कर्णालीमा सात हजारको स्वाव एकै पटक संकलन गरिँदै

नेत्र शाही
जुम्ला, २८ बैशाख ।
कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम अभियान अन्तरगत खोजेर जाँच्ने कामलाई तिब्रता दिएको छ । सरकारले पछिल्लो समयमा बाहिरबाट आएकाबाट जोखिम बढ्न सक्ने भन्दै स्वाव संकलनलाई तिब्रता दिने बिषयमा प्राथमिकता दिने भएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल सहितको टोली जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशनसहित जिल्ला जिल्लामा खटाउने काम शुरु गरेको छ ।

कर्णाली प्रतिष्ठानले जुम्लामा आयोजना गरेको अन्तरक्रियामा जुम्ला पुग्नु भएका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न उत्प्रेणा दिँदै सरकारको तयारीका बिषयमा जानकारी गर्नुभएको हो ।

उहाँका अनुसार कर्णालीका सात सय १८ वडाका दश दश जनालाई नमूनाका रुपमा जाँच गर्ने अभियानका साथ अभियान तिब्र पारिएको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई पहिला आफु सुरक्षित भएर मात्रै काम गर्नुहोस, साहसका साथ काम गर्नुहोस प्रदेश सरकारले कुनै बेला तपाईहरुको बहादुरीको कदर गर्ने प्रतिवद्धता गरेपछि स्वास्थ्यकर्मीले तालिले स्वागत गरेका छन् ।

उहाँले रु ७५ लाख रुपैया कर्णाली प्रतिष्ठानलाई थपिएको जानकारी दिनुभयो । यस अघि एक करोड रुपैयाँ प्रदेश सरकारले प्रतिष्ठानलाई उपलब्ध गरिसकेको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशका २७ स्थानमा चिकित्सकसहितको टोली खटाएर स्वाब संकलन गर्ने र साविक कर्णालीको कर्णाली प्रतिष्ठानमा र अन्य जिल्लाको प्रदेश र चौरजहारी सामुदायिक अस्पतालमा जाँच गरिने जानकारी दिनुभयो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले सरकारले दिएको जिम्मेवारी अहिले संकटको वेला प्रतिष्ठानले डटेर गरिरहेको, डाक्टर र एमडिजिपी पढाई भएमा कर्णाली मात्रै नभई मुलुकलाईनै सेवा दिने जनशक्ति प्रतिष्ठानले दिन सक्ने बताउनुभयो । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले हालसम्म प्रतिष्ठानले कोभिड–१९ (कोरोनाभाईरस) रोकथामका लागि गरिरहेका कामको बिषयमा जानकारी गर्नुभएको थियो ।

प्रतिष्ठानले खटायो चिकित्सक :

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक टोली सहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ । हुम्लामा आजै ८ जना हुम्लाको सर्केघाट, ताजाकोट, अदानचुलीमा ८ जनाको टोली हेलिकोप्टरमार्फत पठाएको छ । यसैगरी जुम्लाका सवै स्थानीय तहमा डाक्टरसहितको टोली खटाउनुका साथै मुगुमा पनि हेलिकोप्टरमार्फत टोली खटाएको छ ।

जुम्लाबाट चिकित्सकको टोली सँगै सामाजिक विकास मन्त्री दल रावल हुम्ला पुग्नु भएको छ ।  यसैगरी मुख्यमन्त्री शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिसिआर प्रयोगशाला, आईसियू कक्ष र आईसोलेसन वेडहरु सहित पूर्वाधारको अनुगमन पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया