हतियार बिना कसरी जित्ला कर्णालीले कोरोनाबिरुद्धको युद्ध ?
सुर्खेत, २७ बैशाख ।
हिजोआज विश्व समुदाय कोरोना भाइरससँग युद्ध लडिरहेको छ । लडाइको अग्रमोर्चामा छन् स्वास्थ्यकर्मीहरु । कोरोनासँग बिजय हाँसिल गर्ने जिम्मा तिनै सिपाई अर्थात स्वास्थ्यकर्मीको हातमा निर्भर छ । यो लडाइबाट कर्णाली प्रदेश पनि बिमुख छैन । तर कर्णालीका स्वास्थ्यकर्मीहरु भने हत्तियार बिनाका सिपाई जस्तै बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन ४६ दिनमा आइपुग्दा पनि कर्णालीमा किटहरुको अभाव कायम छ । कोरोना संक्रमित भए नभएको चेकजाँच गर्ने तीनवटा हत्तियार अर्थात पीसीआर मेसिन पनि छन् । एउटा सानो र दुई वटा ठूला गरी पीसीआर मेसिन भने गोलि सकिएको हत्तियार जस्तो भएका छन् ।

छिमेकी जिल्ला नेपालगञ्जमा कोरोना संक्रमित भेटिएकै दिनदेखि कर्णालीमा भीटीएम (भाइरल ट्रान्सफर्म मिडियम) किट, प्रोसेसिङको लागि चाहिने आरएनए एक्स्ट्रयाक्सन किट र रिएजेन्ट किटको अभाव छ । जसले गर्दा हप्तादिनदेखि सुर्खेतका पीसीआर मेसिनबाट नमूना परीक्षण हुन सकेको छैन । ‘कोरोनाको त्रास बढेकै बेला किटको अभाव भयो’ प्रदेश स्वास्थ निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्य भने ‘समयमै किट व्यवस्थापन नहुँदा हामीहरु हत्तियार बिनाको सिपाइ जस्तै हुनुपरेको छ ।’
विदेशबाट सात हजार बढी नागरिकहरु गाउँ फर्कदा एक हजार ६९ जनाको मात्रै पीसीआर परीक्षण गरिएको उनले बताए । उसो त कर्णालीमा पीसीआर परीक्षण मात्रै होइन, कोरोनाको द्रुत परीक्षण अर्थात रयापिड टेष्ट पनि किट अभावकै कारण प्रभावकारी बन्न सकेको छैन । लकडाउनकै अवधिमा ५० हजार बढी नागरिक गाउँ फर्किदा ग्रुपमा ¥यापिड टेष्ट गर्नु परेको छ । यता कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले भने अन्तर्राष्ट्रिय बजारमै किट अभाव भएका कारण खरिद गर्न समस्या भएको बताउँदै आएको छ । ‘भीटीएम, आरएनए एक्स्ट्रयाक्सन र रिएजेन्ट किट अन्तर्राष्टिय बजारमै अभाव छ ।’ स्वास्थ्य निर्देशक रीता भण्डारी भन्छिन् ‘प्रदेशले चाहेर पनि किटहरु खरिद गर्न सकेको छैन ।’
तर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना विरुद्धको लडाईमा उच्च मनोवलका साथ सहभागी हुन चिकित्सकहरुलाई निर्देशन दिएका छन् । शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेर मुख्यमन्त्री शाहीले चिकित्सकहरुलाई कोरोनाविरुद्धको लडाई जित्न चिकित्सकहरुको महइभ्वपूर्ण भुमिका रहेको बताए । मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवबिक्रम बुढाथोकीको जानकारी अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिकको उच्च सावधानीका कारण हालसम्म कर्णाली प्रदेशमा कोरोनासँगको लडाई जीत हाँसील गरिरहेको बताए ।
देशभर कोरोना संक्रमित बढ्दै जाँदा कर्णालीमा हुनसक्ने चुनौतिलाई सामना गर्न निर्णायक भूमिका स्वास्थ्यकर्मीहरुको हुने तर्क गरे । ‘सशस्त्र युद्धको अग्रमोर्चामा सिपाहीको जस्तो भुमिका कोरोना विरुद्धको लडाईमा तर्पाँहरुको छ ।’ मुख्यमन्त्री शाहीले चिकित्सकहरुलाई भने ‘तपाईहरु उच्च मनोवलका साथ आफ्नो भुमिका पुरा गर्नुस् ।’ कोरोनाले निम्त्याएको संकट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली गाउँ गाउँमा पठाउने निर्णय गरेको बताउदै मुख्यमन्त्री शाहीले हरेक वडा वडामा पुगेर जनचेतना फैलाउने तथा कोरोना परीक्षण गर्नुपर्ने समय आएको बताए ।
छलफलमा चिकित्सकहरुले कोरोनाविरुद्ध लड्न चाहिने हत्तियार अर्थात कीटहरुको सहज आपूर्ति गर्न सल्लाह दिएको प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडेलले जानकारी दिए । ‘मुख्यमन्त्रीले कोरोना संक्रमति छन् छैनन् भनेर एकिन गर्न गाउँगाउँमा गएर स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव सुनाउनु भयो ।’ डाक्टर पौडेलले भने ‘परीक्षणको दायर बढाउन किट र सुरक्षा सामग्रीहरुको अभाव नहुने वातावरण बनाउन सुझाव दिऔँ ।’ अहिले कर्णालीको समग्र स्वास्थ्य अवस्था सुधार्ने उपयुक्त समय भएको बताउँदै स्वास्थ्य नीति नै बलियो बनाउनुपर्ने सुझाव दिएको डाक्टर पौडेलेले बताए ।
‘कोरोनो त्रास कर्णालीका लागि सरकारी स्वास्थ्यसंस्था सुधार्ने अवसर हो ।’ चिकित्सकहरुले दिएको सुझावलाई उदृत गर्दै उनले भने ‘तत्कालिन समस्या समाधानभन्दा पनि समग्र स्वास्थ्य नीतिनै बलियो बनाउन सुझाव दिएका छौँ ।’ चिकित्सकको क्षमता अभिबृद्धि, अस्पतालको स्तरोन्नती र जनशक्ति पद पुर्तिको व्यवस्था मिलाउन प्रदेश सरकारलाई सुझाव दिएका थिए ।
