सम्पादकीय : परीक्षणमा जोड देऊ

कोरोना संक्रमणको दर बढ्दो छ । देशकै अन्य प्रदेशमा संक्रमण देखिन थालेको छ । तर कर्णालीमा प्रभावकारी परीक्षण हुन सकेको छैन । संक्रमित देश भारतबाट यहाँ सयौंको संख्यामा मानिसहरु भित्रिएका छन् । मजदुरीका लागि भारतमा रहेका सयौं नागरिक कर्णाली फर्किएका छन् । लकडाउनको अवधिमै उनीहरु रातारात गाउँ पसेका छन् । तर पनि उनीहरुको स्वास्थ्य परीक्षण हुन सकेको छैन । प्रदेश सरकारले केहीदिन पहिला उनीहरुको द्रुत परीक्षण गरेजस्तो मात्र गरेको छ । अधिकांशको नमूना परीक्षण नै हुन सकेको छैन । भौगोलिक विकटताका कारण धेरै जना स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छैनन् । अर्कोतर्फ न त स्वास्थ्यकर्मीहरुले नै उनीहरुलाई भेट्न सक्ने अवस्था छ । यो अवस्थामा स्थानीय तहको भूमिका प्रभावकारी हुन सक्छ । तर स्थानीय तह मौन बस्नु र शंकास्पदहरु लुकेर बसेका कारण पनि समस्या भइरहेको हो ।

अपेक्षा अुनसार नमूना परीक्षण नहुँदा पनि थप आशंका र खतरा कायमै छ । परीक्षण नभएकै कारण कर्णालीमा सक्रमण नदेखिएको स्वास्थ्यकर्मीकै भनाइ छ । कोरोना रोकथामको महत्वपूर्ण पक्ष भनेकै नमूना परीक्षण हो । तर कर्णालीमा हाल भएको परीक्षणको दर हेर्दा निकै कमजोर छ । एक त सुरुमा नै पीसीआर परीक्षण हुन सकेन । नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । तर विस्तारै सुर्खेतमा परीक्षण मेसिन त आयो । तर त्यसको क्षमता न्यून हुँदा चाहेजति परीक्षण हुन सकेन । अहिले सुर्खेतमा दुई र जुम्लामा एउटा पीसीआर मेसिन त आएका छन् । तर तिनले पनि सन्तोषजनक नतिजा दिएका छ्रैनन् । नमूना संकलन गर्ने किट र उपकरण नहुँदा परीक्षण नै प्रभावित बनेको छ । लामो समयदेखि पीसीआर मेसिनले काम गरेका छैनन् । अर्थात पीसीआर परीक्षण रोकिएको छ । यस्तै गाउँमा गर्ने भनिएको द्रुत परीक्षण पनि औपचारिकतामा मात्र सिमित भयो ।


यसकारण कर्णालीमा अहिले नै ढुक्क हुनसक्ने अवस्था छैन । नमूना संकलन र परीक्षणमा भएको सुस्ताताले जोखिम कायमै छ । मानिसहरुमा आशंका कायमै छन् । स्वास्थ्यकर्मीहरु नै सन्तुष्ट हुन सकेका छैनन् । लकडाउन लम्बिदै गएको छ । संक्रमण रोक्ने पहिलो उपाय लकडाउ नै हो । तर पनि यदी परीक्षण नगर्ने हो भने संक्रमण नै पत्ता लगाउन सकिदैन । यसका लागि पनि परीक्षण अनिवार्य छ । तर संघीय र प्रदेश सरकारबीच आवश्यक समन्वय नहुँदा कर्णालीमा किट अभाव छ । किट नहुँदा परीक्षण नै अवरुद्ध भएको छ । प्रदेश सरकाले तत्काल कुनै पनि हालतमा आवश्यक किट र स्वास्थ्यकर्मीको व्यवस्था गर्नु पर्दछ । पीसीआर परीक्षणलाई तीव्र बनाउनु पर्दछ । यस्तै स्थानीय सरकारको भूमिका पनि महत्वपूर्ण हुन्छ । स्थानीय सरकारले पनि बाहिरबाट आएका र शंकास्पद् व्यक्तिहरुलाई नमूना परीक्षणका लागि उत्प्ररित गर्नु पर्दछ । क्वारेन्टानमा बस्न नमानेका र लुकेर बसेकाहरुलाई परीक्षण गराउनेतर्फ स्थानीय तहले अनिवार्य गर्नुपर्दछ । (२०७७ बैशाख २५ गते विहिबार प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार