सम्पादकीय : खेलाँची नगर

आजको दिनसम्म कोरोना निको पार्ने खोप पत्ता लागेको छैन । यद्यपी विश्व यतिबेला यसैको खोप पत्ता लगाउन कसरत गरिरहेको छ । चीनबाट सुरु भएर हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको त्रास नेपालमा पनि छ । नेपालमा यसको संक्रमण दिन प्रतिदिन बढ्दो छ । खोप पत्ता लागि नसकेका कारण पनि कोरोनाको महामारी कहिले नियन्त्रण हुन्छ भन्न सकिने अवस्था छैन । अहिलेलाई एउटा मात्र विकल्प भनेको व्यक्ति स्वयम्ले अपनाउन सामाजिक दुरी र सावधानी नै हो । यही कारणले नेपालमा पनि हाल लकडाउन जारी छ । तर लकडाउन सुरु भएको करिव दुई महिना पुग्दैछ । यसकारण पनि सरकारले अब लकडाउनलाई केही खुकुलो बनाउने चाहेको देखिन्छ । साथै जुन मात्रामा नमूना परीक्षण हुनुपर्ने हो, त्यो संख्यामा परीक्षण नै भइरहेको छैन । अझ कर्णालीमा यसको अवस्था दयनीय छ ।

बाहिरबाट भित्रिएका मानिसहरुको मध्ये केवल १० प्रतिशतको मात्र नमूना परीक्षण भएको छ । अर्कोतर्फ यहाँका क्वारेन्टाइनको व्यवस्थापन पनि गतिलो छैन । चाहे अनुसार परीक्षण नहुनु दुखद हो । परीक्षण सुस्त भएकै कारण कर्णालीमा कोरोनोको वास्तविक अवस्था पत्ता लाग्न सकेको छैन । अझ यहाँ संक्रमित मुलुक भारतबाट ठूलो संख्यामा मानिसहरु रोजगारी गरेर फिर्ता भएका छन् । उनीहरुको कुनै परीक्षण नै गरिएको छैन । भौगोलिक विकटताका कारण ति व्यक्तिहरु स्वास्थ्य संस्थाको सम्पर्कमा आइसकेका छैनन् । अर्कोतर्फ स्थानीय तह र स्वास्थ्यकर्मीको पहँुचमा समेत उनीहरु छैनन् । केही मात्रामा आरडीटी परीक्षण गरेर औपचारिकता मात्र पूरा गरिएको छ । तर त्यसको विश्वसनियतामा अहिले पनि आंशकाहरु छन् । प्रदेशभित्रै पीसीआर मेसिन उपलब्ध भए पनि सबैको पीसीआर परीक्षण हुन सकेको छैन । परीक्षणमा गम्भिर नभएर सरकारी निकायबाटै खेलाँची भइरहेको छ ।

अर्कोतर्फ लकडाउनको अवधिमा कर्णालीमा विभिन्न जिल्लाबाट करिब ५० हजार मान्छे भित्रिएका छन् । तर तिनको न परीक्षण भएको छ, न त उनीहरुलाई मापदण्ड अनुसार क्वारेन्टाइनमा नै राखिएको छ । वास्तवमा स्थानीय र प्रदेश सरकारको भूमिका प्रभावकारी देखिन सकेको छैन । क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय तहले चरम लापरबाही नै गरिरहेका छन् । मापदण्ड अनुसार उनीहरुलाई कम्तिमा पनि १४ दिनसम्म क्वारेन्टाइनमा राखेर नमूना परीक्षण गर्नुपर्ने हो । नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र क्वारेन्टाइनबाट घर पठाउनु पर्ने हुन्छ । तर अधिकांश स्थानीय तहले भात खुवाएर १४ दिनसम्म क्वारेन्टाइनमा सुताए पनि नमूना परीक्षण नै नगरी घर पठाउने काम गरीरहेका छन् । यसले संक्रमणलाई रोकथाम गर्नेभन्दा पनि जोखिम र आशंका बढाउने काम गरिरहेको छ । यसकारण विश्वलाई नै आक्रान्त पारिरहेको यो महामारीलाई खेलाँचीको रुपमा नलिऔं । परीक्षणलाई तीव्र रुपमा बढाऔं । क्वारेन्टाइनलाई थप व्यवस्थित बनाऔं । कोरोना विरुद्धको लडाइँलाई अझ प्रभावकारी बनाऔं । (२०७७ बैशाख ३० गते मंगलबार प्रकाशित)

तपाईको प्रतिक्रिया