काठमाडौं, २० वैशाख ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय खासै नउठेको बताइएको छ । यसअघि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए ।
उनले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको उनको भनाई छ ।
युग संवाददाता । । २० बैशाख २०७७, शनिबार २०:५३