सडक खन्ने विवादमा झडप प्रहरीसहित तीन जना घाइते

अमर सुनार
दैलेख (चामुण्डा), २९ बैशाख ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सातटाकुरामा सडक खन्ने क्रममा शनिवार साँझ भएको विवादले झडप भएपछि एक प्रहरी सहित तीन जना घाइते भएका छन् । धनपायाबाट आधिघर हुँदै सातटाकुरा लिन भनिए अनुसार नलिएको भन्ने विषयमा विवादले झडप भएको हो ।

झडपमा २५ वर्षीय प्रहरी जवान भीमबहादुर सुनार, चामुण्डा नगरपालिका–४ सातटाकुराका २८ वर्षीय कमल शाही र ५५ वर्षीय रमेश शाही घाइते हुनुभएको प्रहरीले जनाएको छ । विवाद भएको ठाउँमा पुगेको प्रहरी टोली माथि आक्रमण भएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि मात्र भीड तिरबितर भएको बताइएको छ ।

प्रहरी माथि नै ४०–४५ जना आइलागेपछि इलाका प्रहरी कार्यालय दुल्लूबाट त्यहाँका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोराको नेतृत्वमा गएको थप बलले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरी हवल्दार चन्द्रबहादुर रेउलेको कमाण्डमा रहेको प्रहरी चौकी जम्वुकाँधमा रातिदेखि असई प्रेमप्रसाद शर्मालाई खटाइएको छ ।

घाइते मध्ये कमल शाहीको उपचार दैलेख जिल्ला अस्पतालमा भइरहेको, रमेश शाही र प्रहरी जवान सुनारको उपचार दुल्लू अस्पतालमा भइरहेको छ । कर्णाली प्रदेश सरकारको २५ लाख र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ५ लाखमा धनपायाबाट सातटाकुरा–नाव सालडाँडा हुदै जंगलसम्म १३ किलोमीटर सडक खन्न रमेश शाहीको अध्यक्षतामा गठित उपभोक्ता समितिको सट्टा अर्को उपभोक्ता समिति पनि नगरपालिकामा दर्ता गराउन ल्याएको विषयमा विवाद सुरु भएको थियो ।

उपभोक्ता समितिको विवाद चर्चाउन जग्गाधनी कमल शाहीलाई जग्गा नदिन खोजेका तर उहाँलाई समेत सहमत गराएर सडक खन्न डोजर लगाइरहेको बेला उछृंखल व्यक्तिहरुले विवाद निकालेपछि प्रहरी आफू बोलाएको बेला प्रहरी माथि आक्रमण भएको नगरपालिका उपप्रमुख तारा शाही खत्रीले बताउनुभयो ।

सुरक्षाका लागि गएको प्रहरी माथि नै आक्रमण भएको कारण घटनाको अध्ययन र मुद्दा प्रक्रियाका लागि आफू परामर्शमा जुटेको दैलेख प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । नगरपालिकाको माग अनुसार सामाजिक दूरी कायम राखी काम सञ्चालन गर्न अनुमति दिइएको पनि प्रमुख जिल्ला अधिकारी कटेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया