सामाजिक विभेद र विकृतीविरुद्ध लड्ने अठोट

धन भुषाल
निर्देशक, सेभ द चिल्ड्रेन म.प. तथा सु.प. फिल्ड कार्यालय, सुर्खेत
पाल्पाको साविक मस्याम गाविस (हाल तिनाउ गाउँपालिका–६) मा जन्मिएकी धन भुसालको लक्ष्य सामाजिक अभियान्ता बन्ने थियो । बाल्यकालमा हुर्कदै गर्दा एक शिक्षित र कुशल नागरिकसम्म बन्ने सपना भुसालले बनाइन् । परिस्थितिले भुसालले हाल चाहे अनुसारकै लक्ष्य भेटेकी छन् । २०५३ सालबाट गैरसकारी संस्थामा प्रवेश गरेकी भुसाल हाल सेभ द चिल्ड्रेनको मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालय सुर्खेतको एशोसिएट निर्देशक पदमा कार्यरत छन् । जिन्दगीको यो यात्रासम्म भुसालले गरेको संघर्ष र आगामी योजनाबारे हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, आजको जम्काभेटमा उनीसँग गरिएको कुराकानीको शारासं :

यस्तो थियो बाल्यकाल
प्राथमिकदेखि एसएलसीसम्मको पढाइ जन्मभूमिको मस्याम माध्यमिक विद्यालयमा सम्पन्न भयो । आइकम, बिकम र एमबिए सम्मको पढाइ भने त्रिभुवन बहुमूखि क्याम्पस तानसेन पाल्पाबाट पूरा गरेँ । समाजशास्त्रमा स्नातकोत्तर पाटन बहुमूखि क्याम्पस ललितपुरबाट गरेकी हुँ । मध्यम परिवारमा जन्मिएकाले पढाइमा त्यति साह्रो समस्या भएन ।  तर बाल्यकालमा हुर्कदै बुझ्दै गर्दा शिक्षित एवं कुशल नागरिक बन्छु भन्ने दृढ अठोट भने थियो । पढ्दै गर्दा कयौं ठाउँमा सामाजिक विकृति विसंगतिका खवरहरु थाहा पाउथेँ । मन भने खिन्न हुन्थ्यो । पढाइको क्रममा सामाजिक विभेद र कुरुतिविरुद्ध लड्ने एक सामाजिक अभियान्ता बन्ने चाहना थियो । बुवाआमाको चाहना पनि आफ्नी छोरी शिक्षित र सभ्य नागरिक बनोस् भन्ने थियो । परिवार र आफ्नो खुसीका लागि मैले आफ्नो लक्ष्य सामाजिक विकृतिविरुद्ध खडा हुने अठोटका साथ अघि बढेँ ।

जागिर यात्रा
लक्ष्य नै सामाजिक विकृतिविरुद्ध लड्ने भएकाले अन्य क्षेत्रभन्दा गैरसरकारी संस्थाबाट जागिर यात्रा शुरु गरेकी हुँ । विं.सं. २०५३ सालमा ग्रामीण स्वावलम्बन विकास केन्द्र पाल्पाबाट महिला संयोजकको पदबाट कामको शुरुवात गरँे । एकवर्ष मैले त्यहीँ संस्थामा बसेर काम गरँे । त्यसपछि सहभागितात्मक जिल्ला विकास कार्यक्रममा डेपुटी टिम लिडर, जिल्ला विकास समिति महासंघ नेपाल काठमाण्डौमा क्षमता विकास अधिकृत र युएनडिपीको सहयोगमा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित विकेन्द्रिकृत स्थानीय स्वायत्त शासन सहयोग कार्यक्रममा जिल्ला विकास सल्लाहकारको रुपमा कास्की र स्याङ्जामा काम गरिसकेको छु ।

स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत पश्चिमाञ्चल विकास क्षेत्रमा क्षेत्रिय संयोजक र सन् २०१२ को अगष्ट महिनाबाट सुदूरपश्चिम क्षेत्रिय कार्यालय धनगढीबाट क्षेत्रिय प्रवन्धकको रुपमा सेभ द चिल्ड्रेनमा काम शुरु गरेको हुँ । सेभ द चिल्ड्रेनको केन्द्रीय कार्यालय र पश्चिमाञ्चल कार्यालयहुँदै हाल मध्य तथा सुदूर पश्चिम फिल्ड कार्यालय सुर्खेत एशोसिएट डाइरेक्टरको रुपमा काम गरिरहेको छु ।

कोरोना र शिक्षा
कोरोनाको संक्रमण हाल विश्वभरी फैलिरहेको छ । लकडाउनले शिक्षा क्षेत्र पनि प्रभावित छ । तर कोरोना भाइरसका कारण शिक्षामा पारेको प्रभावका विषयमा विभिन्न कोणबाट हेर्नुपर्दछ । कतिपय बालबालिकाको वार्षिक परीक्षा सकिएको छ । कसैको केही विषय परीक्षा दिन बाँकी छ । कक्षा १०, ११ र १२ को परीक्षाको मुखैमा आएर स्थगित भयो । अघिल्लो वर्षको परीक्षा दिनै बाँकि छ भने अर्कोतिर नयाँ शैक्षिक सत्र सुरु भएको छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लाका बालबालिकाको नयाँ शैक्षिक सत्र फागुनदेखि नै सुरु भइसकेको छ । कोराना भाइरसबाट बच्न लकडाउन जारी रहेकोले यस्तो अवस्थामा बालबालिकाहरुमा पनि अब के हुन्छ, कस्तो हुन्छ भन्ने कौतुहलता भइरहेको छ । नतिजा ढिला आउँदा र परीक्षा ढिला हुँदा बालाबालिकाको पढाइमा वा अर्को कक्षा वा तह भर्ना गर्न ढिला हुन्छ । यसले सिकाइमा कमजोर हुन जान्छ र सिकेका कुराहरु बालबालिकाहरुले बिर्सिन सक्छन् । सबै बालबालिकाको भर्चुअल कक्षामा उपस्थित हुन नसक्ने हुनाले उनीहरूको पढाइ छुट्न सक्छ । तर शिक्षा क्षेत्र के हुने भन्ने महामारीको अबस्था र सरकारले गर्ने निर्णयमा भर पर्दछ ।

मनोसामाजिक असर
अहिलेको परिस्थिती अपवाद हो । यस्तो प्रकारको विपदमा सबै उमेर समुहका मानिसहरूमा मनोवैज्ञानिक असर देखिन्छ । संकटको समयमा व्यतिपिच्छे फरक फरक स्तरको मनोवैज्ञानिक तथा मनोसामाजिक असर देखिन सक्छ । कोरोना भाइरसको विश्वव्यवपी जोखिमको समयमा बालबालिकाहरूमा देखिन सक्ने मनोवैज्ञानिक असर बालबालिकाहरूले आफ्नो तनाव तथा चिन्तालाई उमेर अनुसार फरक–फरक तरीकाबाट व्यक्त गरिरहेका हुन्छन ।  साना उमेरका बालबालिका डराउने, रिसाउने, खाना खान मन नगर्ने, नसुत्ने, छट्पटिने, नराम्रो सपना देख्ने आदि समस्या देखिन्छ भने किशोरावस्थाका बालबालिकामा उदास देखिने, जिद्दी गर्ने, कुनै कुरामा ध्यान नदिने, दूव्र्यहारमा संलग्न हुने वा आफै जोखिममा पर्न सक्दछन् ।

सेभ द चिल्ड्रेनको शिक्षामा भूमिका
सेभ द चिल्ड्रेन बालबालिकाको क्षेत्रमा काम गर्ने एक अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । यसले साझेदार संस्था र सरकारी संयन्त्रसँग मिलेर बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, बाल सहभागिता, बाल अधिकार संरक्षण र विपदका क्षेत्रमा काम गर्दछ । हाम्रो उपस्थिती कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ मा पनि छ । हालको महामारीको पूर्वतयारी र प्रतिकार्यका लागि सेभ द चिल्ड्रेनले प्रदेश सरकार र स्थानीय सरकारसँगको प्रत्यक्ष सहकार्यमा कार्य गरीरहेको छ ।

तीन वटै प्रदेशका सामाजिक विकास मन्त्रालयको अगुवाइमा शिक्षा प्रतिकार्य समूह गठन गरिएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा समूहले आफ्नो योजना निर्माण गरीसकेको छ र योजना कार्यान्वयनका लागि स्रोत आँकलन समेत गरिसकिएको छ । कार्यक्रम सञ्चालित जिल्लाका बिभिन्न स्थानीय एफएमहरूबाट यस्तो अबस्थामा बालबालिकाको सिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ । अभिभावकले सिकाइको लागि के गर्ने र बालबालिका स्वंयमले के गर्न सक्छन् भन्ने सचेतनामूलक सन्देशहरू प्रसारण भैरहेका छन् ।

यसका साथै बालसंरक्षण, स्वास्थ्य, मनोसामजिक व्यवहार, कोभिड – १९ सर्ने तरिका र सुरक्षित हुने उपायहरूको बारेमा सूचनामूल सन्देशहरू प्रसारण गरिरहेका छौं । विभिन्न स्थानीय तहहरूलाई विपद् पूर्वतयारी र प्रतिकार्य योजना निर्माणका लागि सहयोग तथा सहजीकरण पनि गरिरहेका छौं । अछाम, बाजुरा, दैलेख र बाँके जिल्लामा सेभ द चिल्ड्रेनको सहयोग र सहजीकरणमा शिक्षा विकास तथा समन्वय इकाई तथा स्थानीय तहहरूको अगुवाइमा स्थानीय एफएमहरूबाट एसईइ तयारी कक्षा संचालन गरिरहेका छौं ।  यसका साथै सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश अस्पताल र विभिन्न १० वटा स्थानीय तहलाई पूर्व तयारीका लागि स्वास्थ्य सामग्रीहरू उपलव्ध पनि गराएका छौं ।

भोलीको योजना
सामाजिक क्षेत्रमा जीवन विताउने चाहना पूरा भएको छ । जिन्दगीको यो दौडाहमा सामाजिक अभियान्ता बन्ने र समाजका लागि केही गर्ने सपना थियो । त्यहीँ सपनालाई आज साकार पारिरहेको छु । सामाजिक विभेद र विकृति विरुद्धको लडाइमा काम गर्ने अवसर पाएको छु । अझै बालबालिका र समाजिक क्षेत्रमा जीवन समर्पण गर्ने योजनामा छु । (युगआव्हान राष्ट्रिय दैनिकमा मिति २०७७ बैशाख १९ गते शुक्रबार प्रकाशित साताको जम्काभेट स्तम्भ )

तपाईको प्रतिक्रिया