भेरीगंगाको राहतमा विवाद, वडामा तालाबन्दी

सुर्खेत, १७ बैशाख ।
कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउन घोषणाबाट दैनिक ज्याला मजदुरी गर्ने, अपांगता भएका, न्यून आयस्रोत भएका परिवारलाई समस्या भएपछि विभिन्न स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् । भेरीगंगा नगरपालिकाले समेत विपद् तथा राहत कोष स्थापना गरेर न्यून आयस्रोत भएका परिवारहरुलाई राहत वितरण गरिरहेको छ ।

भेरीगंगा नगरपालिकाका केही वडाहरुमा भने राहत वितरणमा विवाद उत्पन्न भएको छ । वडामा रहेका जनप्रतिनीधिहरुले राहत वितरणमा विभेद गरेको भन्दै विवाद भएको छ । भेरीगंगा वडा नं. १२ मा विवाद भएर टुङ्ग्याइएको छ । त्यसैगरी भेरीगंगा वडा नं. ३ डुंगीखोलामा राहत वितरण पक्षवातपूर्ण भएको भन्दै स्थानीयले बुधबार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडा समितिले मनपरी राहत वितरण गरेको, सामाजिक सुरक्षा भत्ता पाउने केहीलाई पक्षवात गरी राहत नदिएको, सबै टोल विकास संस्थाहरुसंग समन्वय नगरेको भन्दै आक्रोशित स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन । वडामा २५० घरपरिवारलाई राहत वितरण गर्ने गरी नगरपालिकाबाट राहत सामाग्री प्राप्त भएको जनाइएको छ । ३ जनाभन्दा कम परिवार भएमा १५ केजी चामल, १/१ केजी नुन, तेल, दाल वितरण गरिएको छ । ४ जनाभन्दा बढी परिवार संख्या भएमा प्रति परिवार ३० केजी चामल, २/२ केजी दाल, नून, तेल वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउने, सरकारी जागिरे भएकोलाई राहत नदिने तर अपांगता भएकालाई सामाजिक सुरक्षा पाउँदा पनि राहत वितरण गर्ने निति रहेको जनाइएकोछ ।

भेरीगंगा वडा नं. ३ का वडा अध्यक्ष जीत बहादुर सुनारले तालाबन्दी किन, कसरी, के का लागि गरियो कुनै जानकारी नभएको बताए । ‘राहत वितरणमा कुनै असहमति भए प्रेस विज्ञप्ति, माग, निवेदन आउनुपर्ने हो तर केही आएको छैन ।’ केही गुनासाहरु भए वडा पालिकाबाट छलफल गरी समाधान गरिने वडा अध्यक्ष सुनारको भनाई छ । सामाजिक सुरक्षा भत्ता पाउने तर दुवै २०७६ चैत्रमा बितेको हुँदा विजय सोमै मगर र मन बहादुर खत्री दुई जनाको परिवारको विशेष अवस्था भएकाले उनीहरुलाई मात्रै राहत दिइएको वडा अध्यक्षको भनाई छ । वडाले पाएको २५० जनाको कोटा मध्ये धेरै वितरण गरिएको २५–३० घरपरिवारमा वितरण गर्न बाँकी रहेको वडा अध्यक्ष सुनारको भनाई छ । चार हजार नौ सय ४० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया