मेयर कुट्ने युवा संघ संयोजक निलम्बन

जाजरकाेट, २३ बैशाख ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन राष्ट्रिय युवा संघ जाजरकोट जिल्ला संयोजक दीपेन्द्र शाही निलम्बनमा परेका छन् । नेकपा कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्तीमाथी कुटपिट गरेको भन्दै संघले शाहीलाई निलम्बन गरेको हो ।

युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सहसंयोजक रमेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । ‘जिल्ला संयोजक दीपेन्द्र शाही नेतृत्वको समूहले आक्रमण गरी शक्त घाइते बनाएको उल्लेख गरी २०७७ वैशाख १३ गते नेकपा जाजरकोट जिल्ला कमिटी, नेकपा कर्णाली प्रदेश कमिटीको प्रेस वक्तव्य र ०७७ वैशाख १६ गते राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीका सदस्यहरूको सिफारिसलाई आधार मानी राष्ट्रिय युवा संघ नेपालको अन्तरिम विधान २०७६ धारा १०.३ (क.ङ) का आधारमा धारा १८.३ को प्रावधान बमोजिम आजका मितिदेखि लागू हुने गरी संगठनका सबै जिम्मेवारीहरूबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन जाजरकोटबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र कार्यबाहक संयोजक भीम जिसी रहेको ५ सदस्यीय छानबिन समिति समेत संघले बनाएको छ । जिल्ला संयोजकको कार्यबाहक जिम्मेवारी सहसंयोजक भीम जिसीलाई प्रदान गरिएको छ ।

मेयर कुट्ने युवा संघ संयोजक निलम्बन

YUGAAWHAN NATIONAL DAILY (2077-01-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *