सुर्खेत, २६ बैशाख ।
केही दिनअघि बाँकेको नेपालगञ्जमा एकैदिन १५ जना कोरोना संक्रमित भेटिए । अहिलेसम्म संक्रमितको संख्या त्यहाँ शुक्रबार सहित २४ जना पुगेको छ । नेपालगञ्ज कर्णाली प्रदेशसँग जोडिएको मुख्य बजार हो । यही बजार हुँदै मानिसहरू बाहिरी जिल्ला र भारत समेत जाने गर्छन्। यहाँ संक्रमण देखिनु भनेको वरपरका जिल्ला पनि जोखिममा पर्नु हो । नेपालगञ्जमा संक्रमण देखिएपछि वरपरका सुर्खेत, सल्यान, दैलेख जिल्लाले कस्तो तयारी गरेका छन् भनेर हामीले त्यहाँका सिडिओहरूलाई सोधेका छौं ।
रमेश न्यौपाने
प्रमुख जिल्ला अधिकारी, सुर्खेत
भौगोलिक हिसाबले सुर्खेत कर्णाली प्रदेशका १० वटा जिल्लामा जाने गेट हो। ती जिल्लामा जाने सवारी, खाद्यान्न फलफूल र औषधिका मालबाहक गाडी यहीँबाट जाने हुन्। त्यसैले पनि हामी ज्यादा चनाखो हुनुपर्ने थियो । लकडाउनलाई कडा पा¥यौं । भारतबाट आएकाहरूको एक एक रेकर्ड राख्यौं। कर्णाली प्रदेश सरकारले विरेन्द्रनगरमा ४ सय बेडको क्वारेन्टाइन बनाएको छ त्यहाँ पनि हामीले भारतबाट आएका धेरैलाई राख्यौं । गेटवे भएका कारणले लकडाउन कडा पारेका थियौं । नेपालगञ्जमा कोरोना संक्रमण देखिएपछि हामीले सुर्खेतलाई पूर्ण सिल गरेका छौं अहिले एम्बुलेन्स र औषधि बोक्ने गाडी बाहेक अरूको आवागमन रोकिएको छ ।
रोकथामको अर्को उपाय भनेको स्क्रिनिङ गरेर क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर हेर्ने पनि हो। लकडाउनपछि नेपालकै अन्य ठाउँ भारत लगायतका मुलुकबाट आएकाको संख्या झण्डै ३ हजार छ। हामीले जोखिम युक्त ठाउँबाट आएका व्यक्तिलाई क्वारेन्टाइन्मा राख्यौं । अलिक कम जोखिम ठाउँबाट आएकालाई पनि होम क्वारेन्टाइनमा बस्न भनेका छौं । भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई वडास्तरीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिको संयन्त्रले निरन्तर निगरानी गरेको छ । त्यसबाहेक परीक्षण कति गरियो भन्ने पनि हो, अहिलेसम्म हामीले १५ सय ७५को ¥यापिड टैस्ट गर्यौं । ३ सय २१ जनाको स्वाव संकलन गरेर पिसिआर टेस्टका लागि पठायौं । पिसिआरमा ११ वटाको रिपोर्ट आउन बाँकी छ अरू सबैमा कोरोना नेगेटिभ देखियो ।
रोकथामका उपाय यिनै हो जो हामीले निरन्तर अपनाइरहेका छौं । क्वारेन्टाइन र आइसोलेसन बनाएका छौं । यहाँ प्रदेशस्तरीय अस्पताल नै भएकाले स्वास्थ्यकर्मीको अभाव छैन । बरू स्वास्थ्यकर्मीलाई चाहिने पिपिई मास्क जस्ता सामग्री भने पर्याप्त छैनन् । भोलि संक्रमण भएमा यसको अभाव हुने देखिन्छ । अहिलेसम्म जिल्लाभर पिपिई सेट– ३०० छन् । आइसियु सहितको अस्पताल पनि हामीसँग छ । संक्रमित भेटिए आइसोलेसन वार्डसम्म ल्याउने एम्बुलेन्सको पनि तयारी हामीसँग छ ।
युवराज कट्टेल
प्रमुख जिल्ला अधिकारी, दैलेख
बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण बढेपछि दैलेखमा हामीले लकडाउन कडा पारेका छौं । दैलेख लगायत वरिपरिका जिल्लाको बजार भनेकै नेपालगञ्ज हो । बाहिरबाट आउनेहरू पनि नेपालगञ्जको बाटो भएर यहाँ आउँछन् । त्यसैले पनि त्यहाँ संक्रमण बढेपछि हामी चनाखो हुनुपर्ने र तयारी पनि बढाउनुपर्ने हुन्छ । एक लेभलको तयारी हामीले पहिले नै गरिसका थियौं । वडास्तरमै सूचना संकलन र अनुगमन गर्ने समितिहरू बनाएका थियौं । त्यसले आजका मितिसम्म पनि हामीलाई अद्यावधिक सूचना पठाइरहेको छ ।
तिनै सूचनाका आधारमा हामीले केन्द्रसँग मिलेर तयारी गरिरहेका छौं । अहिलेसम्म जिल्लाभरी १ हजार २ सय ९२ जना भारतबाट आएका र २२ जना तेस्रो मुलुकबाट आएका व्यक्ति छन् । बीचमा लकडाउन खुकुलो बनाएर राजधानी लगायतका शहरीक्षेत्रबाट आएका १ हजार १ सय ९० जना छन् । तिनको नाम सहित ठेगाना हामीसँग छ र वडाको निगरानीमा उनीहरूलाई राखिएको छ ।
लकडाउनपछि दैलेख आउनेहरु सबैको ज्वरो नापेर उसको नाम ठेगाना टिपेरमात्र प्रवेश गर्न दिएका छौं । बाहिरबाट आएकालाई सुरूमा सुरक्षाकर्मीले सोधपुछ गर्ने त्यसपछि सम्बन्धित पालिकाको हेल्थ डेस्कले ज्वरो नाप्ने अनि उनीहरूलाई नै जिम्मा लगाएर पठाउने गरिएको थियो । त्यसले बाहिरबाट आएका व्यक्तिको निगरानी गर्न सजिलो बनाएको हो ।
कसैलाई कोरोनाको लक्षण देखिइहाल्यो भने पनि वडालाई नै भन्ने वा वडाले नै कसलाई सन्चो छ छैन भन्ने थाहा पाउने व्यवस्था मिलाएका छौं । जिल्लाभरी ३९ ठाउँमा १ हजार ७९ बेडका क्वारेन्टिन बनाइएको छ । जसमा ५०० जति मानिस बसिसकेका छन् । क्वारेन्टिनमा १४ दिन बसेकालाई स्वास्थ्य परीक्षण वा आरडिटी गरेर घर पठाइएको छ । अहिलेसम्म ७ सय ६४ जनाको ¥यापिड किटले परीक्षण गरियो, भने ९८ जनाको स्वाव परीक्षण गरियो । सबैको नतिजा नेगेटिभ नै आयो । लकडाउनमा हामीले दैनिक गुजारा गर्न नसक्नेहरूलाई राहत पनि बाँडिएको छ। २२ सय घरधुरीले राहत पाएको रिपोर्ट प्राप्त भएको छ ।
हामी कहाँ अहिले जिल्ला अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्र छन् । तिनमा ६–७ जना जति डाक्टर छन् । त्यसबाहेक हरेक पालिकामा एउटा स्वास्थ्य चौकी छ । जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर छैन । भेन्टिलेटर एउटा मगाएका छौं आउँछ कि भन्ने आश छ । कसैलाई संक्रमण भैहाल्यो र अवस्था गम्भीर भयो भने यहाँ भेन्टिलेटरमै राख्न हुन्थ्यो । नभए त सुर्खेत काठमाडौं पठाउनुपर्छ । सामान्य अवस्थाका विरामीलाई राख्ने आइसोलेसन बेड भने हामीकहाँ १ सय १३ छन् । सामुदायिक वनको भवन, सहकारी, स्कुलको भवन र सेनाप्रहरीको ब्यारेकमा समेत आइसोलेसन कक्षहरू राखेका छौं । तिनमा चाहिने स्वास्थ्य सामाग्री, ट्वाइलेट बाथरूम समेत व्यवस्थित छन् । स्वास्थ्यकर्मीलाई पिपिई अहिलेलाई पुग्ने जति नै छ । अहिले ८ सय ३१ पिपिई सेट छन् । थर्मल गन पनि ४६ छन् । औषधि पनि जिल्लामा पुग्नेजति नै छ ।
जिल्लामा विपत व्यवस्थापन समिति छ र मैले विभिन्न काम गर्न ७ वटा उपसमिति बनाएको छु । सुरक्षादेखि बजार अनुगमनसम्मका काम यी उपसमितिले गर्छन् । यसरी हामीले कोरोना रोकथामको तयारी गरिरहेका छौं । अहिलेसम्म त कोरोना देखिएको छैन । भोलिका दिनमा देखिइहाल्यो भने केही हदसम्म त थाम्न सकिने तयारी छ ।
शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी, सल्यान
कर्णाली प्रदेश सरकारले जिल्ला क्रस गर्न पनि रोक लागेको छ । प्रदेश नै सिल गरिएको छ । सबै सीमामा हिजोदेखि शसस्त्र र सेनाको संयुक्त टोली खटिएको छ । नेपालगञ्जमा कोरोना संक्रमण देखिएपछि यता कर्णाली सिल गरिएको हो । खाद्यान्न बोक्ने सवारीलाई समेत पास नदिने भनिएको छ । कर्णाली प्रदेशलाई १ महिना पुग्ने गरी खाद्यान्न रहेको भनेर उनीहरूलाई पास नदिइएको हो । नेपालगञ्ज नै सल्यानको मुख्य बजार भएकाले त्यहाँ संक्रमण बढेपछि यहाँ हामीले पनि सतर्कता अपनाउनु नै पर्ने हुन्छ । लकडाउन भएपनि बीचबीचमा मानिसहरू आवतजावत गरेको पाइयो । कतिपय भारतबाट आएका ब्यक्तिहरू समेत लुकेर बस्ने गरेको हामीले पाएका छौं। हिजोमात्र लुकेर बसेका दुई व्यक्तिलाई समातेर क्वारेन्टिनमा राख्नुपरेको थियो ।
जिल्लाभरी ९ सय २० वटा क्वारेन्टिन छन् । बाहिरबाट आएका मानिसहरू जिल्लामा ७–८ सय थिए ति जिल्लामा स्वास्थ्यकर्मीको लागि सुरक्षा समाग्री पिपिई दुईसय जति छ । फ्रन्टलाइनमाम खटिने सुरक्षाकर्मीलाई समेत हामीले मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गरेका छौं । हरेक पालिकामा २ वटा थर्मल गन छन् जसले टाढैबाट विरामीको ज्वरो नाप्न सकिन्छ । यो सबै कोरोना संक्रमण हुनै नदिन गरिएका प्रयास हुन् । कसैलाई कोरोनाको लक्षण देखियो भने वडास्तरको समिति देखि जिल्लास्तरको विपद व्यवस्थापन समितिसम्मले काम गर्छ। सबभन्दा पहिले त संक्रमितलाई वडास्तरीय समितिले पहिचान गर्छ ।
उसैले पालिकासँग सहकार्य गरेर अस्पताल ल्याउने काम गर्ने व्यवस्था गरिएको छ । जिल्लाअस्पतालमा स्वाव लिएर परीक्षणमा पठाएपछि आइसोलेसनमा राखिन्छ । हामीकहाँ २१ बेड आइसोलेसन छन् । पाँचवटा छुट्टाछुट्टै कोठामा छन् भने अरू हलमा टाढा टाढा बेड राखेर बनाइएको छ । कोरोना पुष्टि भयो र विरामीको अवस्था सामान्य नै भए यहीँको आइसोलेसनमा उपचार हुन्छ । जिल्लाभरी जम्मा ४ जना डाक्टर हुनुहुन्छ । कोरोना संक्रमणको विशेष औषधि नभएकाले सामान्य औषधिमै यहाँ उपचार हुन्छ । तर बिरामीको अवस्था गम्भीर हुँदै गएमा हामीले सुर्खेत दाङ लगायतका अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ । किनकि हामीकहाँ आइसियु भेन्टीलेटरको सुविधा छैन । कोरोना संक्रमित मध्ये केही मानिस गम्भीर विरामी हुन सक्ने भएकाले पनि त्यस्ता विरामी हामीकहाँ उपचार गर्न सकिने छैन । तर सामान्य अवस्थाका विरामीलाई भने हामीले उपचार गर्ने छौं ।
युग संवाददाता । । २६ बैशाख २०७७, शुक्रबार २०:४९