विरामी हुनुहुन्छ ? फोनबाटै डाक्टरको परामर्श लिनुहोस !

सुर्खेत, १८ वैशाख ।
तपाइँ या तपाइँको परिवारमा कोही विरामी हुनुहुन्छ ? कि त लकडाउनका कारण अस्पतालसम्म पुग्न सक्नु भएको छैन ? यदी विरामी वा नियमित औषधि सेवन गर्नुहुन्छ र लकडाउनले गर्दा डाक्टर लाई भेट्न पाउनु भएको छैन भने अब चिन्ता लिनु पर्दैन । किनकी प्रदेश अस्पताल सुर्खेतले विरामीको उपचारमा समस्या नहोस् भन्नका लागि फोनबाटै ठाक्टरसँगसँग परामर्श दिने व्यवस्था गरेको छ ।

घरमै बसेर चिकित्सकहरुसँग स्वास्थ्य परामर्श लिन सकिने भएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले फोनबाटै स्वास्थ्य परामर्श दिने भएका हुन् । ‘कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भएको अवस्थामा अस्पताल आउन सहज नभएका विरामीलाई फोनबाटै परामर्श दिन लागिएको छ ।

‘चेकजाँच गर्न अस्पताल आउने सहज वातावरण नभएपछि फोनबाटै भए पनि परामर्श दिन व्यवस्था गरेका छौ’ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठले भने ‘विरामीलाई सजिलो होस् भन्नका लागि फोनबाटै परामर्श दिने गरेका छौँ ।’ सामान्य खालका विरामीले फोनबाटै परामर्श लिएर औषधि किनेर खान सक्ने उनले बताए । ‘अहिले कोरोना त्रास र लकडाउनका कारण अस्पताल आउने सहज वातावरण छैन । विरामीलाई सजिलो होस् भन्ने उद्देश्यले यस्तो काम सुरु गरेका हौं ।’ उनका अनुसार जहाँबाट जुनसुकै समयमा फोन गरेर स्वास्थ्य परामर्श लिन सकिनेछ । उनीसँगै डा. सोजन सापकोटा, डा. सुशील समदर्शी, डा. प्रतिप पौडेल, डा. सन्जिब भण्डारी र डा. प्रभात सिंह राजपुतले फोनबाटै स्वास्थ्य परामर्श सेवा दिनेछन् ।

अस्पतालले विरामीहरुको सहजताका लागि सर्जन विशेषज्ञ डा. सोजन सापकोटालाई ९८४१६५७४५२, डा. सुशील समदर्शीलाई ९८४१२८२६७४, हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठलाई ९८०२९७७५७६, बाल रोग विशेषज्ञ डा. प्रतिप पौडेललाई ९८०७३२०६७९, फिजिसियन डा. सन्जिव भण्डारीलाई ९८४०००१५०० र छाला तथा यौन रोग विशेषज्ञ प्रभातसिंह राजपुतलाई ९८६०१८४१४६ सम्पर्क गरेर परामर्श लिन सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया