चिङ्गाडको वडा कार्यालयमा तालाबन्दी

खगेन्द्र हमाल
सुर्खेत, २१ बैशाख ।
चिङ्गाड गाउँपालिका वडा नं. २ को वडापालिका कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरणमा विवाद हुँदा नेपाल कम्यूनिष्ट पार्टी नेकपा वडा कमिटी रानीबासले वडा कार्यालयमा तालाबन्दी गरेको हो । संघीय सरकार र प्रदेश सरकारले दैनिक ज्यालादारी काम गरेर दैनिकी जीवन चलाउने अति विपन्न गरिव घरपरिवारलाई यो लकडाउनको अवधीमा विशेष राहत दिने निर्णय गरेपछि प्रदेश सरकारले स्थानीय तहहरुमा राहत स्वरुप रकम छुट्ट्याएको छ ।

प्रदेश सरकारले चिङ्गाड गाउँपालिकालाई दिएको रकमबाट खरिद गरिएको राहत वितरणका सामाग्रीहरु वितरण गर्नु पूर्व नै वडा नं. २ का वडा अध्यक्ष बुदे खत्री र नेपाली काँग्रेसका कार्यकर्ताले एकलौटी रुपमा विभेद गरी आफ्ना कार्यकर्ताहरु खटाई आफ्ना नाता पर्ने, पार्टी निकटका ब्यक्तिहरुको नाम संकलन गरी राहत वितरण गरिएको भन्दै विरोध स्वरुप वडा कार्यालयमा तालाबन्दी गरिएको नेकपा वडा कमिटी सचिव तिल बहादुर रानाले जानकारी दिए ।

नेकपा २ न वडा कमिटीले सर्वदलीय सर्वपक्षीय सहमति गरेर अगाडी बढ्ने कैयौ पटकको प्रयासलाई वडा अध्यक्षले वेवास्ता गर्दा यस्तो परिस्थिति खडा भएको सचिव रानाले जानकारी दिए । यसरी घरघरमा आफ्ना पार्टीका कार्यकर्ताहरु खटाएर नाम संकलन गरी नेपाली काँग्रेस र तरुण दलले राहत वितरण गर्दैछ भन्ने भ्रामक प्रचार गरी नेपाल सरकारको नियम सिधै उलंघन गरेको आरोप लगाइएको छ । समस्याको समाधान गर्न स्वयंम चिङ्गाड गाउँपालिका तयार नरहेको हुँदा वडा कार्यलयमा ताला लगाइएको सचिव रानाले जानकारी दिए ।

जबरजस्ति राहत वितरण गर्न खोजेमा त्यसको परिणाम स्वयंम गाउँपालिकाले भोग्नुपर्ने सुझावसहित चेतावनी दिइएको छ । केहि दिन पहिले विभिन्न मिडिया तथा सामाजिक संजालमा यस बारेमा समाचार आएपछि नेकपा र काँग्रेस कार्यकर्ताहरुले एक अर्कालाई आरोप लगाउँदै आएका छन् । राहत वितरणमा विवाद हुँदा गापा र सम्बन्धित वडा नै यसको प्रमुख जिम्मेवार भएर तत्काल समस्याको समाधान गर्नुपर्नेमा उल्टै मौन भएर बसेको स्थानीयबासीहरुले जानकारी दिएका छन् ।

स्थानीयवासीहरुको जनगुनासो अनुसार अन्य क्षेत्रमा दोस्रोपटक राहत वितरण गरिसक्दा पनि २ नं. वडामा अहिलेसम्म राहत वितरण नभएको र राहत वितरण गर्नका लागि गरिव जनताहरुको भोको पेटमाथि जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले राजनीति गरेको बताए ।

तपाईको प्रतिक्रिया