सुर्खेत, २९ बैशाख ।
२०७७ जेठ ५ गतेसम्म संघ सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनकै क्रममा संघले विभिन्न ४२ प्रकारका उद्योगहरुमा खुकुलो बनाएको छ तर कर्णाली प्रदेशले छुट्टै सिल घोषणा गरेको थियाे । सिल घोषणा गरेको कर्णाली सरकारले केही खुकुलो बनाउने निर्णय गरेको छ ।
कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार साँझ सम्पन्न बैठकले केही खुकुलाे बनाउने गरी निर्णय पारित गरेको छ । कर्णाली प्रदेश प्रवेश सिमा नाकाहरुबाट सवारी आवत जावतमा कडाई यथावत राख्ने, भारत र नेपालका बिभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्नका लागि नाकामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न लगाउने, भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरुले क्वारेन्टाइन निर्माण गर्ने, बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गर्ने, कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु (बीउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने निर्णय भएको छ ।
त्यसैगरी सुरक्षा सतर्कता र भौतिक दुरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकहरुलाई बालि स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने, महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक सामग्री (पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरु ढुवानी र ओसारपसार गर्न पाउने, सुरक्षा सतर्कता अपनाउदै परियोजनाहरुमा काम गर्ने जन शक्ति आवत जावतको व्यवस्था गर्ने, चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्वावश्यक खाद्य सामग्री आयात गर्ने, ग्याँस र डिजेल पेट्रोलजस्ता पेट्रोलियम पदार्थ आयात गर्ने, औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।
युग संवाददाता । । २९ बैशाख २०७७, सोमबार २०:५८