ओम शाही
सुर्खेत, २४ वैशाख ।
स्थानीय स्तरमा उत्पादन भएको केराले बजार पाउँदा बराहताल–५, बड्डिचौरका किसान खुशी भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको सम्भावित संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि नेपाल भर लकडाउन गरेको छ । कोरोनाक्रासका कारण अहिले भारतीय सिमा समेत बन्द गरिएको छ । जसका कारण भारतीय बजारबाट तरकारी तथा फलफूल आयात पूर्ण रुपमा थप्प छ ।
जसको कारण तरकारी तथा फलफूल भित्रिन सकेको छैन । भारतीय केराले राजजमाउने सुर्खेत बजारमा लकडाउनको समयमा भने स्थानीय स्तरमै उत्पादन भएका केराले बजार पाउन थालेका छन् । बराहताल–५, रचा स्थित सामुदायिक वनका अध्यक्ष तथा अगुवा कृषक कविराज डम्मर पालमगर लगायतका कृषकले उत्पादन गरेको स्थानीय जातको केराले बजार पाएको हो ।
अन्य समय यहाँ उत्पादन भएका केरा स्थानीय स्तरमै केही मात्रामा बिक्री भएता पनि बाँकी भने केही खाने र अरु कुहिएर जाने गरेको कृषक डम्मरपाल मगरले गुनासो गर्दै भने, यसरी नै हामीले दुख गरेर उत्पादन गरेको केराले नियमित बजार पाइ दिएको भए आफूहरुको दुख खेर नजाने र कृषकहरुलाई केरा खेतीतर्फ अग्रसर बनाउन सकिने बताए । यसका लागि सरोकारवाला निकायको ध्यान जानु पर्नेमा जोडदिए ।
भारतीय केरा आउन बन्द भएपछि व्यापारीहरु कृषक कै घर–घरमापुगेर केरा खरिद गर्न थालेका छन् । मंगलबार बिन्दु मण्डिका सञ्चालक बखत शाहीले किसान कै घरमा पुगेर करिव २९ हजार मूल्य बराबरको केरा खरिद गरेका हुन् ।
भारतीय केरा बजारमा आउन छाडेपछि केराको माग सहज बनाउन आफूहरु किसान कै घरमा पुगेको बताउँदै, शाहीले आफूहरुले स्थानीय स्तरमै उत्पादन भएका कृषि बस्तुहरुलाई प्राथमिकता दिने गरेको उल्लेख गरे । केरा ढुवानीको लागि सिमल पानी पशु तथा कृषि सहकारी संस्थालाई कृषि विकास निर्देशनालय सुर्खेतबाट अनुदान प्राप्त गाडीमार्फत ढुवानी गरिएको संस्थाका अध्यक्ष अर्जुन कुमार बुचामगरले जानकारी दिए । जसले ढुवानीमा सहज भएको समेत उनले बताए ।
युग संवाददाता । । २४ बैशाख २०७७, बुधबार १८:१६