कालापानीमा बीओपी, छिट्टै गुल्म बनाइने प्रजिअ

दार्चुला, ३१ बैशाख ।
दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) को सेवा आरम्भ भएको छ । काठमाण्डौबाट गएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले छाङरुमा बीओपीमार्फत सेवा सुरु गरेको हो ।

करिब ७ दशक लामो सीमा विवादबाट सधैँ हिनताग्रस्त मनोविज्ञानका साथ भारतसँग बोल्न नसकेझै देखिदै आएको नेपाल सरकारले इतिहासका सबै कमजोरीहरु सच्याउँदै पहिलो पटक कालापानीस्थित दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ ।

बीओपीको लागि दार्चुलाको खलङ्गाबाट निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी छाङरु गएका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी र बन्दोबस्तीका सामानसहित तीन पटक छाङरुमा उडान गरेको थियो । १०÷१० जनाले पूर्व र पश्चिमको ड्युटी गर्ने र पाँच जना हरेक बखत कार्यालयमा रहने गरी तालिका मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

अहिलेलाई घर भाडामा लिएर बीओपी सञ्चालन भएको र पछि आफ्नै भवन बनाएर गुल्म नै स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । त्यसको लागि १५ रोपनी जग्गा र ११ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । ‘अहिलेलाई भाडाको घरबाट उनीहरुले ड्युटी गर्नेछन, पछि हामीले एक सय ६५ जना सशस्त्र रहने गरी गुल्म नै बनाउने छौँ, त्यसको लागि गृह मन्त्रीबाट छिट्टै नै पूर्वाधारको शिलान्यास हुँदैछ’, प्रजिअ पौडेलले भन्नुभयो ।

अहिले चीनको सिमा नजिकै तिङ्करमा १० जना नेपाल प्रहरी रहेको चौकी छ । यस्तै सितपुल भन्ने स्थानमा पनि १० जना प्रहरी रहेको चौकी छ । ‘आज सञ्चालन भएको बीओपीसहित कालापानी वरपर गरेर तीन वटा चौकीमा ४५ जना प्रहरी छन, अब एक चौकीलाई अर्काको भर पनि हुने भयो’, प्रजिअ अधिकारीले भन्नुभयो । भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएपछि सरकारले कालापानी नजिकै प्रहरी राख्ने निर्णय गरेको हो । तर अहिले सरकारले बनाएकोे बीओपी कालापानी क्षेत्रभन्दा १० किलोमिटर पूर्व नेपालतर्फ रहेको छ । गएको मङ्सिरमै बीओपी राख्ने नेपाल सरकारले निर्णयमा ढिलाइ भएको हो ।

तपाईको प्रतिक्रिया