भेरी–बबईमा काम सुचारु, ४० प्रतिशत सकियो (भिडियो सहित)

सुर्खेत, १९ बैशाख ।
गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा दोस्रो चरणको काम सुरु भएको छ । लकडाउनका कारण सुरुमा काम प्रभावित भए पनि हाल निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ । हाल भेरी नदीको चिप्लेमा निर्माणाधिन व्यारेजको काम भइरहेको हो ।

आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गौरवका आयोजनाको काम सुरु गर्ने निर्णय गरेअनुसार काम अघि बढाएका छौं, चिप्लेमा हाल भेरी नदीको पानी डाइभर्ट गरेर कफर ड्याम निर्माणको काम भइरहेको छ ।’ वर्षातको मौसम सुरु हुन अगावै सक्नुपर्ने काम भएकाले उच्च प्राथमिकतामा राखेर काम भइरहेको आयोजनाको भनाइ छ ।

स्थानीय प्रशासनले जिल्लाभित्र उपलव्ध हुने स्रोत साधनको प्रयोग गरेर काम गर्न अनुमति दिएको छ । सुरुङ बाहिरको स्लोप निर्माणको काम पनि भइरहेको उपाध्यायको भनाइ छ । दोस्रो चरण अन्तरगत बाँध तथा पावर हाउस निमार्णका लागि ६ अर्ब १६ करोडमा ठेक्का सम्झौता गरिएको छ । चिप्लेस्थ्ति भेरीबाट बबई नदीसम्म १२ किलोमिटर लामो सुरुङमार्फत भेरीको पानी बबईमा खसाल्ने योजना छ । यसबाट ४६ मेगावाटको जलविद्युत निकाल्ने र उक्त पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

सामाजिक दुरी कायम राख्दै ८० जना मजदुरले काम गरिरहेको आयोजनाले जनाएको छ । मजदुरलाई आयोजना स्थलमै खानेबस्ने सुविधा मिलाइएको छ । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितका अनुसार ८० जना मजदुरले काम गरिरहेको छन् । ‘लकडाउन अघि नै हामीले महिनादिन पुग्ने सामग्री राखेका थियौँ, महिनादिनसम्म त्यहीले काम चलायौं’ उनले भने, ‘नजिक घरहुने केही मजदुरहरु गाउँ गए पनि ७०/८० जना जनाले दैनिक काम गरिरहनु भएको छ ।’ लकडाउन लम्बिए पनि आवश्यक सामग्री अभाव नहुने उनले जनाए ।

४० प्रतिशत काम सकियो
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको झण्डै ४० प्रतिशत काम सकिएको छ । ‘समग्रमा ४० प्रतिशत काम सकिएको छ’ पण्डितले भने, ‘पहिलो र दोस्रो चरणको काम उत्साहजनक रुपमा हुँदा तोकिएकै समयमा आयोजना सम्पन्न हुने आशा गरेका छौँ ।’ आयोजाको पहिलो चरण अन्तरगत गत वर्ष नै सुरुङमार्ग ‘ब्रेकथ्रु’ भएको थियो । अघिल्लो वर्ष बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेकथ्रु गरेका थिए ।

पहिलो चरणको सुरुङ्ग निर्माण गर्ने काम निर्धारित समयभन्दा एक वर्षअघि नै सकेर चर्चा कमाएको थियो । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसन (टिबिएम) मार्फत १२ किलोमिटर सुरुङ छिचोलिएको आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण र विद्युत् गृह निर्माणका लागि गत मंसिर १६ गते शिलान्यास गरेर काम सुरु भएको छ । आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध र पावर हाउस (विद्युत् गृह) निर्माणको काम रमण–ग्वाङ्डोन जेभीले लिएको छ ।

निर्माण कम्पनीले सम्झौता भएलगत्तै दोस्रो चरणको काम अन्तर्गत क्याम्प निर्माण, क्रसर प्लान्ट, ब्याचिङ प्लान्टको काम र सुरुङ फिनिसिङ अन्तिम चरणमा पुगेको इन्जिनियर पण्डितले बताए । दोस्रो चरणको क्याम्प निर्माण, क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट र सुरुङ फिनिसिङको काम अन्तिम चरणमा छ । आयोजना अन्तर्गत भेरी नदीको चिप्लेमा एकसय १४ मिटर लामो, ६ ब्यारेजसहितको १५ मिटर अग्लो बाँध निर्माण हुनेछ । ३३ अबै १९ करोडमा २०८० सालभित्र निर्माण सम्पन्न हुनेगरी आयोजनाको काम भइरहेको छ ।

निर्माणको काम थाल्दै स्थानीय तह
लकडाउनमा लम्बिदै गएपछि सुर्खेतका केही स्थानीय तहले विकास निर्माणलाई अघि बढाउने तयारी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकाले सामाजिक दुरी कायम गरेर विकास निर्माण सुरु गर्ने जनाएका छन् ।

सिम्ताले ऋषिस्मृति चक्रपथ अन्तरगतको डेढ करोडको काफलकोट–घोरेटा सडक, इन्द्रविसी चक्रपथ (आली–दुनी–दह) सडक, प्रदेश सरकार अन्तरगतको ५० लाखको (छिङ्नी–घोडेरी सडक) सवा चार करोडको गाउँपालिकाको भवन निर्माण, ५० लाखको खानेपानी आयोजना लगायत काम सुरु भएका र मध्य चरणमा पुगेका ठूला आयोजनाहरु सञ्चालनको काम सुरु गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए । त्यस्तै भेरीगंगा नगरपालिकाले पनि खानेपानीका सडक र खानेपानीका आयोजनाहरु सञ्चालन गर्ने जनाएको छ ।

बजेट फ्रिज जाने सम्भावना रहेका ६ वटा विद्यालय, भेरी नदीको पानी पिउँदै आएका नागरिकलाई खानेपानी सुविधा पुरयाउन दुई वटा डिपबोरिङ्ग आयोजना, डेढ करोडको हरि हर–मनिरामकाँडा सडक आयोजना, ११ लाखभन्दा माथिका विभिन्न सडकका सडक कालोपत्रे र ग्राबेल गर्ने योजनाहरु सञ्चालन गर्ने तयारी गरेको नगरप्रमुख भुपेन्द्रबहादुर चन्द्रले जनाए । यस्तै प्रदेश राजधानी रहेको वीरेन्द्रनगरले यसअघि नै सञ्चालनमा रहेका ३० लाख माथिका करिव २० वटा योजनाहरु सञ्चालन गर्ने तयारी गरेको छ ।

https://www.youtube.com/watch?v=NoB_P5ChIwQ

तपाईको प्रतिक्रिया