ओलीलाई अन्तिम मौका दिने सहमति

काठमाडौं, १६ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास असफल भएपछि विवादको अन्तका लागि सहमतिको नयाँ बिन्दु खोज्न दोस्रो तहका नेताहरुले प्रस्ताव तयार गरेका छन् । प्रस्ताव अनुसार ओली सरकारबाट हट्नुनपर्ने भएको छ । तर, उनले पार्टीको निर्णय अनुसार सरकार संचालन गर्नुपर्नेछ ।

विश्वस्त स्रोतका अनुसार ओलीलाई अन्तिम मौका दिने गरी प्रस्ताव तयार गरिएको हो । उनलाई अब आइन्दा पार्टीको निर्णय अनुसार सरकार संचालन गर्ने गरी मौका दिने तयारी भएको हो । स्रोतका अनुसार अब पार्टीले सरकार चलाउने गरी सहमतिको बिन्दु खोज्न तयार गरिएको प्रस्ताव अनुसार पार्टीको सचिवालयमा हेरफेर तथा पुर्नगठन, मन्त्रिमण्डल पुरै पुर्नगठन गर्ने, प्रदेश नम्बर १ र बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को नेकपा इञ्चार्ज परिवर्तन गर्ने उल्लेख छ । यो प्रस्तावमा सहमति हुनसक्ने बुझिएको छ ।
सबैभन्दा प्राथमिकतामा सचिवालय पुर्नगठन रहेको छ ।

सचिवालयमा केही नयाँ सदस्य थप्ने प्रयास विगतमा पनि हुँदै आएको थियो । हाल ९ जना सचिवालय सदस्य रहेको छ । यो नेकपाको संगठनमा सर्वोच्च निकाय हो । सचिवालयमा माधव नेपाल र प्रचण्ड पक्षधरले केही सदस्य नियुक्तिको दाबी गर्दै आएका छन् । सरकारमा दुई वर्ष बसिसकेका र विवादमा परेका मन्त्रीहरुलाई हटाउने विषय परेको छ ।

यसमा ओली पनि सकारात्मक भएको बुझिएको । उनले यसअघि नै फागुन महिनामा काम हेरेर मन्त्रिहरु हेरफेर गर्ने बताएका थिए । ओलीलाई अध्यक्ष या प्रधानमन्त्री एक पद छाड्न समेत आग्रह गरिएको थियो । तर, यो आग्रह उनले अस्वीकार गरिसकेको बुझिएको छ । विकल्पमा माधव नेपालको व्यवस्थापनको लागि मध्यमार्गी बाटो खोज्ने गरी छलफल बढाइने भएको छ । (रिपाेर्टर्स नेपाल अनलाइनबाट)

तपाईको प्रतिक्रिया