नेकपामा चिनियाँ व्यवस्थापन

किशोर नेपाल
यो पटक नेपाल कम्युनिस्ट पार्टीभित्रको झगडा चरमोत्कर्षमा नपुगिकनै शान्त भयो । पहिलेपहिले राजनीतिक पार्टीका आन्तरिक झगडामा विदेशीहरुले चासो राख्दथे । यो पटक कुनैपनि विदेशीले त्यस्तो चासो राखेनन् । हो, नेपालका लागि चीनियाँ राजदूत महामहिम हाउ याङ्छीले चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीमा सल्किएको आगो निभाउन निकै मेहनत गरिन् । तर, उनले त्यसमा कुनै हस्तक्षेप गरिनन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र ‘अर्का’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर याङ्छीले कामरेड प्रचण्ड र कामरेड ओली फुटेको खण्डमा नेपाल कम्युनिस्ट पार्टी फुट्ने विचार स्पष्ट शब्दमा प्रकट भने गरिन् । उनले नेपाल कम्युनिस्ट पार्टीमा अब आइन्दा हुने कुनैपनि फुट चिनियाँ कम्युनिस्ट पार्टीका लागि असह्य हुने बताइन् ।

महामहिम याङ्छीका सुझावलाई शनिबार अपरान्ह बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ‘आत्मसात’ गरेको छ । अब याङछीको सुझावअनुसार नेपाल कम्युनिस्ट पार्टी र उसको नेतृत्वको सरकारमा कुनै गडबडी आउने छैन । वामदेव गौतम नाच्ने, माधव नेपाल ठुस्स पर्ने, झलनाथ खनाल बिलखबन्दमा पर्ने, प्रचण्ड हाँसेर टार्ने र केपी शर्मा ओली ‘ए दूरका सितारा’ बोलको गीत गाउँदै दर्द मेटाउने काममा लागि सकेका छन् । नेपाली समाजका भिभिआइपी भनेर चिनिने नेताहरूको अरु कुनै काम बाँकी रहेको देखिएन ।

महामहिम याङ्छीले समयमा नै आगो निभाउन मेहनत नगरेकी भए नेपाल कम्युनिस्ट पार्टी नामको संगठन खरानी भइसक्ने थियो । त्यो खरानीको थुप्रोमा कुन माले, कुन मसाले, कुन चौथो महाधिवेशन, कुन जनमोर्चा, कुन वैद्य माओवादी, कुन विप्लव माओवादी, कुन प्रचण्डको, कुन ओलीको, कुन माधवको, कुन वामदेवको, कुन झलनाथको भइसक्थे । कसलाई कता कता खोज्नु ? खोज्दाखोज्दै साता बित्ने थियो । आपतै पर्ने थियो । अझ, स्वर्गीय नेताहरु सबैको नामोच्चारण मात्रै गर्दा पनि विज्ञप्तिको भाषा अनावश्यक हिसाबले लामो हुने संकट त छँदैछ । जे भए पनि, नेपाल कम्युनिस्ट पार्टीको जीवनमा केही आयो र केही बिलायो । आयो महामहिमको सुझाव, बिलायो हस्तक्षेपको आवाज ।

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा पहिलो जनआन्दोलनपछि पहिलोपटक प्रतिनिधिसभाको स्पष्ट बहुमतको आधारमा सरकार चलाउने जनादेश पाएको नेपाल कम्युनिस्ट पार्टी एकताबद्ध हुने भयो । अहिलेको परिस्थितिमा प्रतिनिधिसभामा सरकारको स्पष्ट बहुमत नरहेको भएपनि देशमा कम्युनिस्ट पार्टी एकताको दुन्दुभी बजेकोमा नेपालको प्रेस जगत र सामाजिक सञ्जाल दुवै गदगद भए । सबभन्दा खुशीको कुरो त नेपाली जनताले ढुक्क हुने अवसर पाए । नेपाली शासन, प्रशासन र राजनीतिमा यस्ता झगडा हुँदा सँधै भारतको हात फोहोर देखिने गरिएको थियो । यसपटक जनताले त्यस्तो अनुभव गर्न पाएनन् । काठमाडौंका प्रबुद्ध जनताको मनमा रहेको कुराले बुर्कुसी मा¥यो । सोचे, यसपटक भारतले किन नेपालका बारेमा आफना विचारहरू सन्दर्भमा पनि राख्न चाहेन ? एक जना कुटनीतिज्ञसँग यो प्रश्न सोध्दा उनले जवाफ दिए– हो, हामीले केही बोल्न चाहेनौं ।

नेपाल–भारत सम्बन्धलाई नजिकबाट नियालिरहेका एक जना अध्येतासँग प्रश्न गर्दा उनले बताए । भारतले आफ्नो कुटनीतिलाई अहिलेसम्म ‘लाउड’ राखेको थियो । अब त्यो ‘सफ्ट’ भएको छ । नेपालका घटनाहरुमा भारतले रुचि लिन छाडेको छैन, तर त्यसमा सक्रिय प्रतिक्रिया दिन चाहँदैन । अहिलेको भारतीय कुटनीति विस्तारै ‘म्याचुरिटी’ उन्मुख देखिएको छ । राजदूतावासमा रहेको राजदूतको कुर्सीमा बसेर कसले प्रतिनिधित्व गरेका छन् ? त्यसमा पनि धेरै भर पर्दछ । नेपालका लागि भारतका अहिलेका राजदूत विनयमोहन क्वात्राले भारतीय कुटनीतिक सेवामा ३२ बर्ष बिताइसकेका छन् । उनले सेवाको बढी समय संयुक्त राष्ट्रसंघ र मानव अधिकारका क्षेत्रमा काम गरेर बिताएका छन् । क्वात्राको शान्त स्वभावका कारण अहिलेको परिवर्तन देखिएको हो कि, यो भारतीय कूटनीतिमा आएको परिवर्तन हो ? यो अहिले नै भन्न सकिँदैन ।
अहिले कोरोना महामारी नियन्त्रणमा ल्याउन भारत सरकारले आफ्नो पूरै शक्ति लगाएको छ । त्यसले गर्दा पनि, भारतले नेपालका नेताहरुको व्यक्तिगत र तुच्छ किसिमका आकांक्षा पूर्तिका लागि गरिने झगडामा हात नहालेको हुन सक्छ । यो पनि हुन सक्दछ । सत्तरी पचहत्तर वर्षदेखि नेपाली राजनीतिको ‘जायजा’ लिँदालिँदै भारतीय मित्रहरू थाकेका पनि होलान् । नेपालका कम्युनिस्ट नेता सबैसँग भारतका शीर्ष नेताहरुको आपसी सम्बन्ध छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री ओलीको दोस्ती त जगजाहेर नै छ । बेलाबेलामा नेपालका कथित मानव अधिकारवादी नेताको जमात प्रचण्डको विरोधमा लागे पनि उनका भारतीय मित्रहरुको कमी छैन । त्यसैले, यो पटक नेपाली नेताहरुको झगडामा भारतीय नेताहरुको उदासीन व्यवहारलाई स्वाभाविक रुपमा लिनु पर्दछ । चीनका लागि, खास गरेर राजदूत याङछीका लागि, अहिलेको अनुभव भावी राजदूतहरुका लागि समेत उपयोगी हुने खालको रहेको हुनुपर्दछ । दुइ देशका बीच सम्बन्ध सुदृढ पार्दापार्दै दुई पार्टीबीच पनि सम्बन्ध सुदृढपार्ने अवसर हातमा आउनु कुटनीतिक सफलता नै हो ।

तपाईको प्रतिक्रिया