नेकपा बैठकमा दुबै पक्षको आ–आफ्नो अडान

काठमाडौं, १७ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो ।

बैठकमा प्रचण्ड र माधव नेपाल लगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए ।

दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको सचिवालयको बैठकमा पार्टी्भित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको जानकारी दिए ।

बुधबार साँझको बैठकमा ठोस सहमति नजुटेपछि थप गृहकार्यको गरेर फेरि वैशाख २० मा सचिवालय बैठक बस्नेगरी छलफल टुंगिएको जानकारी दिए । २० गतेको बैठकले सबै विषयमा मेलखाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक प्रक्रियालाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय दिने उनले विश्वास व्यक्त गरे । नेकपामा प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि विवाद चर्किएको छ । विवाद बढ्दै जाँदा नेताहरुबीच ओलीलाई हटाउन हस्ताक्षर अभियान समेत चल्न थालेको छ भने ओली पनि संसदीय दलमा आफ्नो बहुमत देखाउन छुट्टै हस्ताक्षर अभियानमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया