जनतालाई दुख पर्दा किन वास्था गरिन्न । घरमा समस्या परयो केही अप्ठेरो भयो भने पहिला घरमुली, घरको अभिभावकको नै खोजि गरिन्छ । हामी नेपाली नागरिकको अभिभावक भनेको सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओली हुनुहुन्छ ।

प्रधानमन्त्रीज्यू के हामी नेपाली होईनौ र ! के हामीलाई आफ्नो राष्ट्र अनि मातृभुमिको माया छैन र ! के हामीलाई आफ्नो परिवार छिमेकी गाउँघरको माया छैन र ! के हामीलाई आफ्नो छोराछोरी आमाबुबाको मुख देख्नु छैन र ! के हामीलाई बाँच्ने आशा छैन र ! अनि किन सुनिदैनन हाम्रा आवाज किन देखिँदैनन हाम्रा दुख पीडा कष्ट किन गरिन्न हाम्रो उद्दार ? प्रधानमन्त्रीज्यू, नेता, मन्त्रीहरुले एउटा कुरो याद गरे हुन्छ पृथ्वी गोलो छ पालो सबैको आउँछ फरक यति हो अगाडि पछाडी हुन सक्छ हामीहरु यो मृत्युको मुखबाट बाँचेर आफ्नो मातृभुमिमा पाईला टेक्न मात्र पाईयोस अनि तपाईंले भोटको लागि घर घरमा आएर विभिन्न लालच देखाउने समय मात्र आओस् तपाईंहरुका खोक्रा भाषण अनि झुठा आश्वासनको जवाफ कसरी फर्काउनु पर्ने हो आज भारत (विदेश) मा एक छाक खाना नपाएर तड्पी रहेका र स्वदेश फर्किन नपाएर रोई कराई रहेका नेपालीहरुले सजिलोसँग जवाफ दिने छन् ।
उही प्रदेशी : करन साउँद गौरीगंगा न.पा.–७ कैलाली /हाल भारत मुम्बई

तपाईको प्रतिक्रिया