मृत्युपछि पनि विभेद, दलितको छुट्टै मसानघाट !

जाजरकोट, ३० बैशाख । (रासस)
जीवित हुँदा मात्र होइन, जिल्लाका दलित समुदायमाथि मृत्युपछि पनि विभेद हुने गरेको छ । जाजरकोट र रुकुमपश्चिमका गाउँ–गाउँमा दलित समुदायलाई अन्त्येष्टिका लागि छुट्टै मसानघाट प्रयोग गर्न बाध्य पारिएको छ । दलित र गैरदलितलाई दाहसंस्कार गर्न एकै ठाउँमा नदिएपछि फरक–फरक ठाउँमा विगतदेखि दाहसंस्कार हुँदै आएको जानकारहरु बताउँछन् ।

धामी, झाँक्रीलाई समेत फरक ठाउँमा दाहसंस्कार गरिँदै आएको छ । दलित समुदायको घाट र गैरदलित समुदायको घाट करिब ३०० मिटरको फरक दूरीमा रहेको नलगाड नगरपालिका–८ का कृष्णबहादुर खत्रीले बताए । उनले भने, ‘बाबुबाजेको पालादेखि चलाएको चलन भएकै कारण अहिले सो कुरा तोड्न नसकिने भएको छ । फेरि सबैले एकै ठाउँमा जलाएर के पाउने, के गुमाउनु छ र ? अघिदेखि चलेको चलनअनुसार चले ठिकै छ नि ।’

यहाँका स्थानीयवासी खोलेखेतस्थित भेरी नदीको किनारमा दाहसंस्कार गर्छन् । त्यस्तै बारेकोट गाउँपालिकामा पनि दाहसंस्कार गर्ने ठाउँसमेत फरक रहेको छ । दलित समुदायको घाट अलग रहेको र गैरदलित समुदायको दाहसंस्कार गर्ने ठाउँ अलग रहेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । ‘गाउँगाउँको फरक–फरक ठाउँमा दाहसंस्कार गर्नका लागि ठाउँ बनाएका हुन्छन,’ उनले भने ।

विगतदेखि नै फरक ठाउँमा मानिसको मृत्युपछि जलाउने ठाउँ पनि फरक रहँदै आएको छ । उनले भने, ‘दलित समुदायको फरक र गैरदलित समुदायको मृत शरीर जलाउने ठाउँ अलगै छ ।’ जिल्लाका अन्य ठाउँमा समेत गैरदलित र दलित समुदायको घाट अलग रहँदै आएको छ । सबैको एकै ठाउँमा घाट हुँदा अनिष्ट हुने र हेला गरेको अर्थ लाग्ने भन्दै फरक ठाउँमा गरिएको बूढापाका बताउँछन् ।

पहिले नै पुर्खाले घाट रोज्दा यसरी नै रोजेर काम गर्दै आएका कारण हामीले समेत सोही कुरालाई निरन्तरता दिएको नलगाड नगरपालिका–८ का हर्कबहादुर खत्रीले जानकारी दिए । सदरमुकाम खलङ्गाको शिवालय भने सबै जातिको एकै ठाउँमा दाहसंस्कार गर्दै आएको स्थानीयवासी सहदेव बस्नेतले बताए । उनले भने, ‘जिल्लाभरिका अधिकांश शवहरु यही शिवालय क्षेत्रमा जलाउने भएकाले खास जातिगत घाट भन्ने छैन ।’


जिल्ला अस्पतालमा मृत्यु भएकादेखि कुनै पनि प्रकोपबाट मृत्यु भएका सबैको यही जलाउने गरिन्छ । परम्पराका रूपमा स्थापित भएको अलग ठाउँमा शव जलाउने चलन जाजरकोटमा धार्मिकरूपमा समेत हेर्ने गरिएको छ । गैरदलित समुदायका मानिसको मृत्यु हुँदा दलित समुदायका मानिस, फलामका भाँडा बनाउने मानिस शव जलाउने काठ सङ्कलनको जिम्मा लिने गरेका छन् ।

शव घरबाट उठाएर जलाउने (घाट) ठाउँसम्म जाँदा दमाहहरुलाई उल्टो बाजा बजाउने चलनसमेत स्थापित छ । गैरदलित समुदायको कपडा सिलाइ (खलोप्रथा) बाली पाकेपछि अन्न लिने दमाइ जातिका मानिसले मृत शवसँग मलामी जानुका साथै दमाह लिएर उल्टो बाजा बजाएर सोवापतको केही पैसा लिने गरेका छन् । दमाह नबजाए शवलाई दाहसंस्कार गर्ने ठाउँसम्म लान नमिल्ने धार्मिक विश्वास रहेको छ ।

त्यस्तै मृतकका आफन्तले शवसँग हालेको बाड (लामो कपडा) समेत बाँडेर लिने गरेको दमाइ जातिका मानिस बताउँछन् । सो कपडा मृतकको घरका आफन्तको आर्थिकरूपमा सवल हुनेले बढी प्रयोग गर्छन् भने आर्थिकरूपमा कमजोर हुनेले कम हाल्ने गर्छन् । धनीले ३०० मिटर जति लामो कपडा प्रयोग गर्छन् भने गरिबले आफ्नो क्षमताअनुसार प्रयोग गर्दै आएका छन् । दलित समुदायका व्यक्तिहरु मृत्यु हुँदा गैरदलित समुदायका व्यक्ति काठ सङ्कलन गर्न जाँदैनन् ।

गैरदलित समुदायको दाहसंस्कारमा ब्राह्मण गएर मन्त्र जम्ने गर्छन् भने दलित समुदायको मृत्यु संस्कारमा दिदीबहिनी र छोरीको भरमा गरिँदै आइएको दलित अगुवाको गुनासो छ । समाजमा अझै पनि दलितमाथि ठूलो विभेद कायम छ भन्ने कुराको योभन्दा अर्को उदाहरण हुन नसक्ने दावी दलित अगुवाको छ । ‘दलित र गैरदलितका रूपमा विभेद गर्नु कानूनी रूपमा दण्डनीय भए पनि सामाजिक रूपमा भने यस्तो विभेद अझै कायम छ,’ उनीहरु भन्छन् । सरकारले कडाइका साथ कानून कार्यान्वयन नगरेकाले अहिलेसम्म विभेद कायमै छ । जातीय विभेद अन्त्यका लागि जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनबारे सरकारले व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने उनीहरुको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार