सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

सुर्खेत, १८ वैशाख ।
मुगु सोरु गाउँपालिका–६ एक महिलाको सुत्केरी भएपश्चात अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरेर थप उपचारका लागि सुर्खेत ल्याइएको छ । सामान्य अवस्थामा सुत्केरी भएका सोरु गाउँपालिका–६ की १८ वर्षीया वैदेवी शाहीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

बैशाख १२ गते नार्थुप स्वास्थ्य चौकीमा सामान्य अवस्थामा सुत्केरी भएकी शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश सरकारको सहयोगमा प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यलय मुगुका स्वास्थ्य सेवा व्यस्थापक डा. निर्मल नगरकोटीले जानकारी दिए ।

रक्तश्राव भएपछि उपचारका लागि पुगेको नाथर्पु स्वास्थ्य चौकीमा पनि मेसिन औजारहरू नभएको र २ दिन हिँडेर जानु पर्ने स्वास्थ्य सेवा कार्यालय मुगुमा पनि आइसियूको व्यवस्था नभएकोले हेलिकोप्टरमार्फत सुत्केरीसम्बन्धी सम्पूर्ण सेवाहरू भएको अस्पतालमा बुधबार बिहान साढे ८ बजे सुर्खेत लगिएको सोरु गाउँपालिकाका पशु शाखा प्रमुख बिनोद शाहीले बताए । अहिले उनको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया