लकडाउनमा काठ तस्करीको सक्रियता बढ्यो

सुर्खेत, २८ बैशाख । (नागरिक न्यूटबाट)
बराहताल गाउँपालिका–१० लेखगाउँको सृजना सामुदायिक वनबाट डिभिजन वन कार्यालय सुर्खेतले शुक्रबार राति सालका दुई सय क्युफिट चिरान काठ बरामद ग¥यो । काठ तस्करहरुले सामुदायिक वनभित्रको सिमलचौर खोला नजिकै अस्थायी सःमिलसमेत सञ्चालन गरेको पाइयो । डिभिजन वन कार्यालयको टोलीले रुख काट्न र चिर्न प्रयोग हुने औजार बरामद गरेपनि तस्करहरु भने पक्राउ गर्न सकेन् ।

‘एकान्त ठाउँ भएकाले हामीले ढिलो गरी सुचना पायौं,’ डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द दाहालले भने, ‘रुख काट्न र चिर्न प्रयोग हुने औजारहरु बरामद भएपनि हाम्रो टोली पुग्दा तस्करहरु भागिसकेका थिए ।’ दाहालका अनुसार घटनाको प्रकृति हेर्दा दिउँसो रुख काट्ने र राति चिरान गरेर तस्करी गर्ने गरेको देखिन्छ ।

वन कार्यालयको प्रारम्भीक अनुसन्धानका क्रममा सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा रुखहरु काटिएको देखिन्छ । ‘समुहका पदाधिकारीकै संलग्नता रुखहरु काटिएको देखिन्छ,’ उनले भने, ‘पक्राउ नगरेपनि समुहका अध्यक्ष तिलक लामिछानेसहित सबैलाई तारेखमा राखेका छौं ।’ उनले बन्दाबन्दी (लकडाउन) खुकुलो भएपछि विस्तृत अनुसन्धान गरेर संलग्नहरुलाई कारबाही गरिने बताए ।

एक साताअघि वन कार्यालयले बराहताल–२ रानीघाटबाट ४० क्युफिट सालको चिरान काठ र केही गोलियासहित पाँच जनालाई पक्राउ ग¥यो । अनुसन्धानका क्रममा काठ तस्करीमा यहाँ पनि सामुदायिक वनका पदाधिकारीको संलग्नता देखियो । ‘वन संरक्षणको जिम्मा पाएकाहरुनै तस्कारीमा संलग्न देखिएका छन,’ उनले भने, ‘अनुसन्धान हुँदैछ, संलग्न देखिएकाहरुलाई पक्राउ गरेरै कारवाही गछौं ।’ वन कार्यालयका अनुसार पक्राउ परेका मध्ये एक जना मानपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र पुरीका छोरा हुन् ।

कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दी (लकडाउन) को मौका छोपेर सुर्खेतमा काठ तस्करीका घटना बढेका छन् । पछिल्लो एक महिनाको अवधिमा विभिन्न ठाउँबाट साढे चार सय क्युफिट भन्दाबढी सालका चिरान काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ । ‘लकडाउनको मौका छोपेर काठ तस्करहरु वन पसेको सुचना हामीलाई प्राप्त भएको छ,’ डिभिजन वन कार्यालयका प्रमुख दाहालले भने, ‘हामीले पनि गस्ती र पेट्रोलिङ बढाएका छौं।’

दुई साताअघि पनि वन कार्यालयले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ को लेखपराजुलबाट एक सय क्युफिट काठ बरामद र्गयोे। राष्ट्रिय वन क्षेत्रबाट काटेर स्थानीय एक व्यक्तिको घरमा लुकाइएको उक्त काठ बरामद भएपनि घरधनी फरार छन् । ‘अनुसन्धान अधिकृत तोकेर कति मात्रामा राष्ट्रिय वन क्षेत्रमा कति मात्रामा काठ काटिएको हो भन्ने यकिन गर्दैछौं,’ सहायक वन अधिकृत टेकबहादुर रावलले भने, ‘तस्करीमा संलग्न मुख्य व्यक्ति फरार छन् ।’

वीरेन्द्रनगर नजिकका वन क्षेत्रमा तस्करीका घटना बढेको पाइएको बताउँदै उनले गस्ती बढाइएको बताए । ‘उपत्यका नजिकका देउतीबज्यै सामुदायिक वन, अम्बिका, भैरम सामुदायिक वन र उत्तरी जलाधार क्षेत्रमा तस्करीका घटना बढेको पाइएको छ,’ उनले भने, ‘यो क्षेत्रहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसँग समन्वय गरेर गस्ती बढाएका छौं ।’

तपाईको प्रतिक्रिया