लकडाउनमै सडक सञ्जालमा जोडियो बारेकोट

जाजरकोट, १ जेष्ठ ।
लकडाउनमै काम गरेर जाजरकोटको अति दुर्गम बारेकोट गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जुम्ला र डोल्पासँग सीमाना जोडिएको बारेकोट गाउँपालिकामा गाडी पुगेसँगै जिल्लाका सबै पालिकामा यातायातको पुहँच पुगेको छ ।  सात स्थानीय तह रहेको जाजरकोटमा यसअघि ६ पालिकामा गाडी पुगिसकेको थियो ।

निर्माण सुरु भएको अढाई वर्षमा बारेकोटमा गाडी पुगेको हो । सदरमुकाम खलंगामा गाडी पुगेको १३ वर्षपछि बारेकोट सञ्जालमा जोडिएको हो । नलगाडको सिर्के र बारेकोटको सेपुखोला तथा काउली नजिक रहेका कडा चट्टानयुक्त भीर फोड्ने कार्य सकिए लगत्तै बारेकोट जोड्ने सडक निर्माण सम्पन्न भएको हो । जिल्ला सदरमुकामदेखि बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सासम्मको सडकको दूरी ७२ किलोमिटर छ ।

त्यसमध्ये जाजरकोट– डोल्पाअन्र्तगत कालीमाटी खण्डसम्म ३३ किलोमिटर, नलगाड हाइड्रोपावरको पहुँच मार्ग २७ किलोमिटर र बाँकी १२ किलोमिटर बारेकोट खण्ड पर्छ । दुई/तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगा पुग्नु पर्ने वाध्यतामा रहेका वारेकोटवासी गाडी पुगेपछि निकै खुसी छन् । भौगोलिक विकटता, गरिबी र सधैं खाद्य संकट व्यहोरिरहेको वारेकोट गाउँपालिकामा सडक पहुँच पुगेपछि खाद्यान्न ढुवानीमा सहजता आएको छ ।


खाद्य तथा व्यापार कम्पनी लिमिटेडले बारेकोटको घाटमा रहेको खाद्य डिपोमा ट्याक्टरबाट चामल ढुवानी गर्न थालेको छ । यसअघि खाद्यान्नलगायतका मालसमान ढुवानी गर्न घोडाखच्चडमै भरपर्नु पर्ने बाध्यता थियो । सडक निर्माण भएपछि बारेकोटसम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको बारेकोट १ कोटलीका भिमबहादुर नेपालीले बताए । उनले भने, ’पहिले मान्छे हिँड्नलाई साँघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो । यति छिटै गाडी पुग्ला भन्ने सोचेका थिएनौं। इमान्दारीका साथ काम गरे सबै कुरा सम्भव हुँदोरहेछ ।’

आफ्नै घर आँगनमा गाडी गुडेको देख्ने वर्षौदेखिको सपना पुरा भएको बारेकोट १ पुनगाउँकी चन्नी पुनले बताइन्। ’गाडी पुगेसँगै बारेकोटवासीले डोकोमा नुन, तेल र खाद्यान्न बोकेर ल्याउनु पर्ने बाध्यता हट्ने भएको छ,’ खुसी हुँदै उनले भनिन्। गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बारेकोटवासीको वषौंदेखिको सपना पूरा भएको बताए । उनले भने,’ बारेकोटवासीको एउटै मात्र सपना थियो गाडी चढ्ने र घरआँगनमै सडक आएको हेर्न पाउने । अथक प्रयासपछि गाडी चढ्ने बारेकोटी जनताको सपना पूरा भएको छ ।’

निरन्तर रुपमा सडकको विस्तार गरेर बाँकी रहेका वडामा पनि सडक र्प याउने र ट्रयाक खुलेको सडकको स्तरोन्नती गरी बाह्रै महिना यातायात चलाइने गाउँपालिकाको उद्देश्य छ। वारेकोटमा सडक र्पु याउन करिब साढे चार करोड रकम खर्च भएको भएको छ । यसै वर्षदेखि सिर्केदेखि लिम्सासम्मको सडकको स्तरोन्नतिका लागि ८ करोड रुपैयाँको टेण्डर समेत भइसकेको अध्यक्ष शाहले बताए । यही सडकबाट जुम्लाको टोप्ला जोड्ने गरी सडक विस्तार गर्न गाउँपालिकाले संघीय सरकारसँग बजेट माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार