नेपाली राजनीतिमा चिनीया सक्रिया बढ्यो ?

काठमाडौं, १९ बैशाख ।
जब जब नेपालमा सत्ता ढाल्ने र बनाउने खेल हुन्थ्यो तब भारतीय राजदूत र उच्च अधिकारीहरुको सक्रियता बढ्ने गर्दथ्यो । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा भारतीय भूमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएकै हो । २०४६ सालको जनआन्दोलनताका भारतका नेता चन्द्रशेखर लगायत गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पुगेको इतिहास साक्षी छ ।

२०६२/६३ को जनआन्दोलनताका भारतीय नेताहरु डा. करण सिंह र सीताराम यचुरीलगायतको छुट्टाछुट्टै ओहोरदोहोर भएकै हो । १२ बुँदे समझदारी दिल्लीमा भयो । जसले नेपालमा गणतन्त्र र माओवादीको सुरक्षित अवतरणको मार्ग तयार ग¥यो । यसरी भारतको नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका रहँदै आयो ।

घटनाक्रम यसरी विकास भयो कि दिल्लीमा समेत प्रश्न उठ्यो नेपालको राजनीतिमा भारतको ठाउँ चीनले लिदैछ ? कतिपयले लिइसकेको भने । भारतीय नेता देखि सेनापतिले सम्म नेपालका लागि भारतको विकल्प अरु देश हुननसक्ने अभिव्यक्ति दिए । नेपालमा चीनको प्रभाव बढिरहेको टिकाटिप्पणी भइरह्यो ।

नेकपा एमाले र माओवादी मिलेर नेकपा बनेपछि चिनियाँ कम्युनिस्ट पार्टीसँगको संयुक्त प्रशिक्षणले भने अन्तर्राष्ट्रिय जगतसम्म तरंग ल्यायो । दुवै देशको सत्तारुढ दलहरुको संयुक्त प्रशिक्षण अर्थपूर्ण रह्यो । नेकपाभित्र प्रशिक्षणमा सहभागी हुन नेताहरुको प्रतिष्पर्धा नै चल्यो ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण हुँदै गत असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भयो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण हुनुलाई निकै महत्वका साथ हेरियो । चीनको नेपालमा प्रभाव निकै बढिसकेको सन्देश पनि थियो त्यो । अहिले नेपाल कम्युनिस्ष्ट पार्टी्भित्र आन्तरिक विवाद चुलिंदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छिन् । लकडाउनको समयमा उनी नेताहरुको घर घरमा पुगेर भेट गरिरहेकी छिन् । यस्तो सक्रियता विगतमा भारतीय राजदूतहरुले गर्थे ।

(180620) — BEIJING, June 20, 2018 (Xinhua) — Chinese President Xi Jinping meets with Nepal’s Prime Minister K.P. Sharma Oli at the Great Hall of the People in Beijing, capital of China, June 20, 2018. (Xinhua/Rao Aimin)(wsw)

नेकपा अध्यक्षसँग निवासमै भेट्दै चिनियाँ राजदूत यान्छी
१८ वैशाखको साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर राजदूत यान्छीले भेटिन् । दुई घन्टाको भेट नेकपाको आन्तरिक विवादका अलावा कोरोना भाइरसको रोकथामका लागि भएका कामहरुको विषयमा केन्द्रित थिए । तर, मुख्य विषय नेकपामको आन्तरिक शक्तिसंघर्ष नै रहेको स्रोतले बताएको छ । यसलाई पुष्टि गर्नेगरी यान्छीले शनिबार विहानैबाट राजनीतिक भेटघाटलाई तिव्र पारेकी छिन् ।

यान्छीले शनिबार विहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारस्थित निवासमै भेटेकी छिन् । लामो समयसम्मको भेटमा नेकपाभित्रको आन्तरिक विवादबारे चासो राखेकी थिइन् । लगत्तै कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा पुगिन् । त्यहाँ पनि नेकपा विवादकै विषय मुख्य थियो । माधव नेपालले यसै हप्ता चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग तीन घन्टा लामो भिडियो कन्फरेन्समा कुराकानी गरिसकेका छन् ।
यान्छीको नेकपा नेताहरुको घर घरमा पुगेर भएको भेट अर्थपूर्ण छ ।

नेकपाभित्र विवादको बेलामा उनले भेटवार्ता गरेकी छिन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन कुराकानी गरेकी थिइन् । ओलीको सत्तामा कम्पन आइरहँदा भएको कुराकानी निकै अर्थपूर्ण थियो । त्यसमाथि राष्ट्रपति भण्डारीसँगको भेटबारे परराष्ट्र मन्त्रालयले उल्लेख गरेको प्रेस विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था बारे चासो राखेको उल्लेख छ । यो आफैमा एउटा सन्देश थियो ।

यसरी चीनको नेपाली राजनीतिमा बढ्दो सहभागिता र सत्तारुढ दल नेकपाले चीनको भूमिका बढाइरहेको राजदूत यान्छीको सक्रियता र नेताहरुको चिनियाँ पक्षसँगको पछिल्ला कुराकानीबाट बुझ्न सकिन्छ । यसलाई नेकपा विवाद मिलाउन चीनले भूमिका खेलिरहेको रुपमा पनि विश्लेषण गर्न थालिएको छ । नेपालमा सत्ताको खेलमा चीन एउटा बलियो शक्तिका रुपमा देखापरिसकेको बुझिन्छ । यसलाई भारतको स्थान चीनले लिइसकेको हो कि भन्ने अर्थ लगाउन थालिएको छ ।

तपाईको प्रतिक्रिया