घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

तुलराज पाण्डे
कालिकोट, ३१ बैशाख ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण शुरु गरेको छ । कार्यविधि अनुसार दोस्रो चौमासिकको भत्ता घरमै पुगेर वितरण गर्न थालिएको हो । विश्वमहामारी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनका कारण सेवाग्राहीहरुलाई घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।

खाँडाचक्र नगरपालिकाको वडा १ देखी ११ नम्बर वडा मध्ये वडा नम्बर २ बाट वितरण कार्य शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए । सामाजिक सुरक्षा बैकमार्फत वितरण गर्ने भनि प्रयास गरिएपनि भौगोलिक विकटताका कारणले कतिपयको खाता खोली खातामा रकम पठाईसकिएको र खाता खोल्न बाँकी रहेका सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता लकडाउनको बेलामा भएपनि जोखिम मोलेर वितरण गर्न थालिएको हो । उनले भने,–‘अन्य वडामा पनि वितरणका गर्नको लागि सम्पुर्ण तयारी पुरा भैसकेको छ ।’

लकडाउनका बेला भत्ता नै राहत
२ वडाबाट वितरण थालिएको भत्ता वितरण कार्य प्रभावकारी भएको जनप्रतिनीधिहरुले बताउका छन् । खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ का धेरै सेवाग्राही को घरघरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरियो, वडा अध्यक्ष विर्ख सिंह विश्वकर्माले भने–‘हिँडडुल नै गर्न नसक्नेलाई घरैमा सामाजिक सुरक्षा भत्ता पुर्याउँदा असाध्यै खुशी भएको बताए ।’

लकडाउनले अरु आम्दानीका स्रोतहरु नभएकाहरुलाई झन ठूलो राहत मिलेको अध्यक्ष विर्खसिंह विश्वकर्माले बताए भ । खाँडाचक्र वडा नं. २ मा ४ दिन लगाएर २३० जना सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको खाँडाचक्र नगरपालिका पञ्जिकरण शाखा प्रमुख कलम बहादुर शाहीले बताए । खाँडाचक्र नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि विभिन्न पाँच वटा बैंकसंग सम्झौता भएको छ ।

खाँडाचक्र नगरपालिका वडा नम्बर १, मा ग्लोवल आईएमई बैंक, राष्ट्रिय बाणिज्य बैंक र एनआईसी एसिया बैंक वडा नं. २, मा ग्लोवल आईएमई बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक, वडा नं. ३ मा एनआईसी एसीया बैंक र ग्लोवल बैक, वडा नं. ४ मा एनआईसी बैंक र ग्लोवल बैक, वडा नं. ५ मा सानिमा बैंक, वडा नं ६ मा राष्ट्रिय बाणिज्य बैंक, वडा नं ७ मा ग्लोवल बैक, वडा नं ८ मा र कृषि विकास बैंक, वडा नं ९ मा सानीमा बैंक, वडा नं १० मा एनआईसी एसीया बैंक, वडा नं ११ मा सानिमा बैंक सँग खाता खोल्ने सम्झौता भएको हो ।

कसलाई कति भत्ता ?
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले आर्थिक वर्ष २०७६÷०७७ को लागि १० किसिमको सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । विभागले जेष्ठ नागरिक (दलित), जेष्ठ नागरिक (अन्य), जेष्ठ नागरिक (कर्णाली), एकल महिला र विधवाका लागि मासिक २ हजार रुपियाँका दरले भत्ता वितरण गररहेको छ ।

त्यस्तै पूर्ण अशक्त अपांग भएकालाई मासिक ३ हजार, अति अशक्त अपांगलाई मासिक १ हजार छ सय रुपियाँ, लोपोन्मुख आदिवासी जनजातीलाई मासिक ३ हजार बालबालिका (कर्णाली र दलित) लाई मासिक ४ सय र जेष्ठ नागरिक औषधि उपचार (७० वर्ष पुगेका) लाई थप मासिक १ हजार रुपियाँ भत्ता वितरण गर्दै आएको छ ।

भत्ता वितरणको सबै व्यवस्थापन कार्यविधिको दफा २५ को (ग) अनुसार जनप्रतिनीधिहरुले गरेका छन् भने, सोही दफा बमोजिम सुरक्षाकर्मीले आवश्यक सुरक्षा व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख जसी पाण्डेले बताए । खाँडाचक्र नगरपालीकामा करिब ५ हजार ५ सय सामाजिक सुरक्षा भत्ताका सेवाग्राही रहेका छन् ।

तपाईको प्रतिक्रिया