पत्रकारपछि एक नर्समा कोरोना संक्रमण पुष्टि

सुर्खेत, ३० बैशाख ।
नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार आज मंगलबार कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कपिलवस्तु नगरपालिकाका हुन् । हालसम्म १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । अनौठो संयोग नै मान्नुपर्छ, आज अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन नेपालमा पहिलो पटक नर्समा पनि कोरोनाको संक्रमण पुष्टि भएको हो ।

केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो । प्रदेश ५ मा मंगलबारमात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार पनि कपिलबस्तु, रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए । योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । प्रदेश ५ मा मंगलबार भेटिएका अधिकांश कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ । प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।

जोखिममा स्वास्थ्यकर्मी
तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । संक्रमण देखिएका ५ वटा स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब जाँच गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् । जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार अहिले जिल्लाभरि ६१४ जना स्वास्थ्यकर्मी कार्यरत छन् । समुदायस्तरमा कोरोना संक्रमण बढेसँगै जिल्लाका १० वटै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी स्वास्थ्यकर्मी परिचालन गरिरहेका छन् ।

स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, संक्रमित ओसार–पसार, बिरामी जाँच र औषधी उपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पीपीई सेट लगायतका स्वास्थ्य सामग्री उप्लब्ध नगराउँदा आफूहरु जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सुरक्षा सामग्रीका लागि स्रोत अभाव हुनुका साथै शंकास्पद व्यक्तिलाई क्वारेन्टाइन नराखी घर पठाएकै कारण कपिलवस्तुमा दोस्रो चरणमा कोरोना प्रवेश गरेको स्थानीयको ठम्याइ छ ।

विभागको टोली कपिलवस्तुमा
पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्टर बनेको कपिलवस्तुमा थप सावधानी अपनाउन र संक्रमितको कन्ट्रयाक टे«सिङ्ग गर्नका लागि टोली मंगलबार कपिलवस्तु आइपुगेको छ । स्वास्थ्य विभागबाट राम नेपालीको संयोजकत्वमा ४ सदस्यीय टोली कपिलवस्तु आइपुगेको हो । टोलीले संक्रमित भेटिएका ५ वटा स्थानमा सूक्ष्म ढंगले कन्ट्रयाक ट्रेसिङ गर्ने र जाँच गर्ने कार्य अघि बढाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया