सम्पादकीय : लकडाउनमा कडाइ

कोरोना त्रास कम भइसकेको छैन । चिनबाट सुरु भएको संक्रमण हाल विश्वभर फैलिएको छ । नेपालमा पनि यसको असर परिरहेको छ । कोरोना संक्रमण देखिएपछि गत चैत ११ गतेबाट देशमा लकडाउन छ । लकडाउनका कारण जनजीवन अस्तव्यस्त छ । तर पनि लकडाउनका कारण नै नेपालमा कोरोनाको संक्रमण कमजोर बनेको विश्व स्वास्थ्य संगठनले नै बताएको छ । लकडाउनकै कारण कोरोना रोकथाम अभियान प्रभावकारी बनेको हो । छिमेकी भारतमा समेत कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब एक हजार नजिक पुग्न लागेको छ । हजारौं व्यक्ति संक्रमित छन् । तर नेपालमा आजको दिनसम्म एक जनाको पनि मृत्यु भएको छैन । अझ संक्रमितको संख्या एकसय पुगेको छैन । त्यसमा पनि निको हुनेको संख्या पनि बढ्दो छ । यसले पनि नेपालमा त्रास भए पनि आत्तिनुपर्ने अवस्था आइ सकेको छैन । यसको मुख्य कारण लकडाउन र यसको पालना नै हो ।

सामान्यतया लकडाउनको उदेश्य भनेकै मानिसहरु घरभित्रै सुरक्षित बस्नु हो । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले आग्रह गरिरहेको छ । तर पनि पछिल्ला दिनमा मजदुर र अलपत्र यात्रु उद्दार गर्ने नाममा रातारात मान्छे ओसार्ने काम भएको छ । अझ कर्णालीमा यो अवस्था डरलाग्दो छ । यसकारण की प्रदेश सरकार मन्त्री र सांसदहरु नै आफ्ना अलपत्र यात्रु ओसार्ने नाममा रातारात आफ्ना मान्छे ओसारिरहेका छन् । लकडाउन भनेको लकडाउन नै हो । जो नागरिक जहाँ जस्तो अवस्थामा छन्, उनीहरुलाई त्यही खाने र बस्ने व्यवस्थापन हुनु पर्दछ । तर प्रदेश सरकारका मन्त्रीहरु रातारात आफ्ना मतदाता रिझाउन गाडी रिजर्व गरेर ओसारिरहेका छन् । यसले एकारित गाउँमा कोरोना संक्रमणको त्रास फैलिएको छ भने अर्कोतर्फ स्वयम् ति व्यक्तिहरुको स्वास्थ्यमा पनि जोखिम छ । रातारात शक्ति र पहुँचको भरमा गाउँ लगिएका मान्छेहरु नियमानुसार क्वारेन्टाइनमा बसेका छैनन् । न त उनीहरुको सामान्य स्वास्थ्य परीक्षण नै भएको छ । मजदुर र अलपत्र परेका नागरिकको नाममा मन्त्री र सांसदहरुले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रका नागरिक मात्र ओसारेका छन् ।

लकडाउनलाई चुनौती दिदै मान्छेहरु धमाधम ओसार्ने काम भइरहँदा अधिकांश मानिसहरु भने बिच बाटोमै अलपत्र परेका छन् । राजनीतिक पहुँच र मन्त्रीमा आफ्ना मान्छे नभएकाहरुको बिचल्ली उस्तै छ । न उनीहरु गन्तव्यमा पुग्न पाएका छन्, न त उनीहरुले खान नै पाएका छन् । यसले राज्य अर्थात सरकारी संयन्त्रबाटै विभेद भएको देखिन्छ । आज अधिकांश क्वारेन्टाइन खाली छन् । तर मान्छेहरु धमाधम घर लैजाने काम हुनुले राम्रो सन्देश दिदैन । अर्कोतर्फ विभिन्न वहानामा लकडाउन खुकुलो बनाउने काममा हतार गरिएको छ । हालसम्म कर्णालीमा संक्रमण देखिएको छैन । यो खुशीको विषय अवश्य हो । तर यसलाई लापरबाही भने गरिनु हुँदैन । संक्रमणबाट बच्ने एकमात्र उपाय भनेकै लकडाउनको कडाइ हो । यसकारण प्रदेश सरकार र स्थानीय सरकारले लकडाउनलाई कडाइ गर्न आवश्यक छ । (२०७७ बैशाख १६ गते म‌गलबार प्रकाशित)

तपाईको प्रतिक्रिया