एजेन्सी/काठमाडाै, २४ बैशाख ।
जर्मन दार्शनिक कार्ल माक्र्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो । तर, त्यसअघि नै विश्वमा कम्युनिस्ट पार्टी स्थापनाको सुरुवात भइसकेको थियो । सन् १८४२ मा जर्मन आप्रवासीहरूले कानुनी लीगको स्थापना गरेका थिए भने सन् १८४३ मा कम्युनिस्ट लीगको स्थापना भएको थियो । सन् १८४६/४७ मा जेनेभामा भएको लिगको कंग्रेसले मार्क्स र एंगेल्सलाई कम्युनिस्ट घोषणा पत्र निर्माणको जिम्मा दिएअनुसार सन् १८४८ फेब्रुअरी १२ मा कम्युनिस्ट घोषणापत्र जारी भयो ।
माक्र्स–एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र जारी भएपछि यसले ठूलो क्रान्ति र विश्व राजनीतिमा हलचल ल्यायो । यस विषयमा स्वयम् माक्र्स भनेका छन्, ‘युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ, साम्यवादको हाउ । यसलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।’
तर सन् १८५२ मा कम्युनिस्ट लीग विघटन भयो । माक्र्सको पहलकदमीमा सन् १८६४ मा जेनेभामा सम्पन्न प्रथम महाधिवेशनद्वारा प्रथम अन्तर्राष्ट्रियको गठन भयो । जसको अध्यक्ष प्रुधो थिए । सन् १८६७ सेप्टेम्बरमा दोस्रो महाधिवेशन, सन् १८६८ मा तेस्रो र १८६९ सेप्टेम्बरमा चौथो महाधिवेशन भयो । सन् १९७१ मा पेरिस कम्युनको स्थपान भएपनि यो ७२ दिनसम्म मात्रै टिक्यो ।
सन् १८७६ मा प्रथम अन्तर्राष्ट्रियको छैंठौं महाधिवेशन भएपछि यसको विघटन भयो । जर्मनीमा पेरिस कम्युनअघि सन् १८६९ मा सामाजिक जनवादी पार्टी, रुसमा १८८३ मा श्रमिक मुक्ति दल, अमेरिकामा सामाजिक मजदुर पार्टी (सन् १८७६), फ्रान्सेली मजदुर पार्टी (१८७९), स्पेनमा (१८८९), अस्ट्रियमा (१८८९), स्विजरल्यान्डमा (१८८९), स्विडेनमा (१८८९) आदि मजदुर वर्गीय पार्टीहरू स्थापना भए ।
युग संवाददाता । । २४ बैशाख २०७७, बुधबार १०:१५