कोरोना संक्रमित २१७ जना (जिल्लागत विवरण), पर्सामा सेना परिचालन

सुर्खेत, ३१ बैशाख ।
नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो विवरणअनुसार भक्तपुर, महोत्तरी र सर्लाहीमा पहिलो पटक संक्रमण पुष्टि भएको हो । यसैगरी काठमाडौंमा पनि नयाँ संक्रमित फेला परेका छन् । एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यसअघि काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएपनि उनीहरु निको भइसकेका थिए ।

कुन जिल्लामा कति पुगे संक्रमित ?
मन्त्रालयकाअनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

पर्सामा सेना परिचालन
पर्सामा ६४ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै संक्रमण थप फैलिन नदिनका लागि स्थानीय प्रशासनले कडा कदम चालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको हो ।

पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसी सो निर्णय गरिएको हो । बैठकले मंगलबार साँझ ८ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातिसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको समयमा खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवा सञ्चालन गर्न पाइने छ । तर पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने गर्नुपर्नेछ । यस्तै उपचारबाहेक अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया