नेकपाद्धारा अण्डादेखि नगदसम्म

सुर्खेत (पञ्चपुर), २२ बैशाख ।
नेकपाले अण्डादेखि नगदसम्म सहयोग गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर कमिटी पञ्चपुरी सुर्खेतले पञ्चपुरीमा रहेका ४ वटा क्वारेन्टाईनका ३९० जनालाई ३/३ वटा अण्डा वितरण गरेको छ । क्वारेन्टाइनमा बस्ने नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यवस्थापक गरी ३९० जनालाई एक जना बराबर तीन वटा हुने गरी ११७० वटा अण्डा सहयोग गरिएको छ ।

सोही अवसरका कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि नगरपालिकाले स्थापना गरेको विपद् कोषमा नगद सहयोग गरिएको छ । नेकपा नगर कमिटीले एक लाख एक हजार एक सय ११ नगद र बाँकी अण्डाको गरी कुल एक लाख १४ हजार ६ सय रुपैयाँको सहयोग सामाग्री नगर प्रमुख उपेन्द्र थापालाई हस्तान्तरण गरिएको नगर कमिटी अध्यक्ष मनबहादुर कामीले जानकारी दिए ।

नगर कमिटीका पदाधिकारीहरुबाट व्यक्तिगत रुपमा सहयोग संकलन गरी नगर विपद् कोषमा जम्मा गरिएको नगर कमिटीका सचिव केशव शाहीले जानकारी दिए । लकडाउनको कारणले दैनिक ज्यालादारी काम गर्ने गरिव, बिपन्न नागरिकहरु खाद्यान्नको अभावमा भोकै बस्नु नपरोस भन्ने मान्यतामा नेकपा पन्चपुरीले राहत स्वरुप आर्थिक सहयोग गरेको सचिव शाहीले बताए ।

नेपाल सरकारले जारी गरेको लकडाउनको समय अवधिलाई पुर्णरुपमा पालना गरी सामाजिक दुरी र सुरक्षा अपनाएर अति आवश्यक काम बाहेक फाल्तु बाहिर घुमफिर नगरी यो महामारी विरुद्धको लडाईलाई सफल पार्न सम्पूर्ण पन्चपुरी नगरबासिहरुलाई नेकपाले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया