जनाको क्वारेन्टाइनमा जाँदै गर्दा मृत्यु

बैतडी, २१ बैशाख ।
भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकाली बस्ने ६७ बर्षीय जुने लुहारको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए । एक महिना अघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उनको शनिबार बिहान बाटोमा हिड्दाहिड्दै मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भएको उनले बताए । मृतक लुहारको शवलाई प्लास्टिक बेरेर सुरक्षात्मक तरीकाले दाह संस्कारका लागि आफन्तहरुलाई भनेको पनि कुँवरले जानकारी दिए ।

लुहारसंग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भएको छ । यही बैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए । उनीहरु मध्ये ८४८ जना पुर्चौंडी नगरपालिकाका छन् । भारतबाट फर्केका सबैलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए ।

तपाईको प्रतिक्रिया