नेपालगञ्जमा दुईजना कोरोना संक्रमित भेटिए

बाँके, १९ बैशाख ।
नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि भएको हो । उनीहरु मध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो ।

उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ । अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन् । तर उनलाई नेपालगञ्जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन् । बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ । भने जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो । प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमतीमा ८ हजार ३ सय ६१, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९, कर्णालीमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी कूल ८० जना शंकास्पद बिरामी आइसोलेसनमा छन् ।

काठमाडौंमा पाटन अस्पतालमा मात्र ३ जना शंकास्पद आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मुलुकभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ५ सय ७६, प्रदेश २ मा १ हजार ४ सय, बागमतीमा ५ सय ५१, गण्डकीमा ५ सय ९३, प्रदेश ५ मा १२ हजार ७ सय ५२, कर्णालीमा ३ हजार ९ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना क्वारेन्टाइनमा छन् ।

तपाईको प्रतिक्रिया