नवजात शिशुको पालनपोषणमा समस्या

 

दैलेख – भैरवी गाउँपालिका–४ डाँडीमाडीमा मानसिक सन्तुलन गुमाएकी ४६ वर्षीया एक दलित महिलाले जन्माएको नवजात शिशु (शिशु)को पालनपोषण र रेखदेखमा समस्या देखिएको छ । महिलालाई कसले गर्भधारण गराएको हो ? भन्ने खुल्न नसकेको वडाध्यक्ष बीरेन्द्र शाहीले बताउनुभयो ।
महिलाले बुधवार राति बालेकाँडाको नाउलाकुवा गोरेटो बाटोको एक छेउमा शिशुको जन्म दिए लगतै वेवारिसे छोडेर उनी हिंडेको स्थानीयले बताएका छन् । नवजात शिशु देखेपछि बालेकाँडाकी लक्ष्मी विकको संरक्षणमा राख्नुभएको छ ।
लक्ष्मीका आफ्ना ६ सन्तान छन् । लक्ष्मी आफै पनि आर्थिक अवस्था कमजोर भएका कारण नवजात शिशुको संरक्षण र लालनपालनमा झनै समस्या देखिएको छ । नवजात शिशुको पोषण खाना र आमाको उपचार व्यवस्था गरिदिन स्थानीयले गाउँपालिकासँग माग गरेका छन् ।
समस्या जानकारी लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाले लक्ष्मी बिकको घरमा पुगी नवजात शिशुको स्वास्थ्य अवस्था जानकारी लिनुभएको छ । गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत थापाले बचन दिनुभयो ।
झन्डै ४ वर्षदेखि मानसिक सन्तुलन गुमाएकी ती महिलाको उपचार र रेखदेखका लागि सुर्खेतस्थित मानव सेवा आ श्रममा पठाउने तयारी भएको बालकको पालन पोषण गर्न लक्ष्मी बिकलाई आग्रह गरिएको भैरवी गाउँपालिका–४ वडाध्यक्ष बीरेन्द्र शाहीले बताउनुभयो ।
मानसिक अवस्था ठीक नभएपछि घरबाट बेवारिसे बनेकी उनलाई गर्भवती बनाउने व्यक्तिको खोजी गरिनुपर्ने अधिकारकर्मीले माग गरेका छन् । नवजात शिशुको तौल ४ किलोग्राम भन्दा बढी रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

तपाईको प्रतिक्रिया