काेराेनाले कालीकोटका रेडियो, पत्रिका संकटमा

तुलराज पाण्डे
कालीकोट, २५ बैशाख ।
कोरोना संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउन अर्थात वन्दावन्दीले कालीकोट जिल्लाका सञ्चार क्षेत्र संकटमा परेका छन् । वन्दावन्दीका कारणले बिभिन्न कार्यक्रम रोकिएले रेडियो तथा पत्रपत्रिकालाई आउने बिज्ञापन वन्द हँुदा आर्थिक संकट भएको सामुदायिक रेडियोहरुले बताएका छन् ।

रेडियो नयाँ कर्णाली कालीकोटका स्टेशन म्यानेजर भरतराज बिष्टले स्थानीय तह तथा अन्य सरकारी निकायका कार्यक्रम हुन नसक्दा रेडियोमा आउने आयस्रोत बन्द भएको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रम, स्थानीय तहले चलाउने जनतासंग जनप्रतिनिधि, बिकासका लागि रेडियो बहस जस्ता कार्यक्रम लकडाउनका कारण बन्द भएकाले रेडियोको आर्थिक आम्दानीको स्रोत बन्द भएको बताउनुभयो ।

कोरोना सङ्क्रमण रोकथाम तथा सुरक्षाका उपाय लगाएतका सुचना तथा बिज्ञापनले अलि सहज भएको उहाँको भनाई छ । पत्रकार महांसघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले रेडियो भन्दा पत्रपत्रिका बढी संकटमा रहेको बताउनुभयो । उहाँले रेडियोलाई सुचना प्राप्त भएपनि पत्रिकालाई सुचना पनि नआउने र कागज आपुर्ति गर्न नसक्दा बन्द गर्नु परेको बताउनुभयो । उहाँले जिल्लामा निरन्तर प्रकाशित हँुदै आएको कर्णाली खवर दैनिक, अभिभारा, मिसन न्यूज प्रकाशन बन्द भएको आफुलाई जानकारी आएको बताउनुभयो । अनलाईनको पहुँच भएका नागरिकहरुका लागि गोरखापत्र, कान्तिपुर, राजधानी हेर्ने नागरिक बढेको बताउनुभयो ।

सरकारी कार्यालय र निर्माण ब्यवसायीहरुले गोरखापत्र अनलाईनबढी पढ्ने गरेको आफुले पाएको र सरकारको आलोचना लगायत बिषय मन पराउनेहरुले कान्तिपुर, नयाँ पत्रिका लगायतका अनलाईन पढ्ने गरेको बताउनुभयो । गोरखापत्रमा बिभिन्न बिज्ञापन र सुचना हुने भएकाले हेर्ने गरेको हुनुपर्छ अध्यक्ष पाण्डेले बताउनुभयो । सुर्खेतबाट संचालित युग आह्वान दैनिक पत्रिका पनि लकडाउन ले गर्दा कालिकोटमा आउन सकेको छैन । युगआव्हान दैनिकको अनलाइन र पत्रिकाको इपेपर भने इन्टरनेटको पहुँचबाट कालीकोटमा समेत हेर्नेको संख्या बढ्दै गएको छ ।

कर्णाली खवर दैनिकका प्रकाशक हस्तवहादुर बमले कागज ल्याउने संकट संगै सबै कार्यालय र पसल वन्द हुँदा पत्रिका पढ्ने मान्छे पनि नभएकाले बन्द गर्नु परेको बताउनुभयो । उहाँले खर्च मात्र बढी हुने बिज्ञापन केही नआउने हँुदा चलाउन नसकिएको बताउनुभयो । कालीकोटमा कुनै पनि राष्ट्यि स्तरका पत्रिका कहिलै आएनन । धेरै पहिला तीन महिना जति कान्तीपुर आएको थियो । त्यो दिगो रुपमा आउन सकेनपछि बन्द भयो । त्यसपछि कुनै पनि पत्रिका आउदैनन ।

तपाईको प्रतिक्रिया