चिङ्गाड अवलचिङ्गमा दुई युवाको सहयोग
सुर्खेत, २० बैशाख ।
चिङ्गाड गाउँपालिका वडा नं. ५ स्थायी घरभई हाल कतार रहेका दुई युवाले विपन्न परिवारलाई दैनिक उपभोग्य सामाग्री सहयोग गरेका छन् । रोजगारीको शिलसिलमा विदेशमा रहेका दुई युवाले आफ्नो कमाई पठाएर एक लाख बराबरको खाद्यान्न वितरण गरेका हुन ।
चिङ्गाड गाउँपालिका वडा नं. ५ निवासी सुरज बहादुर रानाको छोरा समाजसेवी सुरेन्द्र विक्रम राना र चिङ्गाड गा.पा.–५ कै रमेश रानाले संयुक्त रुपमा सहयोग गरेका थिए । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने, न्यूनआयस्रोत भएका परिवारलाई खाद्य संकट भएपछि दुई युवाले सहयोग गरेका हुन ।
चिङ्गाड गा.पा.–५ अवलचिङका अतिविपन्न ५० घरपरिवारलाई प्रति परिवार ३० केजि चामल, तेल एक प्याकेट, नून एक प्याकेट र एक केजी दाल गरी एक लाख बराबरको खाद्य सामाग्री वितरण गरिएको थियो । वडाका जनप्रतिनीधि र सहयोगी दुई युवाको उपस्थितिमा खाद्यान्न वितरण गरिएको भन्दै गाउँपालिकाले धन्यवाद दिएको चिङ्गाडबाट भावना राना क्षेत्रीले जानकारी दिईन ।
