डोल्पाका ११ जनाको स्वाब संकलन गरेर हेलिकप्टरमा सुर्खेत ल्याइयो

डोल्पा, २७ बैशाख .
डोल्पाबाट शंकास्पद ११ जनाको स्वाब हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षिय पुरुष लगायत उनिसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत ल्याइएको हो ।

दुनै,जुफाल र पहाडाका ११ जना व्यक्तिको स्वाब संकलन गरेर सोही हेलिकप्टरमा ल्याइएको कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री नन्द सिँह बुढाले जानकारी दिनुभयो। सबैको स्वाब सुर्खेतमा परिक्षण गरेपछि मात्र कोरोना भए नभएको पुष्टि हुने मन्त्री बुढाको भनाइ छ ।

स्वाब संकलन गरेर ल्याइएका सबै जिल्ला बाहिरबाट आएका सर्वसाधारण हुन् । शुक्रबार १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थकर्मीले दु्रत परिक्षण(आर.डि.टी) गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार साँझनै पुनःशंकास्पद व्यक्तिको आर.डि.टी परिक्षणका लागि जिल्ला अस्पतालबाट डाक्टरको टोली खटाएर परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।

आर.डि.टी रिपोर्टबाट स्वास्थ्यकर्मीनै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थकर्मी झिकाएर पि.सि.आर परिक्षणका लागि पठाइएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । शंकास्पद व्यक्ति पछिल्लो समय कोराना संक्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केहि महिना बसेर डोल्पा आएका हुन ।

तपाईको प्रतिक्रिया