सुर्खेत, ३१ बैशाख ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यरत पत्रकारहरुको नोइज्नल स्वाब संकलन गरिएको छ । समाजिक विकास मन्त्रालयको समन्वयमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारहरुको नोइज्नल स्वाब संकलन गरेको हो । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले पत्रकारहरु समाचार संकलनको क्रममा फिल्डमा खटिने भएकाले उनीहरुको कोरोना परीक्षण गरिदिन मन्त्रालयसँग अनुरोध गरेको थियो ।
जनस्वास्थ्य सेवा कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेका अनुसार बुधबार ४३ जना पत्रकारको स्वाब संकलन गरिएको जानकारी दिए । संकलित स्वाबहरु वीरेन्द्रनगरस्थित पशु प्रयोगशालाको भवनमा रहेको कोरोना प्रयोगशालामा परीक्षण गरिने वाग्लेले बताए । ‘संकलिन स्वाबको रिपोर्ट आज साँझसम्म आइपुग्नेछ’ वाग्लेले भने, ‘बाँकी छुटेका पत्रकारहरुको पनि स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।’
सामाजिक विकास मन्त्री दल रावलले कोरोना विरुद्धको लडाईमा कर्णालीका पत्रकारको अथाह सहयोग भएको बताए । पत्रकारहरुमा कोरोना छ कि छैन भनेर १० वटै जिल्लामा स्वाब संकलन गरेर परीक्षण गरिने जनाए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रशंसा गरे ।
सुर्खेतमा हालसम्म चारसय १९ जनाको स्वाब संकलन गरिएको छ । यो मध्य तीनसय ८१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३८ जनाको रिपोर्ट आउन बाँकी छ । तर प्रदेशमा हालसम्म सातहजार एकसय ६० जनाको पीसीआर र दुई हजार एकसय ६८ जनाको दु्रत परीक्षण गरिएको छ । सबै जनाको रिपोर्ट भने नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।
युग संवाददाता । । ३१ बैशाख २०७७, बुधबार १८:४७