बामदेव प्रधानमन्त्री, नेपाल तेस्रो अध्यक्षको प्रस्ताव

काठमाडौं, १८ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ तीन घण्टा चलेको सचिवालय बैठकमा नयाँ प्रस्ताव पेश गरेका छन् । अर्का अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरुले राजिनामा माग गरेपछि नयाँ प्रस्ताव पेश गरेका हुन । बुधबार साँझ तीन घन्टा चलेको सचिवालय बैठकमा नेताहरुबीच गर्मागर्मी बहस हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि ओलीले नयाँ अस्त्र फँयाकेका हुन् । ओलीले स्पष्ट रुपमा आफूले अहिले राजीनामा नदिने बताएको स्रोतले जानकारी दियो । उनको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘म अहिले राजीनामा दिन्नँ । दिनै परे नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाउने पक्षमा छु ।’ उनले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विकल्प बारे प्रस्ताव समेत सारेका थिए ।

बामदेवलाई राष्ट्रिय सभा सदस्यमा लाने र संविधान संशोधन गरी प्रधानमन्त्री बन्न सक्ने ढोका खोलिदिने ओलीको प्रस्ताव थियो । उनले तीन अध्यक्ष बनाउन पार्टीको विधान संशोधनको प्रस्ताव समेत गरे । माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव थियो । बैठकमा अन्य नेताहरु आक्रामक र ओली रक्षात्मक बन्ने आशा विपरित उनी उल्टै आक्रामक रुपमा प्रस्तुत भएका थिए । ओलीले राजीनामा मागिएपछि उल्टै नयाँ प्रस्ताव ल्याएर आश्चर्यमा पारिदिएका थिए ।

ओलीको प्रस्तावप्रति बामदेव गौतम भने मौन बसेको विश्वस्त स्रोतले जानकारी दिएको छ । माधव नेपाललाई तेस्रो अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावप्रति सचिवालय सदस्य रामबहादुर थापा बादलले भने आपत्ती जनाएका थिए । उनले प्रधानमन्त्रीको राजीनामा र बामदेवलाई प्रधानमन्त्रीका अलावा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने सबै प्रस्ताव मान्य नहुने खुलेरै बोले । उनले मिलेर जान आग्रह गरे ।

वरिष्ठ नेता झलनाथ खनालले पनि ओलीको आलोचना गर्दै पार्टी हित र निर्णय विपरित चलेको आरोप लगाएर विकल्प दिन भनेका थिए । अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टीको साख गिराउने गतिविधि भएको भन्दै कडा आलोचना गरेका थिए । बैठकमा विभिन्न प्रस्ताव आएपनि कुनै निष्कर्ष ननिस्किएकाले २० वैशाखका लागि अर्को बैठक तय भएको छ । तर, यसअघि नै संसदीय दलमा जोडघटाऊ शुरु हुनसक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया