किन कुटिदैछन् कर्णालीका जनप्रतिनिधि ?

सुर्खेत, २० बैशाख ।
यही बैशाख ९ गते जाजरकोटको जुनीचाँदे गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपालीे कार्यकक्षमै कुटिए । स्थानीय जयबहादुर नाथ, उनका भाइहरु मेहन्द्र नाथ, सुरेन्द्र नाथ, धनबहादुर नाथ, बिर्खबहादुर नाथ, रेशमबहादुर नाथ र नरु नाथले वडाध्यक्षमाथि मरणासन्न हुनेगरी कुटे । कुटपिटपछि पक्राउ परेका उनीहरुले आफ्नो गाउँमा पानीको योजना नदिएकाले वडाध्यक्षमाथि कुटपिट गरेको बयान दिएका छन् ।

त्यस्तै बैशाख १३ गते जाजरकोटकै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आफ्नै कार्यकर्ताबाट आक्रमण भयो । साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि मलामी गएका मेयर घर्तीलाई सत्तारूढ नेकपाको युवा संघ जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण ग¥यो । नेकपाको कर्णाली प्रदेश समितिका सदस्यसमेत रहेका मयेर घर्तीले विकासका योजना नदिएको झोकमा शाहीको समूहले आक्रमण गरेको हो । आक्रमणपछि मेयर घर्ती घाइते भए ।

बैशाख १७ गते एकैदिन हुम्लाको सर्केगार्ड गाउँपालिका–५ का वडाध्यक्ष कर्णजंग शाही र कालिकोटको पचालझरना गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष रत्नलाल न्यौपाने कुटिए । शाही कार्यपालिकाको बैठकमै प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीबाट र न्यौपानेमाथि स्थानीय उमेश न्यौपाने नेतृत्वमा रहेको समूहबाट कुटिए । वडाध्यक्ष शाही र कार्यकारीबीच गतवर्ष वडाको भवन निर्माणको विषयलाई लिएर पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।

वडा अध्यक्ष शाहीले गाउँपालिकाका कर्मचारीहरु हिटलरको जस्तो शासन गर्न थाले भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । यता कालिकोटमा भएको घटनापछि २० वर्षीय पारस न्यौपाने, २१ वर्षीय उमेश न्यौपाने, २२ वर्षिय तिलक न्यौपाने, २० वर्षिय जनक न्यौपाने र १९ वर्षिय कमल न्यौपाने पक्राउ परेका छन् । घाइते वडाध्यक्षको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

पक्राउ परेका उनीहरुले वडाध्यक्षले उपभोक्ता समितिमा आफ्ना मान्छेमात्रै राखेर भ्रष्टाचार गर्न खोजेको भन्दै कुटपिट गरेको प्रहरीसँग बयान दिएका छन् । नेकपाबाट निर्वाचित वडाध्यक्ष र आक्रमण गर्नेसमूह नेपाली काँग्रेसमा आवद्ध हुन् । पछिल्लो समय कर्णालीमा जनप्रतिनिधिमाथि आक्रमण बढेको माथि उल्लेखित घटनाले देखाएका छन् ।

किन हुन्छ त आक्रमण ?
पछिल्लो समय जनप्रतिनिधिमाथि आक्रमण बढेको छ । कतिपय अवस्थामा जनप्रतिनिधिले कर्मचारीमाथि पनि आक्रमण गरेका उदारण धेरै छन् । आखिर बारम्बार यस्ता घटना हुनुको पछाडि के कारण छन् त ? जनप्रतिनिधिमाथि सर्वसाधारणले गर्ने आक्रमणभन्दा पनि जनप्रतिनिधि र कर्मचारीबिचको विवाद बढी हुने गरेका छन् ।

हालै भएका यस्ता घटनाले मुख्यगरी विकास निर्माण र योजना बाँडफाँडमा हुने विवादले आक्रमण हुने गरेको पाइएको छ । जाजरकोटको भेरी नगरपालिका नगरप्रमुख आफ्नै कार्यकर्ताबाट कुटिए । यसको मुख्य कारण योजना बाँडफाँड नै थियो । यस्तै जाजरकोटकै जुनीचाँदे गाउँपालिकाको वडा नंम्बर २ का वडाध्यक्ष र कालिकोटको पचालझरना गाउँपालिकाका वडाध्यक्ष विकासे आयोजनामा भएको विवादकै कारण कुटिएको पाइएको छ । विकास आयोजनामा हुने विभेद र फरक राजनीतिक आस्थाका आधारमा प्रतिशोध साँध्न पनि जनप्रतिनिधिमाथि आक्रमण हुने गरेको हो ।

हुम्लाको सर्केगार्ड गाउँपालिका–५ का वडाध्यक्ष र जुम्लाका हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकाया पनि फरक राजनीतिक आस्था र विकासे आयोजनाको बाँडफाँडमा फरक राजनीतिक आस्थाकै कारण जनप्रतिनिधि र कर्मचारीबीच कुरा नमिल्दा विवादित बनेका हुन् । जनप्रतिनिधि र कर्मचारीले आफ्नौ जिम्मेवारी अनुसार काम नगर्दा आक्रमणका घटना दोहोरिने गरेका छन् ।

कानुनी शासनको अभाव
देशमा कानुनी शासनको अभाव हुँदा आफूहरुमाथि आक्रमण हुन थालेको जनप्रतिनिधिहरु बताउँछन् । कानुनी शासनको अभाव, कर्मचारी र जनप्रतिनिधिबिच तालमेल र समन्वय नहुनु र राजनीतिक प्रतिशोधका कारण पनि जनप्रतिनिधिमाथि आक्रमणका घटना बढेको गाउँपालिका महासंघ कर्णाली प्रदेशका संस्थापक अध्यक्ष कविन्द्रकुमार केसी बताउँछन् ।

अपराधिक मानसिकता, पुरानो रिसराग र युवापुस्तामा मानवीयताको कमीका कारण यस्ता घटना बढेको उनको उनको भनाइ छ । यद्यपी अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने उनी बताउँछन् । यस्तै लामो समयसम्म कर्मचारीले जनप्रतिनिधिको काम गरेको हुँदा निर्वाचित जनप्रतिनिधि र कर्मचारी बीचको तालमेल नहुँदा पनि जनप्रतिनिधि र कर्मचारीबीच खटपट हुन थालेको उनको भनाइ छ । विधि र नियमलाई सबैले मानेमा यस्ता घटनाहरु आफै कम हुने उनले बताए ।

कर्मचारीबाटै दुव्र्यवहार
जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायामाथि बैशाख १२ गते कार्यपालिकाको बैठकमै कर्मचारीबाटै दुव्र्यवहार भयो । कर्मचारीबाटै अभद्र व्यवहार भएपछि यपाध्यक्षले कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै रोकायाले उजुरी दिएकी हुन् । अधिकृत बुढाले आफूलाई हैसियत नभएकी, अनपढ, नक्कली उपाध्यक्ष लगायतका अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको उपाध्यक्ष रोकायाको जाहेरीमा लेखेकी छिन् ।

‘वैठक चलिरहेको थियो, वैठकमा राहत वितरण, सामाजिक सुरक्षा भत्ता र लकडाउनका कारण भएको समस्यासँग सम्बन्धित विषयमा छलफल केन्द्रित थियो’ उपाध्यक्ष रोकायाले भनिन्, ‘यही विषयमा मैले बोल्दै गर्दा एक्कासी प्रशासकीय अधिकृतले मप्रति लक्षित गर्दै अनपढ, नक्कली उपाध्यक्ष, हैसियत नभएको जस्ता शब्द प्रयोग गर्नुभयो ।’ प्रशासकीय अधिकृतसँगै नेकपा जुम्लाका जिल्ला सदस्य अम्मरबहादुर शाहीले पनि आफूमाथि दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ ।

शाही कार्यपालिका वैठकमा बस्न नपाउने भए पनि वैठक चलिरहेकै बेला भित्र आएर आफूमाथि दुव्र्यवहार गरेको उनले बताइन् । प्रशासकीय अकिृत बुढा र शाहीले आफूमाथि अश्लिल शब्दसमेत प्रयोग गरेको उनले बताइन् । प्रशासनले कानुनबमोजिम कारबाही गर्न नसकेको खण्डमा आफू अदालत जाने उपाधयक्ष रोकायाको भनाइ छ ।

याे पनि पढ्नुहाेस :

जुनिचाँदे, पचालझरना र सर्केगाडका वडाध्यक्ष किन कुटिए ?

किन कुटिए वडा अध्यक्ष

किन भयो मेयर घर्तीमाथी हातपात

तपाईको प्रतिक्रिया