तुलराज पाण्डे
कालिकोट, ३१ बैशाख ।
कालिकोट जिल्ला पलाँता गाउँपालिकामा भएको कुटपिटको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सडक निर्माणको बिषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष र पार्टीका नेताहरुबीच भएको कुटपिटको घटनाको छानबिन गर्नका लागि नेकपाले छानबिन समिति गठन गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका अध्यक्ष धनजीत शाही (आदर्श) र सचिव नगिन्द्र शाही (नेशनल) ले पलाँतामा भएको कुटपिटको घटनाको १५ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पार्टीले छानबिन समिति गठन गरिएको बताए । उनका अनुसार नेकपाका सचिवालय सदस्य तथा पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालको नेतृत्वमा नेकपाका नेता चन्द्रबहादुर शाही र अग्रबहादुर विष्ट सदस्य रहने गरी तीन सदस्य छानबिन समिति गठन गरिएको छ ।
सडकको बिषयमा उत्पन्न बिबादका कारण पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, उनकी पत्नी गोरीकला बमर भतिज गजेन्द्र बमलाई कुटपिट गर्ने नेकपा पलाँता गाउँपालिका अध्यक्ष बिष्णु रोकाया र नेकपा जिल्ला कमिटि सदस्य तथा पलाँता गाउँपालिका–१ का वडा अध्यक्ष मानबहादुर भण्डारीलाई नेकपाले निलम्वन पनि गरेको छ । छानबिनमा सहज होस भनि घटनासँग सम्बन्धित दुवै जनालाई पार्टीको जिम्मेवारीबाट १५ दिनका लागि निलम्वन गरिएको सचिव नगेन्द्र शाही (नेशनल) ले बताए ।
पलाँता गाउँपालिकाका जनप्रतिनिधि र पार्टीका नेताहरुबीच गत शनिबार कुटाकुट भएको थियो । उक्त घटनामा घाइते भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम, उनकी पत्नी गोरीकला बम र भतिज गजेन्द्र बमको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । पलाँता गाउँपालिका अध्यक्षलाई कुटपिट गर्नेहरुको मुद्दा प्रहरी कार्यालयमा दर्ता नभएको भन्दै पीडितले गुनासो गरेका छन् ।
गाउँपालिका अध्यक्ष बमलाई लंकबहादुर बलले नेकपा पार्टीको दबावमा प्रहरीले आफुले दिएको उजुरी नै दर्ता नगरेको बताए । प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै प्रहरी चौकी थिर्पुमा स्थानीय नागरिकहरुले नाराबाजी गरेका छन् । सत्ताको आडमा प्रहरीले पीडितको कुरा नसुनेको उनीहरुको आरोप छ । यता जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी श्यामबाबु ओलीयाले पलाँताको घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउँदै राजनीतिक केस भएकाले मुद्धा दर्ता नभएको बताए । प्रक्रिया पुगेपछि मुद्दा दर्ता हुनेमा कुनै दुईमत नरहेको बताए ।
याे पनि पढ्नुहाेस :
युग संवाददाता । । ३१ बैशाख २०७७, बुधबार १७:३६