जिशिअले पार्टीको सदस्यता मागेपछि…

निर्मला रेग्मी जिल्ला निर्वाचन कार्यालय सुर्खेतका जिल्ला निर्वाचन अधिकारी हुन् । २०३४ साल कार्तिक २७ गते लेकबेशी नगरपालिका–४ दशरथपुरमा उनको जन्म भएको हो । उनी बुवा यज्ञ र विमला रेग्मीकी दोस्रो सन्तान हुन । एनजीओ/आइएनजीओ, शिक्षक हुँदै निजामति सेवामा प्रवेश गरेकी रेग्मीले जीवनका भोगाइको अनुभवहरु यसरी साटिन् ।

ढोका थुनेर अध्ययन गर्थे
बुवा शिक्षक पेशामा हुनुहुन्छ । बुवाकै कारण छोरीले पनि पढ्नुपर्छ भन्ने मान्यता थियो । २०४० सालबाट गाउँकै जीवनज्योति माविमा औपचारिक शिक्षा सुरु गरेँ । ऊबेला जीवनज्योति विद्यालय शैक्षिक हव (केन्द्र का रुपमा चिनिन्थ्यो । तर छात्राको संख्या निकै न्यून थियो । एकसय ३०÷३२ जना विद्यार्थी मध्ये मुस्किलले २०/२५ जना केटी साथीहरु हुन्थ्यौँ । २०५० सालमा एसएलसी उत्तीर्ण भएपछि सुर्खेत क्याम्पस (शिक्षा) बाट उच्च शिक्षा अध्ययनको प्रारम्भ गरेँ ।

इन्टर, ब्याचलर हुँदै मास्टरसम्म सुर्खेत क्याम्पस शिक्षाबाटै पुरा गरँे । तर इन्टरपछि ब्याचलर र मास्टर आफँै पढाइ खर्च जुटाउँदै अध्ययन पुरा गरेँ । अध्ययनको शिलशिलामा अहिले पनि असफल हुनु परेको छैन । कानूनी ज्ञानका लागि एलएलसीसमेत अध्ययन गरेको छु । जागिर खाएपछि अध्ययन गर्ने फुर्सद नभएका कारण परीक्षाको समयमा ढोका थुनेर अध्ययन गर्थँे । शिक्षक हुँदा बाटोमा हिड्दा हिड्दै संविधान र कानूनका पानाहरु कन्ठ गर्थेँ । अध्ययनकै कारण जीवनमा असफलताको अनुभव गरेकी छैन ।

अछाममा माओवादी आक्रमण भएपछि एनजीओको जागिर छोडे
२०५४ सालमा इन्टरसकेपछि विहे गरे । विहेपछि पढाइ खर्च आफै जुटाउनुपर्ने अवस्था आयो । पढाई खर्च जुटाउन केही समय बोर्डिङ स्कूल पढाउँदै पढ्दै गर्न थाले । विज्ञापनहरु गर्न दैनिक पत्रपत्रिका पढ्थेँ । बोर्डिङ पढाउँदै गर्दा नगरपालिका अन्तर्गत काम गर्ने गरी यूएनडीपीको रुड कार्यक्रममा काम गरेँ । त्यहीबीचमा थप सेवा सुविधाका लागि यूकेको सेभ द चिल्ड्रेनमा काम गर्न अछाम पुगेँ । तर पढाइ रोकिन । उबेला कर्णाली राजामार्गबाट अछाम जाने बाटो खुलेको थिएन । कोहलपुर– अत्तरिया–डोटी हुँदै अछाम पुग्नु पथ्र्याे । सुर्खेतबाट अछाम जान दुई दिन लाग्थ्यो । बसमा करिव पाँचसय रुपैयाँ गाडी भाडा लाग्थ्यो । तर जहाजमा अछाम पुग्न सहज थियो ।

जहाजमा नेपालगञ्जदेखि अछाम पुग्न साढे सातसय भाडा लाग्थ्यो । जसले गर्दा प्रायः जहाजमै यात्रा गर्थे । संकटकालको समय भएका कारण गाउँगाउँ पुग्न समस्या थियो । डरत्रासकाबीच पढाई खर्च जुटाउन जागिर गर्नुको विकल्प थिएन । तर २०५८ साल फागुन ४ गते राति तत्कालीन माओवादीले जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा एकै पटक आक्रमण ग¥यो ।  साँफे र मंगलसेनका सबै संरचना ध्वस्त हुनेगरी ऐतिहासिक बजार खरानी भयो । अछाम र साँफेमा गरी कुल एकसय ४९ जनाले ज्यान गुमाए । संयोगले त्यो घटना हुनुभन्दा केही दिनअघि सुत्केरी बिदाका लागि सुर्खेत आइपुगेकी थिएँ । त्यो घटनापछि भने अछाम जाने आँट आएन । राजीनामा लेखेर एनजीओको जागिर छोडे ।

परीक्षा दिएको आठ वर्षपछि रिजल्ट आयो
अछाम आक्रमणपछि जागिर छोड्नु पर्ने बाध्यता आयो । त्यसबीचमा सुर्खेतमै केयर नेपालमा काम गरेँ । २०५२ सालमा शिक्षक सेवा आयोग खुलेको थियो । एकै साथ बालबच्चा हुर्काउने, जागिर गर्ने र अध्ययन पुरा गर्नुपर्ने बाध्यता थियो । तर पनि शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भएँ । परीक्षा दिएको झण्डै आठ वर्षपछि अर्थात २०६० मा नतिजा आयो । के पास भईएला भनेर महिलामा लगाइन खुल्लामा मात्रै फर्म भरेकी थिएँ । एकसय २१ सिटमध्ये संयोगले मैले तीन नम्बरमा शिक्षक सेवा आयोगमा उत्तीर्ण भएँ ।


जिशिअले पार्टीको सदस्यता मागेपछि…..
लामो समय एनजीओमा काम गरेकी थिएँ । शिक्षकको चार महिनाको तलव र एनजीओको एक महिनाको तलव बराबरी हुन्थ्यो । तर पनि स्थायी भएका कारण प्राविको शिक्षक बन्न राजी भएँ । २०६० सालमा प्रावि तहको शिक्षक भएर नेराप्रावि साटाखानीमा अध्यापन गर्न पुगेँ । तर २०६२ सालमा स्वास्थ्य अवस्था प्रतिकुल भएन । डाक्टरले करिव दुई महिना आराम गर्न सल्लाह दिए । उपचारपछि गाउँ जाने अवस्था नभएपछि दुई महिना जिल्ला शिक्षा कार्यालयमै काज मागे । स्वास्थ्य अवस्था र अप्रेशनको विषय जिल्ला शिक्षा अधिकारीलाई सुनाएँ ।
तत्कालिन जिल्ला शिक्षा अधिकारीले तपाइँ कुन पार्टीको हो भनेर प्रश्न गरेँ । काजमा खटाउनका लागि संगठनको सिफारिस मागे । मैले कुनै संगठनको सदस्यता लिएकी छैन भने । जिशिअले कुनै पार्टी, शिक्षक संगठनको सदस्यता विना काम नगर्ने अडान लिए । कुनै पार्टीको सदस्यता नभएका कारण फलानोलाई शिक्षकबाट अवकास गरिएको भनेर पत्र मागे । तर पनि काम भएन । अनि निवेदन च्यातेर गेटमा आएको थिए । त्यही बेला एक जना शिक्षक संगठनको अध्यक्षले म तपाइँको काम गरिदिन्छु मेरो संगठनमा आउँ भने । त्यही दिनदेखि मैले लोकसेवा आयोगको तयारी थाले । स्कूल जाँदा आउँदा संविधानका धाराहरु कन्ठ गर्न थालेँ । त्यही घटनाबाट मेरो निजामतिको यात्रा सुरु भएको हो ।

घुस र होटलमा गएर दारुपानी नखानेभएपछि…
करिव साढे चार वर्ष शिक्षक सेवाको जागिरपछि २०६५ सालमा निजामति सेवामा प्रवेश गरँेँ । शिक्षा प्रास पदमा जिल्ला शिक्षा कार्यालयबाट निजामति सेवाको जागिर सुरु भयो । करिव ६ वर्ष सल्यानमा बस्दा विद्यालय प्रशासनको जिम्मेवारी पुरा गरेँ । विद्यालय प्रशासन भनेको जिल्ला शिक्षाको सबैभन्दा संवेदनशिल क्षेत्र पर्छ । त्यो पदमा बस्ने कर्मचारीलाई विभिन्न राजनीतिक दलका संघ/संगठनले विभिन्न बहानामा घुस खुवाउने, होटलमा लिएर खानपिन गर्ने र आफ्ना मान्छेहरुलाई सहज ठाउँमा काम गर्ने गराउने गर्दा रहेछन् । तर मैले राजनीतिक दलबाट पीडा भोगेको कारण रद्दि काम नगर्ने अडान लिएँ । राजनीतिक दल र शिक्षक संगठनलाई फाइल बोकेर नआउन सुझाव दिए । मेरो यस्तो व्यवहार देखेर मैले तेरो काम गर्दिए भनेर जस लिने मान्छेहरुलाई ठूलो समस्या भयो ।

त्यही कारण उहाँहरुले जिल्ला शिक्षा अधिकारीसँग मेरो फाँट परिवर्तन गरिदिन बारम्बार दवाव दिन्थे । तर नयाँ आउने जिसिअले पहिलेको जिसिअसँग कुन कर्मचारीलाई कुन जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर बुझेर आएका हुने रहेछन् । किनकी विद्यालय प्रशासन फाँट भनेकै जिल्ला शिक्षा कार्यालयको मुटु मानिन्थ्यो । त्यो फाँटमा बस्ने कर्मचारीले राम्रोसँग काम गर्न जानेन भने जिसिअ फस्ने हुनाले कुनै पनि जिसिअले मेरो फाँट फरिर्वत गर्न सकेनन् । बरु इमान्दार पूर्वक जिम्मेवारी पुरा गरेका कारण राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरँे ।

बुढापाकाको आर्शिवादले अधिकृत पास भएँ
सल्यानमा हुँदा मैले इमान्दार पूर्वक काम मात्रै गरिन । उमेर र कुन ठाउँबाट आएको हो भनेर काम गर्थेँ । जिल्लाको सिमाना (टाढा)बाट आएका व्यक्तिहरुको काम पहिले गर्थेँ । यही कारण सोझा र इमान्दार व्यक्तिको सहजै काम हुन्थ्यो । जसका कारण बुढापाका शिक्षकहरुले अहिले पनि सम्झनु हुन्छ । सायद उहाँहरुकै आर्शिवादले मैले अधिकृत पास गरे जस्तो लाग्छ । स्वअध्ययन गरेरै २०७० मा अधिकृत पदमा सफल भएँ । त्यसपछि करिव चार वर्षमा क्षेत्रिय हुलाकमा काम गरेँ । त्यही समय तालिमको लागि हुलाक सेवा विभागले थाइल्यान्ड पठायो । ट्याकिङ सिस्टम अर्थात हुलाकबाट पठाएको चिठ्ठी कुन ठाउँमा पुगेको छ भन्ने पत्ता लगाउने प्रविधिको तालिम लिने अवसर मिल्यो ।

अनि सांसदले धन्यवाद दिए…
कर्मचारी समायोजनापछि प्रदेश प्रमुखको कार्यालयमा सरुवा भएँ । त्यहाँ प्रदेश प्रमुखको कार्यालय स्थापना गर्ने जिम्मेवारी थियो । त्यो बेला क्षेत्रीय वन तालिम केन्द्र र क्षेत्रीय वन कार्यालय चलिरहेकै अवस्थामा थिए । चार जना कर्मचारी थियौँ तर बस्ने कुर्चिसमेत थिएन ।
कार्यालयको अवस्था हेरेर आएका दुई जना उपसचिव पनि फर्किए । १५ दिनपछि अवकाश हुने सचिवलाई प्रदेश प्रमुखको कार्यालयमा खटायो । उहाँ पनि मलाई निमित्त दिएर घर जानुभयो । त्यतिबेलासम्म सभामुख, मुख्यमन्त्री र मन्त्रीको सपथ कार्यक्रम तयार पार्ने जिम्मेवारी मेरो काँधमा आइपुग्यो । त्यो समय सपथ ग्रहणको नीति नियम, नियमावली, यो, यो गर्नु भनेर कुनै खाकासमेत कसैले उपलब्ध गराएनन् ।

मभन्दा अगाडिको कर्मचारी नै नभएपछि युट्वमा भिडियो हेरेर सभामुख, मुख्यमन्त्री, मन्त्री र मुख्यन्यायाधिवत्तासम्मको सपथ ग्रहणको मोडालिटी तयार पारेँ । मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा स्वयम मुख्यमन्त्रीले कार्यक्रम बिग्रीन्छ क्यारे भन्ने सांसद धर्मराज रेग्मीलाई सुनाउनु भएको रहेछ । त्यतिबेला उहाँले ढुक्क हुनोस् रेग्मीको छोरी हो केही पनि मिस्टेक हुँदैन भन्नु भएको रहेछ । कतिपयलाई महिलाले कार्यक्रम सञ्चालन गर्न सक्दैन भन्ने लागेको रहेछ । कतिले बोल्दाबोल्दै बिगार्छे भन्ने ठानेका रहेछन् । तर कही गल्ती नभएर सानदार रुपमा मुख्यमन्त्रीको सपथ ग्रहण सकियो । त्यही दिनसाँझ तिमीलाई धन्यवाद । मेरो र रेग्मी परिवारको इज्जत बचायो भनेर सांसद धर्मराज रेग्मीको फोन आयो । मैले किन भनेर सोध्दा त मुख्यमन्त्रीसँग यस्तो कुरा गरेको थिएँ उहाँले सुनाउनु भयो । प्रदेश प्रमुखको कार्यालयपछि हाल जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा निर्वाचन अधिकृतको रुपमा कार्यरत छु । आजसम्म जीवनमा पछुताउनु परेको छैन । तर निजामति सेवामा प्रवशे गर्दा जीवनमा सबैभन्दा धेरै खुशी भएकी थिएँ ।  (२०७७ बैशाख २८ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित साताको राष्ट्रसेवक स्तम्भ)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार